२०८२ मंसिर २२

चितवनमा जगन्नाथलाई फकाउनुपर्नेले थर्काए, थर्काउनुपर्नेले फकाए

काठमाडौं । सत्ता गठबन्धनको पहिलो चुनावी सभा बिहीबार चितवनको भरतपुरमा सम्पन्न भयो । सभामा सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेतादेखि कलाकार सन्दीप क्षेत्रीसम्मकाले भाषण गरे । 


Advertisement


सभामा सत्ता गठबन्धनको भविष्यदेखि चुनाव जित्ने आधारहरूसमेत प्रस्तुत भए । बागी उमेदवार जगन्नाथ पौडेललाई उमेदवारी फिर्ता लिन चुनौती दिनेदेखि ‘लाल सलाम’ र ‘जय नेपाल’को सहकार्यको समेत चर्चा भयो । यतिसम्म कि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले त गठबन्धन नभएको भए ८२ प्रतिशत मतका साथ आफू सभापति नजित्ने भन्दै भाषण गर्न भ्याए । चितवनका नेताहरूले भने गठबन्धनको भविष्यमाथि गहिरो प्रश्न गरे । 

कार्यक्रमको सुरुमै बोलेका चितवन कांग्रेसका निर्वतमान सभापति जितनारायण श्रेष्ठले गठबन्धनको भविष्य ग्यारेन्टी गर्न नेकपा(माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिवद्धता मागे । उनले गठबन्धनको नाममा विगतजस्तै कांग्रेसलाई धोका नदिन आग्रह गरे । चितवन कांग्रेसले भरतपुर महानगमार रेनु दाहाललाई प्रमुख पदमा जिताउने भन्दै उनले पाँच वर्ष अघि जस्तै तीन महिनाभित्र धोका नदिन सचेत गराए । 

“हाम्रो पार्टीको सोझो सभापति जे बोल्नुहुन्छ त्यहीँ गर्नुहुन्छ । भोलिको दिनमा हिजो जस्तो ढाँट्ने धोका दिने काम नहोस्,” उनले भने,“ पाँच वर्षअघि जे प्रतिवद्धता यहाँ भएको थियो, तीन महिनापछि टुट्यो । अहिले पनि त्यस्तै नहोस् ।”

केन्द्रीय सदस्यसमेत रहेका चितवनका नेता टेकप्रसाद गुरुङले सत्ता गठबन्धन निर्वाचनपछि पनि कायम रहने प्रतिज्ञा गर्न आग्रह मात्र गरेनन् चितवनका जनतलाई विश्वास दिलाउन पनि नेताहरूको अगाडि भने । 

“यो गठबन्धन निरन्तर जान्छ भनेर प्रतिज्ञा गर्नुपर्‍यो । तब मात्रै चितवनको जनतालाई विश्वास हुन्छ । गठबन्धनका नेताहरूको भाषण सुनेको छु । गठबन्धन भंग भयो, भोलि छोड्दै छ रे भन्ने सुनेको छु,” उनले भने,“हिजोजस्तै कहिले कता, कहिले कता गर्नुभयो भने जनताले विश्वास गर्दैनन् ।”

साथै उनले निर्वाचन जितेपछि र पद पाएपछि गठबन्धन नतोड्न आग्रह गरे । “चुनाव र पद प्राप्त गर्न गठबन्धनको नाम लिने । त्यसपछि भंग हुने गयो भने विश्वास गर्न नसक्ने अवस्था रहन्छ,” गुरुङको  चिन्ता थियो । 

अधिकांश कांग्रेस नेताहरूले भाषण गरेको सभामा पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि गठबन्धनकै विषयमा आशंका गरिन् । उनले मतदाताले चाहेको गठबन्धनलाई निरन्तरता दिन शीर्ष नेताहरूसँग माग पनि गरिन् ।

बागी उमेदवारविरुद्ध खनिएका रामचन्द्र, माधव–प्रचण्डको त्यो चेतावनी…
कांग्रेस नेता रामचन्द्र पौडेल भने बागी उमेदवार जगन्नाथ पौडेलविरुद्ध खनिए । भरतपुर महानगरपालिकामा प्रमुख पदमा स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलमा धैर्य नभएको र आफूले क्षणिक उत्तेजना मात्र पाएको आरोप उनको थियो । सम्बोधनको पौडेलले उमेदवार पौडेलले संवाद गर्न नचाहेको आरोप लगाए । नेता पौडेलले बिहान आफूले कुरा गर्न खोजेपनि पौडेलले तर्क सुन्न नचाहेको सभालाई जानकारी दिए । 

