२०८१ बैशाख ११

रसुवाको पानी जसले मेटाउँदैछ चीनदेखि खाडीसम्मको तिर्खा

हामी ‘मिनरल वाटर’ भनेर बोतल र जारमा बन्द प्रशोधित पानी खान्छौं नि! यस्तो पानी सहरी क्षेत्रमा होओस् कि ग्रामीण बजारमा, सर्वत्र पाइन्छ।

नेपालकै प्रशोधित पानी विदेश पनि निर्यात हुन्छ। यस्तै एउटा व्यावसायिक कम्पनी हो ‘रुद्रगंगा नेचुरल वाटर प्रालि’।

यसको प्रशोधन कारखाना रसुवाको धुन्चेमा छ। कम्पनीले ‘रसुवा नेचुरल स्प्रिङ वाटर’ नाममा प्रशोधित पानी विदेश निर्यात गर्छ। कम्पनीले यसलाई संक्षेपमा ‘रसुवा ब्रान्ड’ भन्ने गरेको छ।

कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारीका अनुसार रसुवा ब्रान्डको पानी छिमेकी मुलुक चीनबाट अन्तर्राष्ट्रिय बजारमा प्रवेश गराइएको हो। कम्पनीले एक वर्षअघि, सन् २०२१ फेब्रुअरीमा पहिलो निर्यात गरेको थियो। चीनका वितरकले धेरै वटा प्रदर्शनी र मेलामा सहभागी गराए। सबै ठाउँबाट राम्रो प्रतिक्रिया आयो। 


Advertisement


एक वर्षमा ४० हजार लिटर पानी चीन पठायौं,’ अध्यक्ष भण्डारीले भने।

कम्पनीले ३३० मिलिलिटर (एमएल), ५०० एमएल र एक लिटर परिमाणका बोतलमा तथा १९ लिटरको जारमा पानी प्याकेजिङ गरिरहेको छ।

भण्डारीका अनुसार हालसम्म चीनमा ३३० एमएलको बोतल मात्रै पठाइएको छ। चीनबाट पाँच लिटरको प्याकेजिङको माग आएकाले त्यसको तयारी गरिरहेको उनले बताए। यो पानी चीनमा कफी र ग्रिनटीमा रुचाइएको उनको भनाइ छ।

दक्षिण चीनमा नेपाली पानीको व्यापार राम्रो भएको भनेर आफूले बधाइपत्र पाएको पनि भण्डारीले बताए। उनले भने, ‘नेपालको नाम राख्ने र चीनको माग पूरा गर्ने गरी उत्पादन बढाउन कन्सुलर हरिशरण पुडासैनीले पत्र पठाउँदा हाम्रो हौसला बढेको छ।’ 

बेइजिङबाट पनि राम्रो प्रतिक्रिया आएको छ। कम्पनीले चीनमा गरेको मार्केटिङका कारण पनि चीनको बजारमा आफ्नो ब्रान्ड रुचाइएको भण्डारी बताउँछन्। अब एक वर्षमै सय कन्टेनरभन्दा बढी पानी चीन निर्यात हुने उनको अपेक्षा छ। 

चीनपछि कम्पनीले रसुवा पानी कतारमा निर्यात गरेको छ। सुरूमै कतार निर्यात गर्ने लक्ष्य लिए पनि कोरोना संक्रमणका कारण समय पर सरेको हो। उनका अनुसार निर्यात गर्नुअघि पानीको प्रयोगशाला परीक्षण गर्नुपर्छ, सम्बन्धित मुलुकको सरकारको स्वीकृति चाहिन्छ। त्यहाँको भाषामा लेबलिङ लगायत काम गर्नु पर्छ।

‘पानीको गुणस्तर परीक्षणको नतिजा देखेर कतारीहरू चकित भए,’ भण्डारी भन्छन्, ‘आहा, पानी पनि यस्तो भनेर उनीहरू अचम्ममा परे।’

सन् २०२० मार्च २७ र २८ मा कतारको दोहामा ‘वर्ल्ड एग्रिकल्चरल एक्जिभिसन’ थियो। त्यहाँ नेपालका ६ वटा कम्पनीले निःशुल्क स्टल पाएका थिए। तीनमा रसुवा पानी पनि थियो। कोरोना संक्रमण फैलिएर अन्तर्राष्ट्रिय उडान बन्द भएपछि सहभागिता हुन सकेन। 

