


कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी रहेका व्यक्तिलाई खोप लगाउन उत्प्रेरित गर्न माघ ७ गतेदेखि सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ।
बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप प्राप्त गरिसकेका व्यक्तिको अभिलेख राख्न र खोप लगाउन बाँकी रहेकालाई खोपका लागि अभिप्रेरित गर्न माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिएको बताए।
Advertisement



खोप लगाएका व्यक्ति कम जोखिमपूर्ण हुने मान्यता अनुसार खोप कार्डलाई आधारको रूपमा लिइएको उनले बताए। कोभिड – १९ विरूद्धको खोप कार्डलाई अनिवार्य गरिने उनले उल्लेख गरे।
‘जहाँसम्म खोप कार्डको विषय छ यो खोप कार्डलाई खोप प्राप्त गरिसकेका व्यक्ति पनि अभिलेखिकृत हुने र खोप प्राप्त गर्न बाँकी व्यक्ति पनि खोप लगाउन उत्प्रेरित गर्ने हिसाबले खोप कार्ड अनिवार्य गरिएको छ’, उनले भने, ‘यो खोप कार्डको माध्यमबाट व्यक्तिको जोखिमलाई मध्यनजर गर्दै खोप लगाइसकेका व्यक्ति जोखिमको हिसाबले कम जोखिमपूर्ण हुने भन्ने मान्यता अनुसार खोप कार्डलाई एउटा आधारको रुपमा लिइएको छ। र खोपलाई प्रमाणित गर्ने हिसाबले पनि, खोप प्राप्त गरेको, नगरेको विषयलाई प्रमाणित गर्ने हिसाबले खोप कार्ड यो सन्दर्भमा अहिले जोडिएर आएको विषय हो।’
अब हरेकले खोप कार्ड आफूसँग सुरक्षित राख्नुपर्ने बेला आएको उनले बताए।
‘अब ७ गते पछाडि खोपकार्ड सबैले अनिवार्य राख्न हामीले भनेका छौं। खोपकार्ड नभएकालाई खोप लिनलाई भनेका छौं। बिस्तारै हामीले यसलाई व्यवहारिक रुपमा परिणत गरेर यसको कार्यान्वयन गर्नमा त्यही ढंगले हामीले आफूलाई परिचालित गरेका छौं। यो अनिवार्य जस्तै हुन्छ,’ उनले भने।

कोभिड–१९ महामारी नियन्त्रणका लागि सार्वजनिकस्थलमा खोप कार्डको अनिवार्यताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।
नेपाल सरकारले गरेको निर्णय र जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेशको पालना नगरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारबाही हुने पनि उनले बताए।
‘नेपाल सरकारले गरेको निर्णय र जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आदेश संक्रामक रोग नियन्त्रणतर्फ जारी भएको आदेश छ। त्यो आदेशको कार्यान्वयनमा बाधा पुर्याउने अथवा आदेशको पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार नै कारबाही हुन्छ,’ उनले भने।
पेलेर जाने भन्ने अर्थमा होइन कि यसलाई अभिप्रेरित गरेको रुपमा बुझ्नुपर्ने उनले बताए। ‘संक्रमणको सन्दर्भमा बिना खोप कतिपय मानिसहरु रहनुभएको पनि होला, कतिपय मानिसहरु खोप लगाएर पनि उहाँहरु सँग कार्ड नभएको अवस्था पनि होला। त्यो सबैलाई व्यवस्थिकरण गर्ने हो र कम्तिमा पनि यो महामारी नियन्त्रणको राष्ट्रिय अभियान छ, अभियानको एउटा पार्ट हो यो’, उनले भने, ‘हामीले अहिले सबैलाई कारबाही नै गर्नुपर्छ, सबैलाई सजाय नै गर्नुपर्छ भन्ने अर्थमा पनि बुझेका हैनौं। कम्तिमा पनि सार्वजनिक सेवा प्रवाहमा यो एउटा महत्वपूर्ण पार्ट हो है भन्ने ढंगले हामीले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ।’
उनले भीडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि सबैलाई आग्रह गरे। अत्यावश्यक काममा जानुपरेमा जनस्वास्थ्यको मापदण्डलाई पूर्ण रूपमा पालना गरेर मात्रै गर्नुपर्ने उनले बताए।





