२०८० चैत्र १५

अहिलेलाई भिजिट भिसामा जान ५ लाख आय देखाए पुग्ने

भिजिट भिसामा विदेश जाने नेपालीले कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था तत्काल लागू नहुने भएको छ।

भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय खोज्न गठित कार्यदलले यो व्यवस्था  सिफारिस गर्दै गत साता गृहलाई प्रतिवेदन बुझाएको थियो।


Advertisement


चौतर्फी आलोचना बढेपछि बिहीबार गृहले भिजिट भिसासम्बन्धी कार्यविधि नबनुञ्जेल नयाँ व्यवस्था जारी गरेको छ।

यो व्यवस्था अनुसार अब भिजिट भिसामा जाने नेपालीले कम्तीमा पाँच लाख रुपैयाँ कर योग्य आय भएर कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ।

यी दुबै रकम विदेश जाने व्यक्तिकै नाममा हुनुपर्नेछ। 

त्यस्तै, गृहले कार्यदलका सिफारिसभन्दा थोरै हेरफेर गरेर अरू मापदण्डहरू पनि जारी गरेको छ।

जारी गरिएका बुँदाहरू कार्यान्वयनमा दुविधा भएमा अध्यागमन कार्यालयका प्रमुखले विभागका महानिर्देशकको पूर्वस्वीकृति लिएर आवश्यक निर्णय गर्न सकिने पनि उल्लेख गरिएको छ। 

गृहले जारी गरेका व्यवस्था यस्ता छन्: 

  • खाडी मुलुक भन्दा बाहिर कम्तीमा एक पटक र खाडी मुलुकको हकमा दुई पटक विदेश यात्राको अभिलेख भएका व्यक्तिहरू ,
  • न्यूनतम २ वर्ष भन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको अभिलेखबाट प्रमाणित हुने व्यक्तिहरू,
  • न्यूनतम माध्यमिक तहको (कक्षा १२) औपचारिक शिक्षा वा सो सरहको प्राविधिक/व्यावसायिक सीप दक्षता भई आधिकारिक निकायबाट प्रमाणिकरण भएका वा उच्च शिक्षा हासिल गरेका, अध्येता, विज्ञ, प्राविधिक, व्यक्तिहरू, 
  • अंग्रेजी वा गन्तव्य मुलुकमा बोलिने अन्तराष्ट्रिय भाषाको राम्रो सीप भएका व्यक्तिहरू, 
  • आफ्नो एकाघरको नातेदारका साथमा भ्रमणमा जाने तथा एकाघरको व्यक्तिको आमन्त्रण र प्रायोजनमा जाने व्यक्ति (एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती) / वैदेशिक रोजगारमा रहेकाहरूको नातेदार समेत,
  • गन्तव्य मुलुकमा रहेको राजदूतावास/नियोगबाट प्रमाणित कागजातसहित सिफारिस भएका व्यक्तिहरू
  • सरकारी कामको सिलसिलामा विदेश भ्रमण गर्ने सरकारी निकायका प्रतिनिधिहरू, 
  • अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तिय संघ संस्थाका प्रतिनिधि एवं अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाका प्रतिनिधि भई भ्रमण गर्न जाने प्रतिनिधिहरू
  • नेपालमा सामान आयात-निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधिहरू र व्यवसायिक कम्पनी / फर्मका सञ्चालक वा व्यवसायीहरू (एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती), 
  • प्रचलित कानुन बमोजिम स्थापित संगठित संस्थाको नेतृत्व वा प्रायोजनमा आफ्ना सदस्यहरू / कर्मचारीहरू समूह बनाई खाडी राष्ट्र र मलेसिया भ्रमण कार्यक्रममा जान अध्यागमन विभागबाट पूर्व स्वीकृति प्राप्त गरेका व्यक्तिहरू,
  •  ट्राभल एजेन्सीको घोषित टूर प्याकेजमा निर्धारित भ्रमण कार्यक्रम सम्पन्न भएपछि फर्काउने प्रतिवद्वता र जिम्मेवारी स्वघोषणा गरेका सूचीमा संलग्न व्यक्ति ( तर खाडी मुलुक र मलेसियाको हकमा अध्यागमन विभागको पूर्व स्वीकृति आवश्यक पर्नेछ।) 
  • वार्षिक न्यूनतम ५ लाख रुपैयाँ कर योग्य आय भई कम्तिमा सो को आधा रकम बैंक खातामा बचत भएका र नेपालको कर प्रणालीमा आवद्धता भएका व्यक्तिहरू, 
  • औद्योगिक तथा व्यवसायिक गतिविधिमा अन्तर्राष्ट्रिय सञ्जालमा आबद्ध संस्थासँग सम्बन्धित आधिकारिक प्रतिनिधिहरू (कर्मचारी/(एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती)
  • वैदेशिक रोजगार व्यवसायको बजार प्रवर्द्धनको लागि जाने म्यानपावर व्यवसायीहरू (संचालक वा आधिकारिक प्रतिनिधि, एकाघरका आमा बाबु, सासु ससुरा, छोरा छोरी, श्रीमान श्रीमती मात्र)
  • नेपाली दूतावासको सिफारिस बमोजिम बिरामी कुरूवा वा रेखदेखको कार्य गर्न जाने तीन पुस्ता भित्रका पारिवारिक सदस्यहरू,
  • खाडी मुलुक, मलेसिया, अफ्रिकन मुलुक र जोखिम भएका मुलुकहरूको भ्रमणमा जाने खेलाडी तथा कलाकारहरूको हकमा आयोजकबाट आधिकारिक निमन्त्रणा वा प्रायोजन पत्र प्राप्त गरेका सूचीमा संलग्न व्यक्ति (आयोजकको आमन्त्रण र प्रायोजन सम्वन्धी कागजात वेवसाइट/अनलाइन रुजु हुनुपर्ने अथवा सम्बन्धित मुलुकमा रहेको नेपाली नियोगबाट प्रमाणित/सिफारिस भएको हुनुपर्ने सो नभएमा सम्बन्धित निकायको सिफारिसमा अध्यागमन विभागबाट पूर्व स्वीकृति प्राप्त हुनुपर्ने। यसरी समूह वा व्यक्तिगतरूपमा भ्रमणमा जाने विषयमा सिफारिस गर्दा सिफारिस गर्ने निकाय जिम्मेवार रहने।)
  •  माथि बुँदा नं (१५) मा उल्लेख भएको मापदण्ड वा आधारमा नपर्ने व्यक्तिको हकमा अध्यागमन विभागबाट अनिवार्य रूपमा पूर्व स्वीकृति प्राप्त गरेपछि मात्र भिसा तथा हवाई टिकट सम्बन्धी प्रकृया अगाडि बढाउन सम्बन्धित सरोकार पक्षलाई सुसूचित गर्ने।

Copy link
Powered by Social Snap