२०८१ बैशाख ८

मोजाको ब्रान्ड बनाउँदै सोनाम, भन्छन्ः पहिले खिल्ली उडाउनेहरू अहिले प्रशंसा गर्छन्

आजकालको फेसन हो, अलिकति छोटो प्यान्टमा मोजा देखाएर जुत्ता लाउनु। विशेषगरी युवा पुस्ताको रोजाइ। तर भनेजस्तो राम्रो र स्टाइलिस मोजा हत्तपत्त पाइँदैन। विदेशबाट ल्याइएका मोजाले धेरै नेपाली युवाको मन जित्दैन। 

२५ वर्षीय सोनाम शेर्पालाई पनि यही कुराले मन खुचखुच भइरहेको थियो। 


Advertisement


‘अचेल मोजा देखाएर लगाउने ट्रेन्ड छ। युवा पुस्ताले त मोजा देखाउनकै लागि लुगाको स्टाइल मिलाएको पाइन्छ,’ सोनाम फेसन ट्रेन्डबारे भन्छन्, ‘विदेशतिर यो पहिल्यैदेखिको फेसन हो। नेपालमा भर्खरै भित्रिँदैछ।’

फेसनअनुसार चल्न मन भइसक्यो, तर त्यहीअनुसार डिजाइनका मोजा नपाइने, पाए पनि गुणस्तरीय नहुने!

सोनामले बजार र उपभोक्ताको यही समस्या केलाए। समस्या केलाएर मात्र सल्टिँदैन, पहल गर्नुपर्छ भन्ठाने। अनि २०७६ असोजदेखि उनले मोजाको नेपाली ब्रान्ड नै सुरू गरे। 

त्यही ब्रान्ड हो ‘मोजा-सक्स’। 

ठेट नेपाली शब्दले मौलिकता झल्काउँछ। विदेशी ग्राहकलाई पनि बुझ्न सहज होस् भनेर उनले ब्रान्ड नाम मोजा-सक्स राखेका हुन्।  

‘बजारमा थुप्रै ब्रान्डका वा सामान्य मोजा पाइन्छन् तर नेपाली ब्रान्डको हत्तपत्त पाइँदैन। झन् मोजा मात्र उत्पादन गर्ने ब्रान्ड बिरलै होलान्,’ सोनामले भने, ‘त्यसैले मैले यसैलाई व्यवसाय बनाउने सोचेँ। अहिले मोजा-सक्सले सोचेभन्दा राम्रो बजार पाएको छ। विशेषगरी युवा पुस्तामाझ हाम्रो ब्रान्ड लोकप्रिय छ।’

मोजा-सक्सले जुनसुकै यामका लागि विभिन्न स्टाइल र डिजाइनमा मोजा बनाउँछ। केटाकेटीलाई हुने आकार र डिजाइनका पनि पाइन्छन्। सोनामका अनुसार सबभन्दा बढी मोजा महिला ग्राहकले रूचाएका छन्।

‘हाम्रो मोजा डिजाइन र गुणस्तरका कारण रूचाइएको छ,’ उनी दावी गर्दै भन्छन्, ‘रंगीन, डिजाइनले भरिपूर्ण मोजा धेरै बिक्छ। त्यसमा पनि एनिमी र कार्टुन भएको, कुकुर-बिरालो र अन्य जनावरको प्रिन्ट भएको, बन्दना डिजाइनलगायतले राम्रो बजार पाएको छ।’

सोनाम पहिलेदेखि व्यवसाय नै गर्छु भन्नेमा पक्का भएका युवा होइनन्। सिन्धुपाल्चोक घर भएका उनी कक्षा पाँचदेखि पढ्न भनेर बुवासँग काठमाडौं आएका थिए। पछि उनको परिवारै यतै बस्यो।

जेभियर इन्टरनेसनलबाट व्यवस्थापन संकायमा प्लस-टु सकेपछि सोनाम अस्ट्रेलिया जाने सोचमा थिए। विभिन्न कारणले यो कुरा सोचमै सीमित भयो। त्यसैले प्लसटु सकेलगत्तै, २०७४ सालमा उनी एक आयात-निर्यात कम्पनीमा जागिर खान थाले। जागिरसँगै स्नातक पढ्न भर्ना भएका थिए। तर काम र पढाइ सँगै लान सकेनन्।

‘जागिर थालेपछि यसैमा घुलमिलिएँ। एकदिन काम र पढाइमध्ये एउटा रोज्नुपर्ने अवस्था आइपर्‍यो, मैले काम रोजेँ,’ उनी भन्छन्।

केही समय कामको अनुभव भएपछि सोनामलाई आफैं व्यवसाय गर्न सक्छु भन्ने लाग्न थाल्यो। मोजाको आइडिया फुरिसकेको थियो। एक महिनाजति बजार अध्ययन गरेपछि नपाली ब्रान्डको मोजा नै उत्पादन गर्ने निधो गरे।

उनले आफ्नो आइडिया घर-परिवार र केही साथीलाई सुनाए। त्यस बेला धेरैले यो कुरा मनपराएनन्।

