२०८१ बैशाख ७

देउवा, प्रचण्ड र नेपालबीच तीन तहको निर्वाचन एकैचोटि गर्नेबारे छलफल, भोलि ४ बजे गठबन्धन बैठक

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच तीन तहको निर्वाचन एकैचोटि गर्नेबारे छलफल भएको छ।


Advertisement


प्रधानमन्त्री निवास बालुवाटारमा तीन नेताबीच भएको भेटमा छिट्टै निर्वाचनमा कसरी जाने भन्नेबारे छलफल भएको थियो।

बैठकमा विभिन्न विकल्पबारे छलफल भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताए।

‘प्रतिपक्षले संसद चल्नै दिएको छैन। अदालतमा विचाराधीन मुद्दामा कुरा उठाउन पाइँदैन तर लाजै पचाएर उठाएको छ। कानुनी राज्यको कुनै पनि मान्यतालाई नमान्ने विध्वंसकारी बाटो लिनेबाट बचाउन र जनताबाट सबक सिकाउन पनि चुनाव जरूरी छ,’नेपालले भने,’अब निर्वाचनमा जाने हो भने सबै एकैचोटि गर्ने भन्ने हो। अनेक विकल्प छन्। हामी चुनावमा जानुपर्छ भन्ने निष्कर्षमा पुग्यौं।’

निर्वाचनबारे छलफल गर्न शुक्रबार ४ बजे गठबन्धनको बैठक बोलाइएको छ।

निर्वाचनमा कसरी जाने भन्नेमा छलफल चलिरहेको उनले बताए।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई विगतमा पनि समाप्त पार्न खोजेको र अहिले पनि निकम्मा बनाउन खोजेकोले निर्वाचनमा जान जरूरी रहेको उनले बताए। 

‘उनले पहिले पनि संसदको हत्या गरेका हुन्। हामीले जोगायौं। हामीले कामकाजी बनाउन खोज्यौं। यसलाई जनता र राष्ट्रको समस्याबारे छलफल गर्ने थलोको रूपमा विकास गर्न खोजेका हौं,’नेपालले भने,’केपी ओलीले हत्या गर्न नसके पनि गतिहीन बनाइदिने, चल्नै नदिने ठाउँमा पुर्याइरहेका छन्। प्रतिपक्षको रचनात्मक भूमिका नखेलिकन विध्वंसात्मक भूमिका खेलिरहेका छन्। उनले संसद नै चल्न नदिने हो भने हामी छिटो चुनावमा किन नजाने?’

संसद चल्न नदिने तर भत्ता भने खाने काम भइरहेको भन्दै उनले ओलीलाई संसद नचाहिएको बताए।

‘ध्वंसात्मक प्रतिपक्ष छ। लोकतन्त्रको विरूद्धमा, संविधानको विरूद्धमा चलिरहेको छ भने प्रतिगमनको बाटो लिएको छ भने संसद विघटनको बाटोमा जान्छ। त्यस्तो अवस्थामा छिटो चुनावमा जानुपर्ने हुन्छ,’उनले भने, ‘अब  संसदकै चुनावमा किन नजाने भन्ने प्रश्न उठिसक्यो। प्रधानमन्त्रीले गएर आग्रह गरिसकेपछि पनि चल्न दिइएको छैन। संसद चल्न नदिएपछि भत्ता नलिए पनि हुन्थ्यो नि तर सोर्न मिल्ने सबै गर्ने?’

Copy link
Powered by Social Snap