भर्खरै बजार प्रवेश गर्ने सुरसारमा रहेको कम्पनी ठूलो प्रदर्शनीमा सहभागी हुन नपाउँदा भण्डारीलाई निकै तनाव भयो। परिस्थिति सामान्य भएपछि कम्पनीले हवाइमार्गबाट १५ हजार लिटर पानी कतार पुर्‍याएको छ। 

अब कतारमा हुने फिफा विश्वकप फुटबलको अवसरमा पानी निर्यात गर्ने विशेष योजना छ।

भण्डारी भन्छन्, ‘विश्वकपमा पुग्यौं भने राम्रो मार्केटिङ हुन्छ भन्ने विश्वास छ। त्यहाँ स्थान पाउँछौं कि भन्ने अपेक्षा छ।’

कम्पनीले पानी अस्ट्रेलिया पनि पठाएको छ। त्यहाँ पहिलो खेपमा १८ हजार लिटर पठाएको र हङकङबाट पनि माग आएको भण्डारीले बताए। हङकङ पठाउने तयारी हुँदैछ। दुबईबाट ५० हजार लिटरको माग आएकोमा २२ हजार लिटर पुगिसक्यो। अन्य मुलुकमा पनि निर्यातको योजना बन्दै गरेको भण्डारीले बताए। 

अन्तर्राष्ट्रिय बजारमा ५०० एमएल पानीको बोतलको मूल्य नेपाली रूपैयाँ ४० र ३३० एमएलको ३० रूपैयाँ तोकिएको छ। यताबाट कम्पनीले लोड गरेर पठाउँछ। ढुवानी भाडा सम्बन्धित मुलुकका व्यवसायीले बेहोर्छन्।

भण्डारी भन्छन्, ‘हामी कारखाना मूल्यमा पठाउँछौं। जुन मुलुकमा गए पनि एउटै मूल्य हो।’

हवाई जहाजबाट पठाउँदा महँगो भाडाका कारण उपभोक्ता मूल्य बढी पर्ने उनले बताए। दोहामा ५०० एमएल पानीको उपभोक्ता मूल्य साढे तीन रियाल अर्थात नेपाली रूपैयाँ एक सयभन्दा बढी पर्छ। खाडी मुलुकमा समुद्री मार्गबाट पठाउन सकिन्छ तर दुई महिनासम्म लाग्न सक्छ। 

छिमेकी मुलुक भारत, ओमान र जापानमा पनि पानी निर्यात गर्ने योजना कम्पनीको छ। जापानका लागि अर्डर लिने, प्रयोगशाला परीक्षण गर्ने र प्याकेजिङ गर्ने प्रक्रिया अघि बढेको उनले जानकारी दिए।

कम्पनीका अध्यक्ष गणेशबहादुर भण्डारी

‘नेपालको पानी राम्रो प्याकेजिङ गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउन सक्यौं भने एकातिर आम्दानी हुन्छ, अर्कातिर नयाँ उद्योगीले मौका पाउँछन्,’ भण्डारी भन्छन्, ‘सरकारले निर्यातमा जोड दिएको छ। बढाउन सक्यौं भने व्यापार घाटा कम गर्न सकिन्छ।’ 

नेपालको प्रशोधित पानीको गुणस्तरमा विश्वास नहुँदा कतिपय उपभोक्ताले महँगो शुल्क तिरेर विदेशी ब्रान्डका पानी पिउने गरेको उनी बताउँछन्। विदेशी ब्रान्डको पानी लिटरको दुई सयदेखि पाँचसय रूपैयाँसम्म पर्छ। 

रसुवा ब्रान्ड बजारमा आएपछि विदेशी पानीको प्रयोग घट्न थालेको भण्डारीको भनाइ छ। रुद्रगंगा नेचुरल वाटरले यो ब्रान्ड २०७६ साउन १९ मा सार्वजनिक गरेको हो।

‘त्यो बेला सरकारले नेपालको पानी खाडी निर्यात गर्ने नारा ल्याएको थियो। सोहीअनुसार हामीले उत्पादन सुरू गरेका हौं,’ भण्डारीले भने, ‘विदेश पठाउनुअघि नेपालीले हाम्रो उत्पादन चिन्नुपर्छ भन्ने सोचेर नेपालमा सार्वजनिक गर्‍यौं।’

उत्पादन सार्वजनिक गरे पनि नेपाली बजारको अध्ययन पूरा भएपछि सोही वर्षको दसैंमा मात्रै कम्पनीले पानी बजार पठायो। उपभोक्ता मूल्य एक लिटरको ७० रूपैयाँ, ५०० एमएलको ४५ रूपैयाँ र ३३० एमएलको ३५ रूपैयाँ तोकेर सबभन्दा पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्यो। विमानस्थलमा हप्तामा पाँच हजार बोतलसम्म बिक्री भयो। यसपछि कम्पनी ठूला डिपार्टमेन्टल स्टोर, कर्पोरेट हाउस र कार्यालयहरूमा पुग्यो। 

भिजिट नेपाल वर्ष २०२० को तयारी हुँदै गर्दा कम्पनीको आग्रहमा सरकारले यसलाई ‘अफिसियल वाटर’ को मान्यता पनि दियो। रसुवा ब्रान्ड पर्यटकका लागि ‘वेलकम वाटर’ छानिएको थियो।

बोतलको पानीको बजार राम्रो भए पनि १९ लिटरको जारमा घाटा भएकाले घटाउँदै जाने कम्पनीको तयारी छ। उनका अनसार यो पोलिकार्बोनेट जार हो। नेपालमा बन्दैन, आयात गर्नुपर्छ। जारको मूल्य नै एक हजार पाँच सय रूपैयाँसम्म पर्छ। टुटफुट हुने समस्याले नोक्सान हुन्छ।

भण्डारी भन्छन्, ‘जारमा हामीले सेवामुखी काम मात्र गरिरहेका छौं।’ 

कतिपय नेपाली उपभोक्तालाई रसुवा पानी महँगो लागे पनि विदेशीको तुलनामा आधा सस्तो रहेको भण्डारीको भनाइ छ।

‘रसुवा ब्रान्डको प्याकेजिङ प्रिमियम भएका कारण केही महँगो पर्छ,’ उनले भने, ‘धुन्चेमा प्रशोधन र प्याकेजिङ गरेर ढुवानी गरेको पानी काठमाडौं वरपरको भन्दा केही महँगो पर्न जान्छ।’ 

हिउँदमा एक लिटर पानी धुन्चेबाट काठमाडौंसम्म ढुवानी गर्न चारदेखि पाँच रूपैयाँ र बर्खामा आठ रूपैयाँसम्म पर्छ।

धुन्चेको पानी अमृत बराबर रहेको उनको जिकिर छ।

‘यहाँको पानी काठमाडौंमा र अझ चीन, अस्ट्रेलिया र खाडीसम्म पिउन पाउनु चानचुने कुरा होइन,’ भण्डारी भन्छन्, ‘यो पानीमा हाम्रो धेरै मेहनत परेको छ। विदेशमा बस्ने नेपालीले नेपालको पानी पिउन पाउनु गौरवको कुरा हो।’ 

नेपालमा पानी प्रशोधन गरेर बेच्ने उद्योग धेरै छन्। बजारमा अनेक ब्रान्डको पानी पाइन्छ। आम उपभोक्ताले कुन चाहिँ राम्रो हो भनेर छुट्याउन सक्ने हुँदैन। भण्डारी उपभोक्ताले चिटिक्क बोतल मात्र नहेरेर, पानीको गुणस्तर र कुन भेगको पानी पिउने हो भनेर छान्नुपर्ने बताउँछन्।

धेरै उद्योगहरूले स्वचालित प्रविधिले पानी प्रशोधन र प्याकेजिङ गर्छन्। गुणस्तरमा प्रतिस्पर्धा बढेको छ। रसुवा ब्रान्ड हिमाली भेगको पानी हो। पानीको मूलभन्दा माथि गोसाइँकुण्ड छ। गोसाइकुण्डभन्दा माथि लाङटाङ हिमाल छ।