“आज बिहान मात्र कृष्णलाल जी, भिमबहादुरजी र जगन्नाथ पौडेल जीलाई संवाद गर्न चाहेँ, केही कुराहरू राख्न सुरु गरेँ,” उनले भने,“बसेर राम्रोसँग कुरा गरौँ भने, तर उहाँहरूले धैर्य राख्न सक्नुभएन । चाँडै जान खोज्नुभयो । मैले दिएको तर्कलाई सामना गर्न तयार हुनुभएन । उत्तेजनामा मात्र उहाँहरू असन्तुष्टि व्यक्त गरेको मैले पाएँ ।”

नेता पौडेलले आफूले माओवादी केन्द्र र प्रचण्ड कांग्रेसको प्रतिष्पर्धी नभएको बुझाउन चाहे पनि उनीहरूले कुरै सुन्न नचाहेको बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने बागी उमेदवार पौडेललाई उमेदवारी फिर्ता लिन आग्रह गरे । उनले उमेदवारी फिर्ता नलिए जनताले ‘देखाइदिने’ चेतावनी नै दिए ।

“तपाईंहरूले साँच्चै राजनीतिलाई निष्ठा, आदर्शको विषय बनाउनुभएको छ भने व्यक्तिगत कुण्ठाको आधारमा नचल्नुस् । पार्टीभित्र समस्या हुन सक्दछन्,” उनले भने, “त्यसलाई बसेर हल गर्न सकिन्छ । अहिले पनि आफ्नो उमेदवारी वक्तव्य दिएर फिर्ता गर्नुस् । तपाईंले फिर्ता लिनुभएन भने जनताले नै फैसला गर्नेछन् । जनताले रेनु (दाहाल) र चित्र (अधिकारी)को कम्बिनेसलाई जिताउन लागिपर्ने छन् ।”

जब रामचन्द्रले गठबन्धनकै कारण पौडेल मन्त्री बनेको भने… 
पार्टीको बागी उमेदवारमाथी खनिएका रामचन्द्रले गठबन्धनको गुणगान गाउन भने अलिकति पनि कसर बाँकी छाडेनन् । बरु गठबन्धनको सुत्राधार आफूले गरेकोसम्म भन्न भ्याए । उनले माओवादी केन्द्र र प्रचण्ड कांग्रेसको प्रतिष्पर्धी नभएको भन्दै एमाले र केपी ओली प्रवृत्ति कांग्रेसको प्रतिष्पर्धी भएको दाबी गरे । 

“गठबन्धन नभएको भए पोखराका कृष्णचन्द्र नेपाली पोखरेले कसरी मुख्यमन्त्री बन्थे ? चितवनका बलराम पौडेल कसरी मन्त्री बन्न पाउँथे ? राष्ट्रियसभामा तीनजना सदस्य कसरी जित्न सक्थ्यो कांग्रेसले ?,” उनले प्रश्न गरे ।

नेता पौडेलले भविष्यमा गठबन्धनकै सरकार बनाउनुपर्ने भएपछि आजैबाट मिलेर स्थानीय सरकार बनाउनुपरेको पनि जिकिर गरे । 

ओलीमाथि माधव र राजेन्द्रको निरन्तर प्रहार
सत्ता घटक दल जसपाका नेता राजेन्द्र श्रेष्ठ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने एमाले अध्यक्ष केपी ओलीलाई गाली गरेर भाषण सम्पन्न गरे । 

जसपा नेता श्रेष्ठले दुई तिहाइ शक्तिको केन्द्रीय सरकार र ६ प्रदेशमा भएको सरकार जोगाउन नसक्ने एमालेले फेरि जनताको म्यान्डेट माग्न नमिल्ने बताए । उनले पाँच वर्षअघि एमाले अध्यक्ष ओलीको उखान टुक्का र हास्यव्यङ्गमा फसेर जनताले मत दिए पनि अवस्था अहिले गठबन्धनको पक्षमा भएको बताए । नेता श्रेष्ठले बाघहरू गर्जिएन सुतेर बस्यो भने स्यालहरू उफ्रन थालेको भन्दै भरतपूरमा रेनु दाहाल र मित्रसेनहरू गर्जन थालेपछि अन्य स्यालहरू उफ्रन नसक्ने भएको बताए । उनले ‘शर्पले दुध खाए पनि विष लाग्छ’ भन्दै ओलीले ‘मोई खाएपनि विष लाग्ने’ जिकिर गरे ।

