२०८० चैत्र १६

गृहमन्त्रीलाई चिनियाँ राष्ट्रपति सीको सन्देश सुनाइन् चिनियाँ राजदूत यान्छीले

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको दोस्रो दिन बुधबार यान्छीले गृहमन्त्री खाँणसँग भेटवार्ता गरेकी हुन् ।

त्यसक्रममा राजदूत यान्छीले नेपाली जनता र सरकारले आफ्नो विकासको मोडेल आफैँ तय गर्ने भन्दै नेपालले तयार गर्ने मोडेलमा चीनको सधैँ सहयोग र सद्भाव रहेको बताएकी थिइन् ।


Advertisement


गृह मन्त्रालय स्रोतले भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विविध विषयमा छलफल भएको जनाएको छ । राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा चिनियाँ राष्ट्रपति सी चिनफिङका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

‘राष्ट्रपति सी चिनफिङले आफ्ना जनप्रतिनिधि जनताले आफैँ छान्ने प्रक्रिया राम्रो भएको भन्दै यो कार्य सम्पन्न गरेकामा प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको’ सन्देश गृहमन्त्रीमार्फत प्रधानमन्त्रीलाई पठाएको जानकरी भेटमा दिएको सचिवालयले जनाएको छ ।

यान्छीले निर्वाचनका दिन आफू मतदान भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको पनि बताएकी थिइन् ।

भेटका क्रममा राजदूत यान्छीले ‘चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सुरक्षा प्रबन्ध राम्रो गरेकामा गृहमन्त्रीमार्फत सुरक्षा निकायलाई धन्यवाद दिएको’ पनि सचिवालयले जनाएको छ ।

गृहमन्त्री खाँणले भने ‘स्थानीय सरकार निर्माण गर्ने कार्य सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको’ बताएका थिए । उनले चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा क्रममा राजदूत यान्छीले यही ३० मेदेखि काठमाडौं–कुनमिङ सिधा उडान गर्ने तयारीबारे जानकारी गराएकी थिइन् । काठमाडौंदेखि कुमनिङ र कुमनिङदेखि काठमाडौं दोहोरो उठान सञ्चालन हुने यान्छीको भनाइ रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

Copy link
Powered by Social Snap