२०८० चैत्र १५

राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके एक सेकेन्ड पनि पदमा बस्दिनँ : पर्यटनमन्त्री आले

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् ।


Advertisement


पर्यटन मन्त्रालयमा शुक्रबार आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले मातहतका अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गर्न नसके आफू एक सेकेण्ड पनि पदमा नबस्ने बताएका हुन् । राज्यको दोहन भएको सम्पत्ति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको उनले बताए ।

विगतदेखि नै सरकारी जग्गाहरुमा अतिक्रमण भइरहे पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने मन्त्री आलेको भनाइ थियो । पदमा बसुन्जेल इमान्दारीपूर्वक देशको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री आलेले सरकारी नियुक्ति पाएका कर्मचारीहरुले अन्य व्यक्तिहरुसँग बसेर सेटिङ गरेको भेटिएमा सहृय नहुने चेतावनी पनि दिए ।

‘नारायणहिटी दरबार संग्रहालयको कुरा भो, धर्मशालाको कुरा भयो । मैले भनेको छु साथीहरुलाई पब्लिकको कोर्टमा यो बल गएको छ । यदि यो प्रोपर्टी हामीले रिटर्न ल्याउन सकेनौं भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन । मलाई त्यो नैतिकता पनि छैन । म बस्न पनि सक्दिनँ,’ उनले थपे, ‘राज्यको सम्पत्ति दोहन भएको छ त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो । सचिवजीको हो । सबै मन्त्रालय, सरोकारवाला, पशुपति क्षेत्र विकास कोष सबैको साझा समस्या हो यो । हामी एक्टिभ्ली लागौं ।’

नेपालका क्यासिनोहरुले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए । उनले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए । ‘हामी जे गरिराखेका छौं देशका लागि गरिराखेका छौं । र, आफ्नो दायित्व हामीले पूरा गरिराखेका छौं । हामी सधैं हुने त होइन, जति समय हुन्छौं गरौं न देशको लागि । एउटा परिवर्तन ल्याउँन हामी ।’

मन्त्री आलेले पुँजीगत खर्च वृद्धि गर्नेतर्फ सबैको ध्यान जानुपर्ने बताए । पर्यटन मन्त्रालयको पुँजीगत खर्च न्युन छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिने गरी काम गर्न उनले निर्देशन दिए ।

Copy link
Powered by Social Snap