‘केही साथीभाइले त मजाक बनाएर हाँसे। घरमा पनि मोजा बनाउने कुरा खास मनपराउनु भएन, खल्लो मान्नुभयो,’ उनले भने।

सोनामलाई उनकी कलेज पढ्दादेखिकी साथी ममता मगरले भने सहयोग गरिन्। 

कपडा र फेसन दुवैमा पर्ने मोजा जे-जस्तो भए पनि उति वास्ता नगरिने उनले देखेका थिए। तर मनमा यसले बजार लिन्छ भन्ने आश थियो।

त्यही आश बोकेर उनले सुरूमा मोजाका लागि पाँचवटा डिजाइन तयार पारे। तीनै डिजाइनमा चीनको एक कारखानाबाट मोजा प्रिन्ट गराए। चीनको कारखानासम्म पुग्न उनलाई पहिलेको कामको सम्बन्धले मद्दत मिल्यो।

जम्मा बीस हजार लगानी गरेर सोनामले आफ्नो डिजाइनमा बनेका मोजा सामाजिक सञ्जालमा बिक्रीका लागि राखे। नाम दिए मोजा-सक्स।

चिनेजानेका साथीहरूको मद्दतमा चल्तीका डिजाइनका मोजा पाइने पाइने मोजा-सक्स फैलिँदै गयो। त्यसमध्ये केही सेलिब्रेटी र सामाजिक सञ्जालमा धेरै फलोअर्स भएका व्यक्ति पनि थिए। उनीहरूको सहयोगले ब्रान्ड विस्तारमा इँटा थपेको उनी बताउँछन्।

ब्रान्ड विस्तार हुँदै गर्दा उनले मोजा प्रिन्ट गर्न भारत पनि पठाउन थाले। आठ महिनायता त्यहीँ काम भइरहेको छ। नेपालमा भने सादा मोजा मात्र उत्पादन हुन्छ।

‘यहाँको कारखानाबाट ‍उत्पादन गर्दा आकार र कपडा गुणस्तरमा समस्या देखियो,’ सोनामले भारत र चीनमा प्रिन्ट गर्नुको कारण खुलाए, ‘त्यसैले बुट्टा र अन्य डिजाइनदार मोजा उतै पठाउनु पर्‍यो। यहाँ सादा मात्र बन्छ।’

मोजा-सक्सले महिनामा तीनदेखि चार हजार जोडी मोजा बेचिरहेको छ। यहाँ एक सयदेखि एक हजार रूपैयाँसम्मका मोजा पाइन्छन्। केही ग्राहकले महँगो भएको गुनासो गर्छन्। तर मोजा हेरे-लाएपछि सन्तुष्ट भएको प्रतिक्रिया दिने सोनाम बताउँछन्। 

अनलाइनबाटै बिक्री हुने मोजा-सक्सको केही समययता ठमेलस्थित छाया कम्प्लेक्स र पोखराको हलन चोकमा टेबल सप (सानो पसल) राखिएको छ। सोनामले चाँडै पसलै खोल्ने योजना पनि बुनेका छन्।

मोजा-सक्समा सोनामबाहेक आठ जना कर्मचारी छन्। उनीहरूमध्ये दुई जनाले सोनामलाई डिजाइनको काममा मद्दत गर्छन्।

उनका अनुसार मोजा-सक्सका उत्पादन अहिले काठमाडौं उपत्यका र पोखरा, चितवन, बुटवल, भैरहवा, इटहरी लगायत जिल्लामा पुगिरहेको छ। त्यस्तै अस्ट्रेलिया र अमेरिकाबाट पनि माग आउँछ। सन् २०२२ मा मोजा-सक्सलाई विदेशमा रहेका ग्राहकमाझ थप विस्तार सोच छ।

भविष्यमा आफैं कारखाना सञ्चालन गर्ने योजना बुनेका सोनाम यति बेला भने मोजा-सक्सको ब्रान्डिङमै जोड दिइरहेका छन्।

उनी भन्छन्, ‘हामीकहाँ हरेक व्यवसायको बजार छ। प्रतिस्पर्धा नहुने होइन, तर यो ठूलो कुरा होइन। ठूलो कुरा त व्यवसायमा स्थिरता हो। यो नभए केहीले बजार लिँदैन।’

त्यस्तै उनी कुनै काम वा व्यवसाय सानो-ठूलो हुँदैन भन्ने मान्यतामा अडिग छन्। यही अडानका कारण आफू सफल हुँदै गइरहेको अनुभव उनलाई हुन्छ। 

‘अहिले परिवार पनि खुसी हुनुहुन्छ,’ उनले भने, ‘कुनै समय मेरो कामको मजाक बनाउने, खिल्ली उडाउनेहरू अहिले प्रशंसा गर्छन्।’

विशेषगरी त ग्राहकको प्रतिक्रियाले कामलाई निरन्तरता दिन सोनामलाई हौस्याइरहेको छ। त्यसैले उनलाई विदेश जान नपाएकोमा ठिकै भएछ भन्ने लाग्छ, उनी भन्छन्, ‘विदेश गएको भए म अहिले जुन स्थानमा छु, त्यहाँ हुन्थिनँ।’

Copy link
Powered by Social Snap