२०८१ बैशाख २७

‘भिजिट भिसा’ दुरुपयोग नगर्न गृहमन्त्री खाँणको आग्रह

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकलाई आग्रह गरेका छन् । गृहमन्त्री खाँणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै उनले भिजिट भिसा दुरुपयोग गरेर पनि नेपालीले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गरे ।


Advertisement


त्यस अवसरमा उनले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरुमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए ।

गृहमन्त्री खाँणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए । उनले वैदेशिक रोजगारीमा गएकाहरु ठगीमा पर्ने गरेको उल्लेख गर्दै उनीहरुको उद्धारमा पनि सरकारले गम्भिरतापूर्वक लाग्नुपर्ने बताए ।

गृहमन्त्री खाँणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरुलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भीर रहेको बताए । उनले भने, ‘भिजिट भिसामा गएकाहरुले त्यहाँ श्रमिकको रुपमा काम गर्न थाले । त्यो पनि समस्या छ । अर्को कामका लागि गएका तर काम नपाएकाहरुको पनि समस्या छ । यस विषयमा श्रममन्त्रीले मन्त्रिपरिषद्‌मा कुरा राख्नु भएको छ । त्यतापट्टि यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भीर छ । भिजिट भिसालाई अन्य प्रयोजनमा दुरुपयोग नगरुन् त्यतापट्टी नै हाम्रो सजगता हो ।’

एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गर्न गृह मन्त्रालय लागेको उनले बताए । ‘पहिलो त हाम्रो अन्तर्राष्ट्रिय विमानस्थल एउटामात्रै छ । त्यो हामी सबैका लागि गेटवे पनि हो । प्रतिष्ठाको विषय पनि हो । त्यसकारण यो एयरपोर्टबाट बाहिर जाने र भित्र आउनेहरुलाई सहजहोस् भन्ने हामी सबैको प्रयत्न हो,’ उनले भने, ‘विभिन्न मन्त्रालयसँग आबद्ध र विभिन्न विभागका राष्ट्र सेवकहरुसँग यो विषयलाई व्यवस्थित बनाउन आवश्यक समन्वय होस् भन्ने हाम्रो मूल मनसाय हो ।’

श्रम स्वीकृति लिएर जानेहरुका लागि पनि सहज वातावरण बनाउने काम सबैको भएको मन्त्री खाँणले उल्लेख गरे ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारमा गएका नेपालीहरुमाथि बिचौलियाहरुले ठगी गरेको उल्लेख गरे । उनले ठगीमा संलग्नलाई कारबाहीका लागि अनुसन्धान गर्न छुट्टै प्रहरी युनिट परिचालनको व्यवस्था गर्न गृहमन्त्री खाँणसँग आग्रह गरे ।

उनले यूएईमा घरेलु कामदार महिलाहरुको समस्या ठूलो रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि पनि गृह मन्त्रालयको सहयोग आवश्यक रहेको बताए ।

Copy link
Powered by Social Snap