२०८१ बैशाख १४

रोमाञ्चक मोडमा प्रिमियर लिगको उपाधि होड

काठमाडौं । प्रिमियर लिगको उपाधि होड रोमाञ्चक मोडमा पुगेको छ । लिभरपुलले मंगलबार राति साउथह्याम्पटनमाथि २–१ को विजय हासिल गरेपछि प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बनेको हो । यससँगै जारी सिजन चार उपाधि जित्ने लिभरपुलको सम्भावना पनि जिवित भएको छ । 


Advertisement


गत शनिबार एफए कपको उपाधि जितेको लिभरपुलले यसअघि लिग कपको पनि उपाधि जितेको थियो । लिभरपुलले गएराति अधिकांश दोस्रो रोजाईका खेलाडी उतारेको थियो । पाहुना टोली लिभरपुलले एक शून्यले पछि परेको स्थिति उल्टाउँदै महत्वपूर्ण नतिजा निकाल्न सफल भएको हो । 

साउथह्याम्पटनले नाथन रेडमोन्डको गोलबाट १३औं मिनेटमा अग्रता लिएको थियो । २७औं मिनेटमा लिभरपुलका ताकुमी मिनामिनोले बराबरी गोल फर्काए । ६७औं मिनेटमा जो माटिपले गरेको गोल लिभरपुलको जितमा निर्णायक बन्यो । 

जितसँगै योर्गान क्लोपको लिभरपुलले अन्तिम एक खेल बाँकी हुँदा ८९ अंक जोडेको छ । जुन शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा एक अंकले पछाडि हो । 

अब प्रिमियर लिगको उपाधि अन्तिम खेलको नतिजाले टुंगो लगाउने भएको हो । लिभरपुलले आइतबार राति उल्भरह्याम्पटनसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले भने एष्टन भिल्लासँग प्रतिस्पर्धा गर्नेछ । दुबै टोलीले घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछन् । 

‘‘यससिजन जे भइरहेको छ । त्यसमा हामीले गौरव गर्न लायक प्रदर्शन गरेका छौं,’’ लिभरपुलका मिडफिल्डर जेम्स मिल्नरले भने, ‘‘हामीले गर्न सक्ने भनेको उपाधि होड अन्तिम खेलसम्म लौजानु थियो । त्यसमा हामी सफल भयौं ।’’

उपाधि होडमा लिभरपुलको भन्दा सिटी को सम्भावना बलियो छ । किनकी सिटीले खेल जित्यो भने उपाधि जित्छ । सिटीलाई उपााधि जोगाउन हार्ने छुट छैन । सिटीले जित्यो भने लिभरपुलले जिते पनि उपाधि जित्न सक्दैन । लिभरपुलको उपाधि जितेर सिटीले बराबरी तथा खेल हार्नुपर्छ । नभए सम्भव छैन । 

लिभरपुल च्याम्पियन्स लिगको पनि फाइनलमा स्थान बनाउन सफल भएको छ । लिभरपुलले च्याम्पियन्स लिगको उपाधिका लागि २८ मेमा रियाल मड्रिडविरुद्ध प्रतिस्पर्धा गर्नेछ । लिग र च्याम्पियन्स लिगको उपाधि जित्यो भने लिभरपुलले एकै सिजन दुर्लभ चार उपाधि जित्नेछ ।

Copy link
Powered by Social Snap