२०८१ बैशाख ११

चुनावमा कांग्रेसको रणनीति- ‘वान बुथ, हन्ड्रेड युथ’

स्थानीय चुनावमा नेपाली कांग्रेसले प्रत्येक बुथमा १०० युवा खटाउने भएको छ।

बुथको सुरक्षाका लागि ‘वान बुथ, हन्ड्रेड युथ’ खटाउने तयारी गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

‘बुथको सुरक्षाका लागि ‘वान बुथ, हन्ड्रेड युथ’ अवधारणा पनि हामी कार्यान्वयन गर्छौं,’ आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले भने।

०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।

भातृ संस्थाहरू परिचालन गरेर मतदाता शिक्षा पनि चलाइने उनले बताए। भातृ तथा शुभेच्छुक संघसंस्थालाई छिट्टै नेतृत्व प्रदान गर्दै सबैलाई यो अभियानमा परिचालन गरिने महतले बताएका छन्।

उनले अब एक महिना ‘घरघर जाऔं कांग्रेस जिताऔं’ अभियान चलाइने बताए। देशैभरका सबै जिल्ला, पालिका र वडा तथा टोलमा अभियान सञ्चालन गरिने उनको भनाइ छ।


Advertisement


‘काम पाएनौं भन्ने अवस्था आउन दिन्नौं’

प्रवक्ता महतका अनुसार पार्टीका सबै सदस्य तथा भातृ एवं शुभेच्छुक संघसंस्थालाई चुनावी अभियानमा परिचालन गरिनेछ।

‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ अवधारणाअनुसार सबैलाई चुनावी अभियानमा जिम्मेवारी दिएर खटाइने उनले बताए।

कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई चुनावी अभियानको ‘कमान्डर’ का रूपमा खटाइसकेको छ। उनले केन्द्रदेखि तल्ला तहसम्म विधानअनुसार पार्टी संरचनालाई पूर्णता दिइने पनि बताए।

‘हामी गाउँ/नगर, वडा र टोलमा कांग्रेस जिताउने अभियान लिएर पुग्छौं,’ उनले भने, ‘आवश्यकताअनुसार घोषणा पत्र बनाउँछौं। हामीले जित्यौं भने यस्तो गर्छौं भन्ने प्रतिवद्धता समेट्छौं।’

स्थानीय आवश्यकताअनुसार घोषणा पत्र बनाइने उनले बताए। ‘हामी कोही सदस्यलाई पनि हामीले काम पाएनौं, पार्टीले जिम्मेवारी नै दिएन भन्ने अवस्था आउन दिन्नौं,’ प्रवक्ता महतले भने। उनले सामाजिक सञ्जालबाट पनि चुनावी प्रचार गरिने बताए।

एमसिसीका भ्रम हटाउन पुस्तिका बाँड्ने

कांग्रेसले एमसिसी परियोजनाबारे कम्युनिष्टहरूले भ्रम छरेको आरोप लगाएको छ। स्थानीय चुनावका लागि गरिएका अभियानका क्रममा गाउँ जाँदा कांग्रेसका नेताहरूले एमसिसी परियोजनाबारे उल्लेख गरिएका विषय समेटिएको पुस्तिकासमेत लैजानेछन्।

‘एमसिसीबारे जनतामा भ्रम छरिएका छन्, हामीले पुस्तिका छापेरै भ्रम चिर्ने काम गर्न खोजेका छौं,’ महतले भने, ‘एमसिसी पास त भइसक्यो तर अझै पनि भ्रमहरू छन्, घरदैलो कार्यक्रम हुँदा एमसिसीबारेका भ्रम हटाउँछौं।’

तालमेलबारे केन्द्रीय समितिले टुंगो लगाउने

अरू दलहरूसँग तालमेल गर्ने वा नगर्नेबारे कांग्रेसले पछि निर्णय गर्ने भएको छ।

चैत २९ सम्म पहिलो चरणको घरदैलो अभियान गर्ने र त्यसपछि बस्ने केन्द्रीय समिति बैठकले गठबन्धन गर्ने वा नगर्नेबारे व्यापक छलफल गरेर सर्वसम्मत निर्णय गरिने उपसभापति पूर्णबहादुर खड्का बताउँछन्।

‘चुनावी तालमेल गर्ने कि नगर्ने अहिले नै भन्न अपरिपक्क हुन्छ,’ उनले भने, ‘अब बस्ने केन्द्रीय समितिमा व्यापक छलफल गरेर सर्वसम्मत निर्णयमा पुग्छौं।’

कांग्रेसले जिल्ला खटाएका केन्द्रीय प्रतिनिधिलाई गठबन्धन गर्ने कि नगर्ने, गठबन्धन गर्दा र नगर्दा पार्टीलाई के फाइदा पुग्छ भन्नेबारे बुझ्न निर्देशनसमेत दिएको छ।

चैत १५ भित्र विधानअनुसार समिति गठन गरिसक्न ‘सर्कुलर’

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चैत १५ भित्र विधानअनुसारका पार्टी संरचना गठन गर्न र गठन गरिएकालाई पूर्णता दिन सर्कुलर पठाएका छन्।

महामन्त्री शर्माका अनुसार विधानअनुसार बन्ने संसदीय समिति, विभागलगायत गठन गर्न पत्राचार गरिसकिएको छ। कांग्रेसमा चुनावका लागि उम्मेदवार तय गर्न संसदीय बोर्ड बनाउने व्यवस्था छ। 

केन्द्रमा कार्यसम्पादन समिति बने पनि संसदीय बोर्ड बन्न बाँकी छ। साथै कांग्रेसले सातै प्रदेश समितिलाई पनि चुनावी अभियानमा सक्रिय बनाउने भएको छ।

रिक्त भातृ संस्थामा छिट्टै नेतृत्व

प्रवक्ता महतका अनुसार नेविसंघ, तरूण दल, महिला संघलगायतको तदर्थ समिति छिट्टै बनाइनेछ। महाधिवेशन गर्ने गरी तदर्थ समिति गठनको तयारी गरिएको हो। भातृ संस्थाका अध्यक्षहरू पार्टी केन्द्रीय सदस्य भएपछि स्वत: पद रिक्त भएको थियो।

Copy link
Powered by Social Snap