अध्यक्ष नेपालले ओलीलाई गफाडीको आरोप लगाए । “गफमा उनलाई कसैले सक्दैन । गफमा उनले विद्यावारिधि गरेका छन् । त्यसैले मान्छे भुल्याउन सक्दछन्,” उनले भने,“ओलीको बखान गर्नु जरुरी छैन । हजार जिब्रा भएका शेष नागले उनको व्याख्या गर्न सक्दैनन्, म कसरी गर्न सक्छु ? उनी त बलयगाडा दर्शनका प्रवर्तक हुन् ।”

कास्टिङ सकिएपछि फिल्म देखाउँदै रेनु !
भरतपूर महानगरपालिका प्रमुख पदको उमेदवार रेनु दाहालले गएको पाँच वर्षमा भरतभित्र आफूहरूले विकासको कास्टिङ गरेको भन्दै पुनः जितेर पाँच वर्षभित्र पूर्ण फिल्म देखाउने दाबी गरिन् । उनले नगरवासी र प्रतिपक्षीहरूको अगाडि टाउको झुकाउने पर्ने अवस्था नभएको दाबी गरिन् । 

“हामीले पाँच वर्षभित्र कामको कास्टिङ देखायौ । धेरै आयोजनाको काम अघि बढाएर कास्टिङ देखाइसक्यौँ । हामीलाई जिताउनुहोस् पाँच वर्षभित्र आयोजना पूरा गरेर समग्र फिल्म देखाछौँ,” उनले भनिन् ।

उनले रोजगार बैंकको स्थापना गर्नेदेखि विदेशी लगानी भित्राउने र आर्थिक विकासको केन्द्रको हब बनाउने प्रतिवद्धता व्यक्त गरिन् । 

‘लाल सलाम’ र ‘जय नेपाल’ भन्दै प्रचण्डले दिए देउवालाई नै चेतावनी 
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘लाल सलाम’ र ‘जय नेपाल’को अभिवादनबाट भाषणको सुरुवात गरे । उनले ‘लाल सलाम’ र ‘जय नेपाल’को सुरुवात २०४६ सालको पहिलो जनआन्दोलनबाट भएको जिकिर पनि गरे । 

“यो लाल सलाम र जय नेपालको सम्बन्ध थोरै २०४६ सालको ऐतिहासिक जनआन्दोलनबाट भएको हो,” उनले भने, “त्यसअघि पञ्चायतकालमा वामपन्थी र प्रजातन्त्रवादीहरूको बिचमा एकता र सहकार्य भन्ने कुरालाई नकारात्मक ढंगले हेर्ने प्रवृत्ति थियो ।”

उनले २०४६ सालको ऐतिहासिक जनआन्दोलनको संघारमा ‘लाल सलाम’ र ‘जय नेपाल’ हसिया हथौडा र रुख एकठाउँमा भएपछि मात्र पञ्चायत ढलेको बताए । 

“त्यतिबेला संयुक्त जनआन्दोलनको लहर नेपाली कांग्रेसको नेता हामी सबैको अभिभावक गणेशमान सिंहको नेतृत्वमा अघि बढ्यो र पञ्चायती तानाशाहको अन्त्य भयो ।”

उनले चितवनमा रेनुले चुनाव हारे देश नै दुर्घटनामा जाने भनेर देउवालाई नै चेतावनी दिन भ्याए । 

“यो राष्ट्रको आवश्यकता हो भनेर रेनु दाहाल र चित्रसेन अधिकारीको टिमलाई जिताउनुभयो भने म उत्साहित हुनेछु र यो गठबन्धनलाई १०, १५ २० वर्ष लाने मेरो प्रतिबद्धता हुनेछ,” प्रचण्डले भने, “राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो र नेतालाई अनावश्यक दबाब दिनुभयो भने देश दुर्घटनामा जानसक्छ ।”

ठूलो ज्ञान प्राप्त गरे गठबन्धन भत्काउदीन भन्दै प्रचण्ड बोलिरहे
सभामा प्रचण्डले आफू गठबन्धभित्र गरेको वाचा पूरा गर्ने भन्दै आफूलाई विश्वास गर्न चितवनवासीलाई आग्रह गरे । 

“गठबन्धन गर्न बूढानीलकण्ठ जाँदा कांग्रेसका साथीहरूले केपी ओलीसँग एकता गर्दा के पाउनुभयो खै भनेर सोध्नुभएको थियो,” प्रचण्डले भने,“मेले ज्ञान प्राप्त गरे भनेर त्यतिबेला भनेको थिएँ । म चितवनवासीसँग आग्रह गर्छु मैले निकै ठूलो मूल्य चुकाएर ज्ञान पाएर आएको छु । म माथि शंका नगर्नुहोस् ।”

साथै उनले अघिल्लो स्थानीय तह निर्वाचनमा हँसियाहतौडा भोट हाल्न गाह्रो भएको देखेपछि आफूले गठबन्धन फेरेको पनि बताए । “मैले साँच्चै नै उभिएर भन्दै गर्दा रुखवालाले हँसियाहतौडामा भोट हाल्न धेरै गाह्रो देखियो । सपना त ठूलै देखिएको थियो, यो गठबन्धनलाई १०–१५ वर्ष लैजाने भनेर शेरबहादुर देउवाजी र मेराबीच छलफल पनि भएको थियो । तर, व्यवहारमा आउँदा मैले सहज देखिनँ । सहज नदेखिएको जिल्ला चितवनको हो, त्यति बेला । मेयरकै चुनाव पनि हो,” उनले भने ।

प्रचण्डले आफूहरूलाई चिन्तित तुल्याएको र वामपन्थी मिल्दा सजिलो हुने हो कि भन्ने लागेर देउवालाई आफूले जानकारी दिएर नै गठबन्धन परिवर्तन गरेको बताए । ‘भोट ट्रान्सफर’ नै नभएका कारण वाम गठबन्धन गरिएको उनको भनाइ छ ।

देउवाको आत्मसमर्पणवादी भाषणदेखि रेनुको गुनगानसम्म 
सभाको अन्त्यमा बोलेका देउवाले गठबन्धन नभएको भए आफूले ८२ प्रतिशत मतकासाथ सभापति जित्न नसक्ने बताएका थिए ।

“गठबन्धनका कारण ८२ प्रतिशत भोट ल्याउँदै मैले सभापति जितेको हो । कांग्रेस जनताको पार्टी हो । यो जनता जनप्रतिनिधको मत हो,” उनले भने,“ पार्टी गाउँदेखि केन्द्रका साथीहरूले दुई तिहाइ बढील मतले जिताउनुभयो यो सबै गठबन्धनका कारणले भएको हो ।”

गठबन्धनबाट सहयोग नभएको भए आफूले पार्टी सभापति जित्न नसक्ने उनको भनाइ छ । यसबाट नेपाली जनता गठबन्धनको पक्षमा रहेको स्पष्ट हुने उनको भनाइ थियो । 

साथै उनले प्रमुख पदको उमेदवार रेनु दाहालको मुक्तकण्ठले प्रशंसा गरे । उनले ‘भरतपुर महानगरपालिकामा काम गर्ने रेनु दाहाललाई मेयर नबाएर कसलाई बनाउने ?’ भन्दै प्रश्न गरे । रेनुको प्रशंसा गर्दै उनले भरतपुरमा बेरुजु नभएको र मेयरले राम्रो काम गरेको बताए । उनले गल्लीगल्ली पिच गरिएकाले भरतपुरको जग्गा काठमाडौंको भन्दा महँगो भएको पनि बताए ।

“कहीँ बेरुजु नभएको नगरपालिकाको मेयर हो उहाँ । बेरुजु पूरै फर्छ्यौट भएको छ । अहिलेसम्म धेरै कम मेयर होलान्, जसको बेरुजु छैन । काम पनि हरेक गल्लीमा कालोपत्र भएको छ । त्यसले गर्दा यहाँको भाउ बढिसक्यो । काठमाडौंभन्दा महँगो हुन थालिसक्यो जग्गा त ! सबैलाई थाहा छ,” उनले भने ।

Copy link
Powered by Social Snap