२०८१ बैशाख २२

पृथ्वीसुब्बालाई एमालेकै कार्यकर्ताले भने– अन्तर्घाती होसियार !

पोखरा । गुट र ‘अन्तर्घात’ले अहिले पोखरामा एमालेभित्र खैलाबैला छ । भिडियोदेखि अडियो काण्डसम्ममा कास्कीका केन्द्रीय नेता तथा संगठन विभाग प्रमुख खगराज अधिकारी र प्रचार विभाग प्रमुख तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधरले एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् ।

पोखराको प्रमुखमा दीपक पौडेलले टिकट पाउने भएपछि सार्वजनिक भएको औँठी चोरीको भिडियोदेखि कृष्णबहादुर थापाले टिकट पाएपछि सार्वजनिक भएको अडियो काण्डले पोखराको एमालेमा कसरी गुरुङ र अधिकारीको शक्तिसंघर्ष चलिरहेछ भन्ने प्रष्ट पार्छ ।

यी दुई नेताहरूकै मनमुटावका कारण पोखराको प्रमुखमा एमालेलाई हराइएको हो भनेर भन्न एमालेकै कार्यकर्ता हिचकिचाउँदैनन् । एमालेभित्रको सांगठिनक अराजकता बढेको छ भनेर स्वयम् एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले स्वीकार गरेका छन् ।


Advertisement


न्यौपानेले भनेको यही अराजकता बुधबार पनि देखियो । त्यो पनि एमालेले जितेका पदाधिकारीलाई बधाई दिने कार्यक्रमको सन्दर्भमा । बुधबार एमाले पोखरा महानगर कमिटीले स्थानीय तह निर्वाचनमा विजयी भएका उपप्रमुख, ३३ मध्ये ९ वडाध्यक्ष र सदस्यहरूलाई बधाई दिने कार्यक्रम राखेको थियो ।

त्यही कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए, एमाले उपमहासचिव गुरुङ । एमाले संसदीय दलका नेतासमेत रहेका गुरुङले जब बोल्न थाले, कार्यकर्ताहरूले नाराबाजी गर्न थाले ।

‘अन्तर्घाती होसियार’, ‘अन्तर्घाती मुर्दावाद’, ‘अडियो भिडियो काण्ड सार्वजनिक गर ।’

पछि उत्तेजित र आक्रोशित कार्यकर्तालाई एमाले पोखरा अध्यक्ष न्यौपानेले थामथुम गर्ने प्रयास गरे । सम्बोधन सकेर गुरुङ कार्यक्रमस्थलबाट बाहिरिए । त्यसैगरि संगठन विभाग प्रमुख खगराज अधिकारी पनि सम्बोधन सक्नासाथ बाहिरिए ।

पोखराको प्रमुखमा एमालेका कृष्णबहादुर थापा ६ हजार ४५ मतले गठबन्धनबाट उमेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यसँग पराजित हुन पुगे ।

पोखरामा समाजवादीले जित्दा आफूलाई दु:ख लागेको भनेर पृथ्वीसुब्बाले भाषण गरे । राज्यशक्तिले पैसाको खोलो बगाएको आरोप लगाए ।

तर, कार्यकर्ताले उनीविरुद्ध नै नाराबाजी गरे ।

अडियो काण्डमा भनेअनुसार कृष्णबहादुर थापालाई हराउन उनको संलग्नता छ छैन, उनकै दलले छानविन गर्ला । तर, अडियोमा प्रष्ट रूपमा उनको नाम लिइएको छ ।

अडियोमा बोल्ने मनोज पहारीले भनेका छन, “राजीव दाइको निकट भन्दा नि व्यावसायिक हिसाबले सम्बन्ध छ नि । पहिले नै चिनजान मान्छे हो नि । बरु राजीव दाइपछि चिनेको हो । कृष्ण थापाले चुनाव हारे त जसरी नि दोष लाउने त राजीव दाइलाई हो, पृथ्वीसुब्बालाई हो, माधव बास्तोलालाई हो, भीम कार्कीलाई हो, मनबहादुर गुरुङलाई हो । कुरा त क्लियर नै छ ।”

यसलाई खगराज अधिकारी पक्षधरले अर्को समूह आफूविद्ध परिचालन भएको र चुनाव हराएको रूपमा बुझेको छ । यसमा कत्तिको सत्यता छ, छानविन गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले विज्ञप्तिमार्फत प्रष्टाइसकेका छन् ।

अर्कातर्फ, कृष्णबहादुर थापालाई टिकट नदिन भनेर नै पृथ्वीसुब्बाले गण्डकीमा कुनैपनि बेला सरकार बन्न सक्छ भन्दै च्याप्टर क्लोज गरिदिएका थिए ।

थापाले तत्कालै मनोगत षडयन्त्र गरेको भन्दै प्रतिक्रिया दिएका थिए । दीपक पौडेलले टिकट पाएपछि सुन चोरीको भिडियो चाहिँ खगराज अधिकारी पक्षले फैलाएको आरोप अर्काे पक्षले लगाएको छ ।

एमालेभित्रको आरोप प्रत्यारोप र गुटगत षडयन्त्रको छानविन गर्ने भनेपनि यी दुई समूहले एकअर्कालाई कसरी आरोप लगाउँछ र कारबाही गर्छ, त्यो भने हेर्न बाँकी नै छ । 

Copy link
Powered by Social Snap