२०८१ बैशाख १५

बायर्न छाड्ने लेवान्डोस्कीको चाहना

काठमाडौं । बुन्डेसलिगामा सबैभन्दा धेरै गोल गर्ने रोबर्ट लेवान्डोस्कीले बायर्न म्युनिख छाड्ने चाहना व्यक्त गरेका छन् ।


Advertisement


बायर्नका खेलकुद निर्देशक हसन सालिहामिडजिकले शनिबार लेवान्डोस्कीले क्लबको सम्झैता नवीकरण गर्ने प्रस्तावलाई बेवास्ता गरेको जनाएका छन् । उनले भनेका छन्, “लेवान्डोस्की केही फरक चाहन्छन् ।”
३३ पोल्यान्डका फरवार्ड लेवान्डोस्कीको बायर्नसँगको सम्झैता अर्को सिजन सकिनेछ । त्यसबीचमा क्लबको प्रस्तावबारे विचार गर्न सकिने लेवान्डोस्कीले बताएका छन् । 

“हो । क्लबसँग मेरो सम्झैता अर्को वर्षसम्मका लागि छ,” शनिबार बायर्नले उल्फ्सबर्गसँग २–२ को बराबरी खेल्दा गोल गरेका लेवान्डोस्कीले भने, “यदि, प्रस्ताव आउँछ भने त्यसबारे केही सोच्न सकिन्छ । दुवै पक्षले भविष्यबारे सोच्नुपर्छ । योभन्दा धेरै म केही भन्न सक्दिनँ । के हुन्छ त्यो हेर्न बाँकी छ ।”

लेवान्डोस्की बार्सिलोना जाने चर्चा छ । तर, सालिहामिडजिकले स्पेनिस क्लब बार्सिलोनासँग केही कुरा नभएको बताएका छन् । उनले बायर्नलाई लेवान्डोस्की बेच्नुपर्ने बाध्यता नभएको पनि बताएका छन् । सालिहामिडजिक भन्छन्, “यथार्थ कुरा, क्लबसँग लेवान्डोस्कीको अर्को वर्षसम्म सम्झैता छ ।”

स्थानीय एक सञ्चारमाध्यमले लेवान्डोस्कीका एजेन्ट पिनी जाहबी र बार्सिलोनाबीच तीन वर्षको लागि मौखिक सम्झौता भएको जनाएको छ । 

लेवान्डोस्कीले बायर्न र पूर्व बोरुसिया डर्टमन्डबाट बुन्डेसलिगामा ३८४ खेलमा ३१२ गोल गरिसकेका छन् । उनी लगातार पाँचौँपटक बुन्डेसलिगामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्न सफल भएका छन् । लेवान्डोस्कीले गत वर्ष ४१ गोल गरेर एकै सिजन धेरै गोल गर्ने कीर्तिमान बनाएका थिए ।  लेवान्डोस्कीको स्थान लिभरपुलका फरवार्ड साडियो मानेले लिने अनुमानसमेत गरिएको छ । 

Copy link
Powered by Social Snap