२०८१ बैशाख ८

जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन

सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरे, नगरेको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुगमन गरेको छ ।


Advertisement


जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा बिहीवार काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा अनुगमन गरिएको हो। अनुगमन टोलीले बानेश्वर क्षेत्रमा सञ्चालित विभिन्न प्रकारका पसलहरु, होटल, रेष्टुरेन्ट, सपिङ मल लगायत सार्वजनिक सवारी साधनमा समेत अनुगमन गरेको छ। 

अनुगमनका क्रममा सार्वजनिक यातायातका साधनमा सिट क्षमताभन्दा बढी यात्रु राखेको, मास्क सेनिटाइजर नराखिएको पाइएकाले बढी यात्रु नराख्न, मास्क, सेनिटाइजरको अनिवार्य प्रयोग गर्न र सवारी साधनलाई निसंक्रमित पार्नका लागि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए।

‘नियमित रूपमा बजार अनुगमन गर्ने, यातायातका साधनहरु अनुगमन गर्ने, सपिङ मलहरु, होटलहरु, रेष्टुरेन्टहरु आदिको अनुगमन गर्दै जाने र सचेतना फैलाउने क्रममा आज यो बानेश्वर एरियामा आइपुगेका छौँ’, उनले भने, ‘सरसर्ति हेर्दा के देखियो भने बानेश्वर चोकमा केही बसहरूमा अनुगमन गर्दाखेरी सिट क्षमताभन्दा बढी व्यक्तिहरु राखेर हिडाएको पाइयो । सेनिटाइजर राखिएको देखिएन। मास्क पनि राखेको देखिएन । हामीले चालक र सहचालकहरुलाई आफ्नो प्यासेन्जरहरुलाई सिटभन्दा बढी प्यासेन्जर नराख्ने, मास्क अनिवार्य प्रयोग गर्न लगाउने, सेनिटाइजर राखेर गाडीलाई निसंक्रमित गर्ने भन्ने एउटा निर्देशन पनि दियौँ।’

सडकमा मास्क नलगाइ हिँडिरहेका र मास्क नलगाई पसलमा बसिरहेका ८ जनालाई प्रतिव्यक्ति एक सय रुपैँया जरिवाना गरिएको पनि उनले जानकारी दिए।

अनुगमनका क्रममा मानिसहरु पहिलेको तुलनामा कमै मात्र बाहिर निस्किएको पाइएको उनले बताए। 

‘सडकमा हिँडिरहेका व्यक्ति र पसलमा बसिरहेका व्यक्ति ८ जनालाई हामीले एउटा सांकेतिक रुपमा मास्क नलगाएकाहरुलाई प्रतिव्यक्ति एक सय रुपैयाँका दरले जरिवाना पनि गर्‍यौं। बानेश्वर एरियामा सरसर्ति हेर्दाखेरी त्यतिसाह्रै मान्छेहरु निस्किएको देखिएन । पहिलेको तुलनामा कम मात्रामा निस्किएको देखियो । अनुगमनलाई हामीले हिजोबाट सुरु गरेका छौँ,’ उनले भने।

जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई निरन्तरता दिने जनाएको छ। 

कोभिड – १९ को तेस्रो लहरलाई कम गराउन र जनस्वास्थ्यको मापदण्ड पालना गराउन प्रशासन लागि परेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

Copy link
Powered by Social Snap