भण्डारीका अनुसार त्यो ठाउँमा बस्ती छैन। जैविक मल प्रयोग हुँदैन। हिउँ र आकाशको पानी प्राकृतिक फिल्टर हुँदै निस्किन्छ। उनीहरू  यसलाई लाङटाङ हिमाल र गोसाइँकुण्डको बरदान भन्छन्। हिमालबाट पग्लिएर झरेको पानीमा कम्पनीले कृत्रिम गुण थप्दैन। अरू स्रोतका पानी यसरी गुण थपेर पिउन योग्य बनाउन सकिन्छ तर यस्तो पानी प्राकृतिक नहुने उनी बताउँछन्।

‘रसुवा स्प्रिङ वाटर लेकको मीठो पानी हो,’ उनी भन्छन्, ‘सबै उमेरका व्यक्तिले पिउन मिल्छ। पिएच ६.५ देखि ७ सम्म छ। क्याल्सियम, म्याग्नेसिम र जिंक सबै प्राकृतिक छ।’

रुद्रगंगा नेचुरल वाटर नाम मूलको नामको आधारमा राखिएको हो। त्यहाँको मुख्य मूलको नाम ‘रुद्रधारा’ हो।

रुद्रगंगा नेचुरल वाटर प्रालिबाट कसरी कसरी सुरू भयो त रसुवा नेचुरल स्प्रिङ वाटर?

रसुवाका सानतेम्पा तामाङले २०६६ सालमा मूल दर्ता गराएका थिए। केहीपछि घरेलु उद्योग कार्यालयमा दर्ता गराएर ‘हिल टप’ नाममा स्थानीय बजार स्याफ्रुबेसी र धुन्चेमा पानी पुर्‍याए। बिस्तारै काठमाडौं पनि पुग्न थाल्यो।

अहिले रसुवा पानीका अध्यक्षक भण्डारी व्यापारमा थिए। उनी काभ्रेका हुन्। नयाँ उद्योग खोजी क्रममा उनको सानतेम्पासँग भेट भयो। लगानी बढाएर व्यापार विस्तार गर्न दुई जनाको कुरा मिल्यो। अनि सहकार्यमा अघि बढ्यो रुद्रगंगा नेचुरल वाटर प्रालि।

उनीहरूले कारखाना सुधार र विस्तार गरे। रसुवाको पानी बिक्री गर्ने भएकाले रसुवाकै नाम प्रख्यात होओस् भन्ने उद्देश्यले पानीको नाम रसुवा राखिएको उनी बताउँछन्। रसुवा पानीको बोतलमा संकटापन्न जनावर रेडपाण्डा, लाङटाङ हिमाल र गोसाइँकुण्डको चित्र अंकित गरेर ‘सेभ द रेड पाण्डा’ लेखिएको स्टिकर छ। 

यो उद्योग ५० हजार वर्गफिटमा फैलिएको छ। दस करोड रूपैयाँ लगानीबाट पुनर्संरचना गरिएको उद्योगको पुँजी अहिले दोब्बर भएको भण्डारीले बताए। कम्पनीमा ४५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। पूर्ण क्षमतामा चल्दा उद्योगले दैनिक ६० हजार लिटर पानी प्रशोधन र प्याकेजिङ गर्न सक्छ। कोरोना संक्रमणपछि पूर्ण क्षमतामा चलेको छैन। 

हाल कम्पनीले मासिक २५ देखि ३० लाख लिटर पानी आन्तरिक बजारमा बिक्री गर्छ। कम्पनीले हालसम्म कम्तीमा ७० हजार डलरको पानी निर्यात गरिसकेको छ। उद्योगको उत्पादन क्षमता विस्तार गर्ने र नयाँ प्रविधि भित्र्याउने योजना रहेको भण्डारीले बताए।

चीन, भारत, जापान र जर्मनीबाट नयाँ प्रविधिका मेसिन ल्याएर एक घण्टामा १८ हजार लिटर पानी प्याकेजिङ गर्ने मेसिन राख्ने उनको योजना छ।

Copy link
Powered by Social Snap