२०८१ बैशाख ८

खेलाडी–प्रशिक्षक विवादबारे छलफल गर्न एन्फा कार्यसमितिको बैठक बस्दै

काठमाडौं । नेपाली राष्ट्रिय टोली फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादबारे छलफलका लागि आज अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्दैछ । 

बैठकमा एकमात्र एजेन्डा मुख्य प्रशिक्षक अल्मुताइरी र खेलाडीबीचको विवाद भएको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए ।


Advertisement


वैशाख १९ गते एन्फालाई पत्र बुझाउँदै खेलाडीहरूले विवादबारे छानबिन गरी दोषीलाई कारबाही गर्न अनुरोध गरेका थिए । तर, त्यसअघि मुख्य प्रशिक्षक अल्मुताइरीले पनि वैशाख १८ गते एन्फा महासचिवलाई पत्र लेख्दै खेलाडीको गल्तीमा माफी दिन आग्रह गरेका थिए । 

राष्ट्रिय फुटबल टोलीका महत्त्वपूर्ण १० खेलाडीले वैशाख १३ गते राति टिम बसेको होटल छाडेका थिए । त्यसपछि, उनीहरूले वैशाख १५ पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक अल्मुताइरीको ज्यादतीका कारण टिम छाड्नुपरेको बताएका थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि वैशाख २३ गते एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई ज्ञापनपत्र बुझाउँदै विवादको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको थियो । 

एन्फाले वैशाख २१ गते पूर्वखेलाडी तथा अवकाशप्राप्त मेजर जनरल भिक्टर राणाको संयोजकत्वमा एकल सदस्यीय छानबिन समिति गठन गरेको समाचार आफ्नो वेबसाइटमा राखे पनिकेहीछिनमै एन्फाले उक्त समाचार वेबसाइटबाट हटाएको थियो ।

एन्फाले यसअघि उपाध्यक्ष वीरबहादुर खड्काले निष्पक्ष छानबिनका समिति गठन गरी चाँडोभन्दा चाँडो विवाद टुंग्याउनुपर्ने बताएका छन् ।

Copy link
Powered by Social Snap