२०८१ बैशाख १३

उपत्यकाका १० प्रतिशत व्यवसायी विस्थापित, अधिकांश न्यूरोड र ठमेलका

Credit: CLICKMANDU

काठमाडौं । उपत्यकाबाट १० प्रतिशत व्यवसायी विस्थापित भएका छन् । उपत्यका जिल्ला बाहिरबाट व्यवसाय गर्दै आएका व्यवसायीहरू कोरोनाको कहरमा गृहजिल्ला फर्किएका हुन् ।

लकडाउनका कारण व्यापार व्यवसाय ठप्प भए । साउन महिनाका केही दिन आवतजावत तथा व्यापार व्यवसाय चले पनि हाल उपत्यकामा निषेधाज्ञा लागू भएको छ ।

यसबीच उपत्यकाका जिल्ला बाहिरबाट आएर व्यवसाय गर्ने १० प्रतिशत विस्थापित भएको राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेन कटुवालले बताए ।

‘उपत्यकाका तीन जिल्लामा मात्र करिब २ लाख बढी व्यवसाय थिए । जसमा ८५ प्रतिशत व्यवसाय जिल्ला बाहिरबाट आएका हुन्,’ कटुवालले भने, ‘लकडाउन र निषेधाज्ञाका कारण व्यवसाय सञ्चालन नहुँदा १० प्रतिशत व्यवसायी विस्थापित भइसकेका छन् ।’

उनका अनुसार लकडाउन यता हालसम्म करिब ४० प्रतिशत हाराहारीमा सटर, बिजनेस फ्लाइटहरु खाली भइसकेको बताए । तीमध्ये एउटा मात्रै अर्थात् साना तथा मझौला व्यवसाय गर्ने व्यवसायीहरू विस्थापित भएको उनले जानकारी दिए ।

उपत्यकाका तीन जिल्ला भक्तपुर, ललितपुर र काठमाडौंमध्ये सबैभन्दा बढी व्यवसाय विस्थापित काठमाडौं जिल्लाबाट भएका छन् । त्यसमध्ये पनि न्यूरोड क्षेत्रका ठमेल, महाबौद्ध, इन्द्रचोक, असनलगायतका क्षेत्रका व्यवसायी विस्थापित भएको उनले जानकारी दिए ।

ठमेलबाट मात्रै ७ सय विस्थापित
नेपालको पर्यटकीय ‘हव’ मानिने ठमेल विगतको दिनमा भिडसँगै त्यहाँको रौनक छुट्टै थियो । तर, अहिले ठेलमठेल ठमेल क्षेत्र कोरोनाले सुनसान बनेको छ ।

स्वदेशी तथा विदेशी पर्यटकको भिड हुने ठमेल क्षेत्रमा मात्रै ठूलासाना गरेर करिब १० हजार व्यवसायी छन् । व्यवसाय सञ्चालनमा रहेको क्षेत्र ठमेलमा २२ सय घरधनी रहेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले जानकारी दिए ।

त्यसैगरी, १० हजार व्यापार व्यवसायीहरूले मासिक १५ हजारदेखि ४३ लाखसम्म मासिक भाडा तिर्दै आएको उपाध्यक्ष शर्माले बताए ।

‘ठमेल क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरूले मासिक करिब ४० करोडको हाराहारीमा भाडा तिर्दै आएका थिए,’ शर्माले भने, ‘तर कोरोना कहरमा व्यवसाय बन्द भएसँगै सबै व्यवसायीले भाडा तिर्न सकेका छैनन् ।’

शर्माका अनुसार हालसम्म ७ सय व्यवसायी विस्थापित भइसकेको जानकारी दिए । परिषद्ले ठमेलमा व्यवसाय गर्दै आएको व्यवसायी र घरधनीबीच भाडामा समायोजन गर्दै आएता पनि धेरै व्यवसायी विस्थापित हुने परिषद्ले अनुमान लगाएका छन् ।

‘ठमेलबाट विस्थापित नहुने वातारण सिर्जना गर्नुपर्छ भनेर परिषद्लगायत पर्यटन क्षेत्रमा आवद्ध २५ वटा संघसंस्था मिलेर ५० प्रतिशत छुट दिनुपर्छ भनेर माग गरेको थियो,’ शर्माले भने, ‘आह्वान गरिसकेपछि ठमेललाई माया गर्नेले ७० प्रतिशत घरधनीले भाडा समायोजन गर्यो भने ३० प्रतिशत घरधनीले भाडामा समायोजन गरेको छैन ।’

यसले गर्दा ३० प्रतिशत भाडामा समायोजन नगरेका घर सबै खाली भइसकेको उनले बताए । साथै, घरधनीसँग भाडामा समायोजन भएका केही व्यवसायीले अवस्था सामान्य कहिले हुने हो भन्दै विस्थापित हुन थालेको उनको भनाइ छ ।

जसमध्ये घर भएकाहरुले घरमा आफ्नो सामान ओसार्न थालेका छन् भने घर नभएकाले आफ्नो पायक पर्ने स्थान वा सस्तो भाडामा सटर पाउने ठाउँमा खोजेर सामान अफिस सारेर बसेको उनले बताए ।


Advertisement


ठमेलबाट मात्र ८० हजार बेरोजगार
ठमेलमा खासगरी कार्गो, हस्तकला, रेष्टुराँ, पर्यटकीय स्तरमा होटल, तारे होटल, ट्राभल तथा ट्रेकिङलगायतका व्यवसाय सञ्चालन हुँदै आएको छ । यी क्षेत्रमा कार्यरत अर्थात स्वरोजगार बनेका ८० हजार मानिस प्रत्यक्षरुपमा बेरोजगार भएको परिषद्को अध्ययनले देखाएको छ ।

‘स्वरोजगार र कर्मचारी गरेर ८० हजार मानिसले रोजगारी पाएको अवस्था थियो,’ उनले क्लिकमान्डूसँग भने, ‘२० प्रतिशत उद्योगधन्दामा कार्यरत र ८० प्रतिशत स्वरोजगार थिए । सबै पूर्णरुपमा बेरोजगार बनेका छन् ।’

साथै, ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीले २०२० पर्यटन वर्षका लागि करिब ३० अर्ब लगानी गरेको परिषद्ले जनाएको छ ।

‘२०२० को लागि विभिन्न व्यवसायीहरूले उत्साहका साथ नयाँ संरचना निर्माण गरे कतिपयलाई पुरानोलाई मर्मत गरेको अवस्था थियो । ती व्यवसायी अहिले निकै संकटमा छन्,’ शर्माले भने ।

लकडाउन लम्बिए विस्थापित हुन सक्छः व्यवसायी
यस्तै, लामो समयदेखि व्यापार गर्दै आएका एसके ह्यान्डीक्राफ्टका सञ्चालक शुभराज पाण्डेका अनुसार चैतदेखि अहिलेसम्म पसलको ताल्चा खोल्न नसकेको बताए ।

व्यापार व्यवसाय बन्द भएपछि हालसम्म घरधनीलाई पसलको भाडा दिन नसकेको उनले जानकारी दिए । उनीसँग घरधनीमा भने एक वर्षका लागि ५० प्रतिशत भाडामा छुटको सम्झौता भएको उनको भनाइ छ । तर, यसरी नै अझै ५,६ महिना लकडाउन भयो भने विस्थापित हुन सक्ने बताए । कोरोनाले गर्दा पहिले बाँच र अनि मात्र गर भन्ने अवस्थाले गर्दा निकै मारमा परेको उनले बताए ।

त्यसैगरी, आउटडोर कम्पास सपमा सञ्चालकले पनि कोरोनाका कारण निकै प्रभाव परेको बताए । उनका घरधनीले ३० प्रतिशत मात्र छुट दिएको हुनाले व्यापार नै नभएपछि कसरी भाडा तिर्ने विषय बढी पिरोल्न थालेको उनको भनाइ छ ।

साथै, यस्तै ३,४ महिना अझै यही अवस्था रह्यो भने विस्थापित हुने तयारीमा रहेको बताए । साथै, उनको पसलमा विशेषगरी ट्रेकिङका लागि चाहिने सम्पूर्ण सामानहरू पाउने भएकाले पर्यटन विना व्यवसाय नहुने उनको भनाइ छ ।

Copy link
Powered by Social Snap