२०८० चैत्र १६

सहमतिमा मात्र राष्ट्रियसभा जाने अर्थमन्त्री खतिवडाको सन्देश

Credit: CLICKMANDU

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडा अबको दुईदिन भित्रमा राष्ट्रियसभाको सदस्य नभएमा उनको मन्त्री पद स्वत जाने छ ।

फागुन २१ गते उनले दोस्रो कार्यकालका लागि अर्थमन्त्री पदमा सपथ लिएका थिए । प्रधानमन्त्री ओलीले खतिवडालाई अर्थ सहित संचार मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् ।

नेकपाको सचिवालय बैठकले फागुनदेखि रिक्त भएको पदमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष बामदेव गौतमलाई लग्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले सो निर्णय आफूले नमान्ने त्यो बेला बताएका थिए । अहिलेसम्म प्रधानमन्त्रीले राष्ट्रपति समक्ष राष्ट्रियसभामा कसैको नाम सिफारिस गरेका छैनन् ।

बुधबार प्रधानमन्त्री ओली तथा नेकपा अध्यक्षको बीचमा प्रधानमन्त्रीले आफूलाई अर्थमन्त्रीमा खतिवडा चाहिने बताएका थिए । प्रचण्डले पार्टीले निर्णय गर्नुपर्ने जवाफ दिए ।
फागुनदेखि अहिलेसम्म नेकपामा निकै ठूलो विवाद भयो । पछिल्लो समय बामदेव गौतमले अगाडि सारेको प्रस्ताव अनुसार नेकपामा विवाद साम्य भएको छ ।

अर्थमन्त्री खतिवडाको व्यक्तिगत विचार भने विवाद बढी भएमा आफू राष्ट्रियसभामा नजाने भन्ने छ ।

केही दिन अगाडि अर्थमन्त्रालयमा उनले पार्टीभित्रको विवाद समाधानका लागि आफू नगए हुनेमा त्यसको लागि तयार भएको संकेत गरेका थिए ।


Advertisement


प्रधानमन्त्रीय प्रणालीमा ओलीसँग खतिवडाको नाम सिफारिस गर्ने अधिकार छ । तर पार्टीमा सहमति नभएमा ओली खतिवडालाई निरन्तरता दिने पक्षमा छैनन् । तर बामदेवले मागेको जस्तो उपप्रधान तथा अर्थमन्त्री भने ओलीले बामदेवलाई मनाउने छैनन् ।

नेकपाका नेताहरुका अनुसार बामदेव गौतमको अडानले नै अब अर्थमन्त्री खतिवडाको मन्त्री पदमा निरन्तरता हुने वा नहुने देखिन्छ ।

‘बामदेवजीले अडान लिएमा अर्थमन्त्रीमा युवराज खतिवडाले निरन्तरता पाउने छैनन्, बामदेवजीले अन्तिम समयमा जाँदिन भनेमा युवराजजी नै राष्ट्रिय सभामा जाने र अर्थमन्त्रीमा निरन्तरता हुने छन्,’ नेकपाका एक नेताले भने ।

११ बजे बस्ने भनेको सचिवालय बैठक ३ बजेका लागि सरेको छ । त्यही बैठकले राष्ट्रिय सभाको रिक्त पदमा निर्णय गर्नेछ । बामदेवले पुरानो सहमति अनुसार आफू जानेमा अडान लिएमा बामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय पार्टीको बैठकले गर्ने छ । बामदेवले अडान छाडे युवराज खतिवडा नै निरन्तर हुने छन् ।

Copy link
Powered by Social Snap