२०८१ बैशाख १४

आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगको उपाधि त्रिभुवन आर्मीलाई 

काठमाडौं । छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको अन्तिम खेलमा हेल्प नेपाललाई ३–१ को सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । 


Advertisement


रोमान्चक खेलमा आर्मीले हेल्प नेपालमाथि २५–१५, २५–१८, २६–२८ र २८–२६ को सेटमा जित निकाल्यो । जितसँगै आर्मी लिगको शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो । 

आर्मीले ६ खेलमा १८ अंक जोड्यो । हेल्प नेपालले ६ खेलमा १४ अंक जोड्यो । हेल्प नेपाल दोस्रो स्थानमा रह्यो । उपाधिसँगै आर्मीले ६ लाख नगद प्राप्त गरेको छ । हेल्प नेपालले ३ लाख प्राप्त गर्यो । तेस्रो भएको नेपाल पुलिसले १ लाख ५० हजार र चौथो एपीएफले ७५ हजार प्राप्त गर्यो । 

महिलातर्फको उपाधि पनि आर्मीले जितेको छ । अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मी च्याम्पियन बनेको हो । विभागीय डर्बीमा आर्मीले पुलिसमाथि २५–१८, २५–२३ र २५–२० को सेटमा जित निकाल्यो । आर्मी पहिलो पटक च्याम्पियन बनेको हो । 

महिलातर्फ उपाधि विजेता आर्मीले पनि नगद ६ लाख प्राप्त गरेको छ । उपविजेता पुलिसले ३ लाख प्राप्त गर्दा तेस्रो बनेको एपीएफले १ लाख ५० हजार र चौथो एभरेस्टले ७५ हजार प्राप्त गरेको छ ।

नेपाल भलिबल संघले आयोजना गरेको लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता थियो । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लबले प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्लब सहभागी थिए । 

Copy link
Powered by Social Snap