२०८१ बैशाख २१

ओलीको आतंकको शासन हटाउन गठबन्धन बन्यो : देउवा

पोखरा । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको आतंकको शासन हटाउन सत्ता गठबन्धन बनेको बताएका छन् ।


Advertisement


आइतबार पोखरामा गठबन्धनका उमेदवारको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले संसद् भंग गर्ने र चल्न नदिने ओलीको प्रवृत्ति रहेको बताए ।

“विपक्षी पार्टीले संसद्मा विरोध गर्न पाउँछ नि, हामीले विरोध गरेका थियौँ । त्यही विरोध सहन नसकेर भंग गरिदिए । ओलीजी संसदीय व्यवस्थाको पक्षमा पनि हुनु हुन्न,” उनले भने ।

असंवैधानिक संसद् विघटन आफूहरूले अदालत गएर फिर्ता ल्याएको उनले उल्लेख गरे । गठबन्धन सबैभन्दा बढी आवश्यक कांग्रेसलाई परेको उनको जिकिर छ ।

गठबन्धनकै कारण गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनेको बताउँदै उनले भने, “पोखरामा कांग्रेसको मुख्यमन्त्री छ, प्रचण्ड र माधवजी उदार भएर कांग्रेसलाई सरकारमा ल्याएको छ ।”

गठबन्धनविरोधी काम नगर्न आग्रह गर्दै देउवाले विरोधमा जानेलाई कारबाही गर्ने चेतावनी दिए ।

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाटलाई जिताएर गठबन्धन जोगाउन उनले आग्रह गरे ।

Copy link
Powered by Social Snap