२०८१ बैशाख १२

माधव नेपालको प्रतिवेदन- एमसिसी पास गर्न १२ बुँदे घोषणामा सहमति नगरेको भए हामीलाई सकिदिन्थे

सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न १२ बुँदे व्याख्यात्मक घोषणामा सहमति गरेर पार्टीको अस्तित्व नै समाप्त पारिदिने खतरालाई टारेको बताएका छन्।

बुधबार काठमाडौंमा र सुरू भएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा सत्तारूढ गठबन्धनले एमसिसी पास नगरेको भए कांग्रेस र एमाले मिलेर जस्ताको त्यस्तै पारित गरिदिने अवस्था बनेको बताएका छन्।


Advertisement


‘नेका र एमालेबीचको वार्ता पाँच दलीय गठबन्धनलाई तोड्ने, सभामुखलाई पदबाट हटाउने र हाम्रा पार्टीका १४ जनालाई कारबाही गर्ने, पार्टीको दर्ता खारेज गर्ने तथा प्रधानन्यायाधीशमाथिको महाअभियोग फिर्ता लिनुपर्ने गरी एमसिसी कम्प्याक्ट जस्ताको त्यस्तै अनुमोदन गर्नेतर्फ अग्रसर भयो,’ नेपालले प्रतिवेदनमा भनेका छन्,‘त्यसप्रकारको परिस्थितिबीच पाँच दलीय गठबन्धनमा संलग्न दलहरू वैकल्पिक निकासको खोजीमा लागे। त्यसैक्रममा एमसिसी कम्प्याक्टको सम्झौतासँगै त्यसको व्याख्यात्मक घोषणा गरेर जान सकिने धारणा विकसित भयो।’

आफूहरूले १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसिसी पास गर्ने निर्णय नगरेको भए पार्टीको अस्तित्व नै समाप्त हुने खतरा देखिएको नेपालले उल्लेख गरेका छन्।  

‘हामीले ती वैकल्पिक बाटो रोजेर ती सबै खतरालाई टारेका छौं,’ नेपालको प्रतिवेदनमा भनिएको छ।

नेपालले पाँच दलीय गठबन्धन स्थानीय चुनावसम्म मात्र नभई संघीय चुनावसम्म लैजानु पर्ने आवश्यकता रहेको पनि उल्लेख गरेका छन्।

प्रतिवेदनमा नेपाल एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन्। अहिले प्रतिगमन र दक्षिणपन्थी धारको नेतृत्व ओलीले गरिरहेको र लोकतान्त्रिक, अग्रगमनको धार गठबन्धन भएको उनको दाबी छ।

वैशाख ३० को स्थानीय चुनाव पार्टी जीवनका लागि निकै महत्वपूर्ण भएका सबै ध्यान त्यसमा दिनु पर्ने नेपालले उल्लेख गरेका छन्।

Copy link
Powered by Social Snap