२०८१ बैशाख २६

लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा मोदीको वक्तव्य- नेपालसँग हाम्रो सम्बन्ध अतुलनीय छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा आइतबार वक्तव्य जारी गर्दै गत महिना नयाँदिल्लीमा भएको ‘उपलब्धिमूलक’ वार्तापछि आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई फेरि भेट्न इच्छुक रहेको बताएका छन्।


Advertisement


बुद्ध जयन्तीका अवसरमा सोमबार गाैतम बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका मोदीले आफ्नो वक्तव्यमा जलविद्युत, विकास, कनेक्टिभिटी लगायत क्षेत्रमा दुई देशबीच सहकार्य निरन्तर जारी रहने उल्लेख गरेका छन्।

‘नेपालसँगको हाम्रो सम्बन्ध अतुलनीय छ। भारत र नेपालबीच पुरानो सभ्यतादेखि नै जनस्तरको सम्बन्ध र सम्पर्क रहँदै आएको छ। यसले हाम्रो निकट सम्बन्धको दीगो संरचना निर्माण गरेको छ,’ प्रधानमन्त्री मोदीको वक्तव्य उद्धृत गर्दै भारतीय अखबार बिजनेस स्ट्यान्डर्डले लेखेको छ।

उनले आफ्नो वक्तव्यमा अगाडि भनेका छन्, ‘दुई देशबीच शताब्दियौंदेखि झांगिँदै आएको सम्बन्धलाई मेरो यो भ्रमणले थप गहिरो बनाउने अपेक्षा लिएको छु।’

मोदी सन् २०१४ यता पाँचौंपटक नेपाल भ्रमणमा आउन लागेका हुन्। यसपालि बुद्ध जयन्तीका अवसरमा उनी सोझै लुम्बिनी आउने कार्यक्रम छ।

‘म बुद्ध जयन्तीमा मायादेवी मन्दिर दर्शन गर्न इच्छुक छु। दसौं लाख भारतीयहरूको पाइला पछ्याउँदै गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पवित्र भूमिमा प्रार्थना गर्न पाउँदा म आफूलाई सम्मानित महसुस गरिरहेको छु,’ मोदीले वक्तव्यमा भनेका छन्।

यो भ्रमण क्रममा प्रधानमन्त्री देउवा र मोदीबीच लुम्बिनीमै भेटघाट र छलफलको कार्यक्रम छ। उक्त भेटमा जलविद्युत, विकास, कनेक्टिभिटी लगायत क्षेत्रमा सहकार्य विस्तारको निम्ति थप कुराकानी हुने बिजनेस स्ट्यान्डर्डले लेखेको छ।

‘गत महिना प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा भएको उपलब्धिमूलक छलफलपछि म फेरि उहाँलाई भेट्न इच्छुक छु,’ मोदीले वक्तव्यमा भनेका छन्।

‘दुई देशबीच जलविद्युत, विकास, कनेक्टिभिटी लगायत क्षेत्रमा सहकार्य विस्तारको काम निरन्तर जारी रहनेछ।’

Copy link
Powered by Social Snap