२०८३ कार्तिक १२

कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक्: झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक् भएको आरोप लगाएका छन्।

शनिबार नेकपा (एकीकृत समाजवादी) इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरूले पैसाको धाक् लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाए। 


Advertisement


खनालले नेपाली कांग्रेस र नेकपा एमाले पार्टी निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाए।

उनले आफ्नो पार्टीसँग कुनै पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रूपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे। खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिबद्धताको कुरा अघि सारेर व्यवहारिक रूपले अघि बढ्ने बताए।

खनालले भने, ‘अब चुनावमा विभिन्न खालका शक्तिहरू अहिले आउँदैछन्। एउटा कांग्रेस, कांग्रेस त बोरामा पैसा बोकेर आउँछ। उनीहरूको चरित्र पनि त्यस्तै हो। हामी सबै जित्छौं भनिरहेका छन् नि केही कांग्रेसहरूले, त्यो सबै धाक् पैसाको हो। अरू केहीको होइन। तर कतिपय कांग्रेस, खासगरी प्रधानमन्त्रीजी होइन, हामी एकताबद्ध भएर जानुपर्छ, गठबन्धन कायम राखेर जाुनपर्छ, भन्नुहुन्छ। कांग्रेसभित्र दुई धार प्रस्ट छ। नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ।’

अर्को इलेक्सन आफूहरूले पक्का जित्ने उनले दाबी गरे। तर कांग्रेसका एकता नचाहने नेताहरू र एमाले भने बोरामा पैसा लिएर आफूहरूलाई हराउन लागिपर्ने उनले आरोप लगाए।

‘अर्को इलेक्सनमा हामी पक्का जित्छौं। तर अरू बोरामा पैसा लिएर आउँछन्, केपी ओली पनि बोरामा पैसा लिएर जान्छन्। कांग्रेसका एकता नचाहने मान्छेहरूले बैठक गरे, उनीहरूले को मान्छेलाई हराउने भन्दा नम्बर एकमा झलनाथ खनाललाई भने’, उनले भने, ‘उनीहरूले त्यही ढंगले प्रयत्न गर्दछन्। एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो। केपी ओलीलाई ६ गते लाने रे। के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ। त्यति मात्रै होइन उनीहरूले पनि बोरामा नै पैसा लाने हो।’

सम्मानित नेता खनालले देशको परिस्थिति नयाँ मोडतिर अघि बढिरहेको उल्लेख गर्दै नेपालमा उल्टो तरिकाबाट निर्वाचनको प्रक्रिया भइरहेको बताए।

उनले देशमा निर्वाचनहरू सामान्यतःराष्ट्रिय निर्वाचन पहिला हुनुपर्ने त्यसपछि मात्र प्रदेश र स्थानीय निर्वाचन हुनुपर्ने भन्दै विगतमा ऐन, कानुन नबन्दा यी समस्या सिर्जना भएको उल्लेख गरे। सम्मानित नेता खनालले देशमा अझै पनि शोषण, अन्याय र अत्याचार समाप्त नभएको दाबी गरे। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap