२०८० चैत्र १६

पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा परेका लोकेश र विवेक को हुन्?

नेपालले आगामी महिना आइसिसी टी-२० विश्वकपका लागि छनोट प्रतियोगिता खेल्दैछ। प्रतियोगिताका लागि नेपालले बिहीबार १६ सदस्यीय टिम घोषणा गरेको छ।

छनोटको समूह विभाजनमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन्।

विश्व छनोट आगामी १५ देखि २५ फेब्रुअरीमा ओमानमा हुनेछ। मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्।

विश्व छनोटका लागि घोषणा गरिएको नेपाली टिममा दुई खेलाडीले पहिलोपटक स्थान पाएका छन्।

पहिलो पटक स्थान पाउने दुवै खेलाडी नेपालको यू-१९ टिमबाट खेलिसकेका खेलाडी हुन्। दुवैले बुधबार सकिएको प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल देखाएर राष्ट्रिय टिमको ढोका खोलेका हुन्।


Advertisement


लोकेश बम 
२० वर्षीय ब्याट्सम्यान लोकेश बमले बुधबार सकिएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरे। लोकेशले त्रिभुवन आर्मी क्लबविरूद्धको दोस्रो सेमिफाइनलमा १४ बलमा अर्धशतक प्रहार गरेका थिए। आक्रामक ब्याटिङ गरेका बम यही वर्ष आर्मी छाड्दै एपिएफ क्लबमा आबद्ध भएका थिए।

सन् २०१९ को पोखरा प्रिमियर लिग (पिपिएल) मा उत्कृष्ट खेले देखाएपछि लोकेश चर्चामा आएका थिए। तर त्यसपछि भने बमले यू-१९ टिम र फ्रेञ्चाइज लिगमा आफ्नो स्वभाविक खेल देखाउन सकेका थिएनन्। दुई वर्षपछि फेरि फर्ममा फर्किदा लोकेशले राष्ट्रिय टिममा स्थान बनाउन सफल भए।

नेपाली क्रिकेटको आसालाग्दा ब्याट्सम्यानको रुपमा उदाएका लोकेशको क्रिकेट यात्रा २०१४ को टी-२० विश्वकप पछि सुरु भयो।

२०१४ को विश्वकपदेखि नेपालको पनि क्रिकेट टिम हुने रहेछ भन्ने थाहा पाए। उनलाई विश्वकपमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र सुवास खकुरेलको खेल साह्रै मन परेको थियो।

डोटीमा जन्मिएर कैलालीको धनगढीमा हुर्किएका बमले बाल्यकालमा टेनिस बलले क्रिकेट खेलेका थिए। उनले क्रिकेट खेलेर देशको प्रतिनिधित्व गर्ने र अनि खेलका लागि विदेश पुग्न सकिन्छ भन्ने कहिल्यै सोचेका थिएनन्। यी भ्रम उनले २०१४ को विश्वकपपछि तोडे र क्रिकेटमा भविष्य बनाउने सपना बुने।

सबैभन्दा पहिला आफ्ना बुबासँग क्रिकेट सिक्ने कुरा बताए। बुबाले क्रिकेट खेल्न रोकेपछि आमासँग गएर अड्डी कसे,’म जसरी पनि क्रिकेट खेल्छु।’ त्यससपछि उनी धनगढी क्रिकेट एकेडेमीमा भर्ना भए।

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट सिक्दा सुरुमा बलिङ गरे। स्थानीय प्रशिक्षकले उनलाई बलिङ भन्दा ब्याटिङ गर्न सुझाए।

तीन वर्षअघि उनी नेपालको यु-१९ टिममा पर्न सफल भए। काठमाडौंमा भएको ट्यालेन्ट हन्टबाट उनी यु-१९ राष्ट्रिय टिममा छानिएका थिए। तर यू-१९ टिममा उनले खासै अवसर पाएनन्। 

युवा टिममा पर्नका लागि संघर्ष गरिरहका उनले पिपिएलमा आफ्नो खेल देखाए। यस वर्षको प्रधानमन्त्री कपमा आफूलाई प्रमाणित गर्दै राष्ट्रिय टिममा स्थान बनाए।

विवेक यादव
१८ वर्षीय अलराउन्डर विवेक यादव गत वर्ष राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परे पनि राष्ट्रिय टिममा अटाएको यो पहिलो पटक हो।

उमेर समूहका प्रतियोगितामा उत्कृष्ट खेलपछि सप्तरीका विवेक प्रदेश २ को  सिनियर टिममा परेका थिए। 

गत वर्षको प्रधानमन्त्री कपमा प्रदेश २ ले खराब प्रदर्शन गरे पनि विवेकले उत्कृष्ट खेल देखाए। उनले गत वर्ष लगातार दुई अर्धशतक प्रहार गरेका थिए।  प्रतियोगितामा उनी उदयीमान खेलाडी घोषित भएका थिए।

त्यसपछि उनी कतार भ्रमणका लागि बन्द प्रशिक्षणमा बोलाइएका थिए। विवेक ओमान भ्रमणअघिको बन्द प्रशिक्षण पनि बोलाइए पनि अन्तिम टिममा भने पर्न सफल भएनन्।

कक्षा ६ मा पढ्ने बेलादेखि क्रिकेट खेल्न थालेका विवेक सप्तारीको विष्णुपुरका हुन्। गाँउमा क्रिकेट खेल्दै यू-१९ टिमबाट खेल्न थालेका उनी सातौं राष्ट्रिय खेलकुदमा पूर्वाञ्चलको सिनियर टिममा परेका थिए। त्यसपछि यू-१६ को प्रशिक्षणमा बोलाए पनि वैकल्पिक खेलाडीमा परेका थिए।

त्यसअघि उनले कक्षा १० मा पढ्दा प्रदेश २ बाट आठौं राष्ट्रिय प्रतियोगिता खेलेका थिए। आठौं राष्ट्रिय खेलेपछि भने उनले नेपालको यू-१९ राष्ट्रिय टिममा अवसर पाएका थिए।

नेपालको यू-१९ टिममा परेपछि सबैको आँखामा परेका विवेकले गत वर्षको प्रधानमन्त्री कप र एभरेस्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजबाट खेल्दै आफ्नो कौशल देखाए।

इपिएलमा स्टार खेलाडीले खराब प्रदर्शन गरिरहँदा विवेकको भने एकनासको प्रदर्शन गर्न सफल भए। अहिले फेरि प्रदेश २ ले राम्रो खेल्न नसके पनि विवेकले भने प्रशिक्षक पुबुदु दसानायकेको मन जित्दै राष्ट्रिय टिमको ढोका खोले।

Copy link
Powered by Social Snap