२०८१ बैशाख ८

आर्मीसँग थ्रीस्टार पराजित

पोखरा — पाँचपल्टको उपाधि विजेता थ्रीस्टार क्लब २० औं आहा–रारा गोल्डकपमा त्रिभुवन आर्मी फुटबल क्लबसँग पराजित हुँदै क्वार्टरफाइनलबाटै बाहिरिएको छ । पोखरा रंगशालामा मंगलबार आर्मीले थ्रीस्टारलाई १–० गोल अन्तरले स्तब्ध बनाउँदै सेमिफाइनलमा मनाङसँगको खेल पक्का गरेको हो ।


Advertisement


आर्मीको जितमा वैकल्पिक फरवार्ड राजीव गुरुङले आकर्षक प्रदर्शन गरे । मिडफिल्डर टंक बस्नेतको स्थाना मैदान प्रवेश गरेको छैठौं मिनेटमै राजीव गोल गर्न सफल भएका थिए ।

निकै प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा टुंगियो । दोस्रो हाफमा मैदान प्रवेश गरेका राजीवले खेलको ७० औं मिनेटमा गोल गरे । आर्मीका जर्जप्रिन्स कार्कीका फ्लिक बल क्लियर गर्ने क्रममा थ्रीस्टारका डिफेन्डर जीवन गुरुङ चिप्लिन पुगे ।

उक्त बल राजीवले कलेक्ट गर्दै गोलरक्षक प्रिसो अघि बढ्दै गरेको अवस्थामा झण्डै ३५ यार्ड टाढाबाट गरेको सिधा प्रहारले सजिलै जाली चुमेको थियो । खेलमा उक्त गोल नै निर्णायक बन्यो । राजीव प्लेयर अफ दी म्याच भए ।

आर्मीले फाइनल प्रवेशको लागि बिहीबार मनाङ मर्स्याङदी क्लबसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार पहिलो सेमिफाइनल खेल एपीएफ र मछिन्द्रबीच हुने छ । आयोजक सहारा क्लबले बुधबारदेखि भने पोखरा रंगशाला फुटबल स्टेडियममा दर्शकका लागि प्रवेश खुला गर्ने भएको छ ।

दर्शकको प्रत्यक्ष खेल अवलोकन गर्ने तीव्र चाहनाको सम्मान गर्दै स्वास्थ्यका मापदण्ड अपनाएर रंगाशालाको एक तिहाई सिटका लागि टिकट बिक्री गरिने क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । क्वार्टरफाइनलका खेलसम्म भने आयोजक, प्रायोजक, अफिसियल र सञ्चारकर्मीलाई मात्रै प्रवेश दिइएको थियो ।

Copy link
Powered by Social Snap