२०८३ कार्तिक १२

निर्वाचनका लागि तयार रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्‍न स्थानीय निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रूपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिएका छन्।

सशस्त्र प्रहरी बल, नेपाल नं. १ गण हे.क्वा., श्रीअन्तु इलामको नवनिर्मित भवनको उद्‍घाटन गर्दै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्‍न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकोले उत्कृष्‍ट ढंगले जिम्मेवारी पूरा गर्नसमेत निर्देशन दिए।

बुधबार खनालले नं. ३८ रिजर्भ गण हेडक्वाटर र लखनपुर झापाको समेत उद्घाटन गरेका थिए।फौजको महत्वपूर्ण गहना भनेको अनुशासन भएकोले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखि संगठन र राष्‍ट्रप्रति इमान्दार, बफादार, नैतिकवान, अनुशासित हुन खनालले निर्देशन दिए।


Advertisement


कोभिड-१९ नियन्त्रण र रोकथाममा संगठनले हासिल गरेको सफलता फिल्डमा तैनाथ राष्‍ट्रसेवक कर्मचारीहरूको त्याग र मेहनतको परिणाम भएको बताउँदै महानिरीक्षक खनालले आगामी दिनमा समेत अबिचलित रही राष्‍ट्र सेवामा समर्पित हुन निर्देशन दिए।

संगठनका सकलदर्जाले देखाएको इमान्दारिता, अनुशासन, बफादारी, कर्तव्यपरायणता तथा व्यावसायिकता, उच्च समर्पणभाव र परिश्रमको नतिजाकै कारण संगठन आज यो स्थानमा आएको स्मरण गर्दै उनले सशस्त्र प्रहरी बल, नेपाल सीमा क्षेत्रमा तैनाथ भएपछि राजश्व संकलनमा बृद्धि, चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण भएको, समग्रमा सीमा क्षेत्रका जनताले सुरक्षित महसुस गरेको बताए।

‘हाम्रा राष्‍ट्रसेवक कर्मचारीहरु ताप्लेजुङको ओलाङचुङगोलादेखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरिफुले देखि दार्चुलाको छाङ्गरूसम्म तैनाथ भएरहेका छन् र बिकट भौगोलिक बनावट र प्रतिकूल मौसमका बाबजुद पनि उच्च मनोबल र हौसलाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्,’ खनालले भने।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी तथा जिल्ला स्थित सुरक्षा प्रमुखहरूको उपस्थिति थियो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap