२०८१ बैशाख ८

अन्तिम चरणमा लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरूयोजना

दाङको भालुबाङमा निर्माण हुने लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरूयोजनालाई अन्तिम रूप दिने काम भइरहेको छ।

गुरूयोजना निर्माणको लागि जिम्मेवारी दिइएको परामर्शदाताले माघको दोस्रो सातासम्म गुरूयोजना पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी गरेको छ।


Advertisement


परामर्शदाता सितारा इकोर्ड टेक्नोक्याक्ट्रले ७९ लाखको लागतमा गुरूयोजना बनाउने कामको जिम्मेवारी लिएको थियो।

सोही अनुसार दाङको गढवा र राप्ती गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई समेटेर गुरूयोजना निर्माणको काम भइरहेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका सहायक पाँचौं लोकबहादुर केसीले जानकारी दिए।

गुरूयोजना अनुसार सिसहनियाँ-मौरीघाटलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मन्त्रालयहरू, विभिन्न प्रशासनिक क्षेत्र र भिआइपीहरूको आवास क्षेत्र प्रस्ताव गरिएको छ।

गढवा १ र शीतगंगा नगरपालिकाका क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने प्रस्ताव गरिएको छ भने गढवा गाउँपालिका र राप्तीको तल्लो क्षेत्रलाई कृषि र केही संस्थागत क्षेत्र गराउन सकिने गुरूयोजनामा प्रस्ताव गरिएको छ।

त्यस्तै, राप्ती गाउँपालिकाको सिसहनियाँमा प्रथम व्यापारिक केन्द्र र पाखापानीदेखि मौरीघाटसम्मको क्षेत्रलाई दोस्रो व्यापारिक केन्द्र बनाउने गुरूयोजनामा प्रस्ताव गरिएको छ। सिसहनियाँदेखि पहरुवासम्म साँस्कृतिक क्षेत्र बनाउन सकिने गुरूयोजनामा प्रस्ताव गरिएको छ।

त्यस्तै, राप्ती धानपुर किनारनजिकै पूर्वतर्फ विमानस्थल बनाउने प्रस्ताव पनि गुरूयोजनामा परेको छ।

राजधानी सहरको बाहिरी घेरामा चक्रपथको परिकल्पना गरिएको छ। जसमा भालुबाङ, पाखापानी, मौरीघाट, प्रशासनिक क्षेत्र हुँदै गढवा र लोपे हुँदै प्युठान सडकलाई जोड्ने गरी चक्रपथ प्रस्ताव गरिएको छ।

यस्तै, गढवा गाउँपालिकाको क्षेत्रलाई जोड्ने गरी राप्ती नदीमा ‘सिग्नेचर ब्रिज’ बनाउने पनि गुरूयोजनामा प्रस्ताव गरिएको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ।

त्यस्तै, भालुबाङको पुलबाट दक्षिणतर्फ राप्ती नदीका दुवै किनारमा तटबन्ध गरी दुवैतर्फ एक/एक सय मिटर चौडा सडक, नदी किनारमा बहुतल्ले भवनहरूको खाकाका साथै प्रशासनिक क्षेत्र तोकेको स्थानमा बुद्ध आकृति देखिने गरी नक्सा बनाउने भनिएको छ।

गुरूयोजनामा राप्ती गाउँपालिकाको वडा नम्बर २ लाई मुख्य केन्द्र मानेर भालुबाङदेखि सिसहनियाँ हुँदै ३ किलोमिटर दक्षिणसम्म स्थायी राजधानीका लागि पूर्वाधार बनाइने प्रस्ताव गरिएको छ।

२०७७ साल असोज २० गते प्रदेश सभा बैठकले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिकाको वडानम्बर १, २ र ३ तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ लाई राप्ती उपत्यका नामकरण गरी लुम्बिनी प्रदेशको स्थायी राजधानी घोषणा गरेको थियो।

राजधानी घोषणा गरिएलगत्तै गुरूयोजना निर्माणको काम सुरू गरिए पनि १६ महिनापछि गुरूयोजनाले अन्तिम रूप लिन लागेको हो।

तयार भइरहेको गुरूयोजनामा एक पटक छलफल गरी अन्तिम रूप दिएपछि मात्रै कार्यान्वयनमा लैजाने प्रदेश पूर्वाधार विकास प्राधिकरणले जनाएको छ।

प्रदेश सरकारले गुरूयोजना निर्माणको काम अन्तिम चरणमा पुगिरहँदा स्थायी राजधानीका लागि पूर्वाधार निर्माण गर्न संघीय सरकारसँग ३ अर्ब रुपैयाँ माग गरेको थियो।

जसमध्ये गत महिना एक अर्ब रुपैयाँको स्रोत सुनिश्चितता समेत पाइसकिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले जानकारी दिए।

सरकारका प्रवक्ता शर्माले संघीय सरकारबाट प्राप्त रकमबाट पहिलो चरणमा सिसहनियाँसम्म मात्र पूर्वाधार बनाइने बताए।

प्रवक्ता शर्माले सरकारले स्थायी राजधानी तोकिएको स्थानको जग्गा सरकारका नाममा ल्याउने प्रक्रिया अगाडि बढाइएको र गुरूयोजना पास हुनासाथ संरचना निर्माणको काम सुरू गर्ने बताए।

मन्त्री शर्माका अनुसार गुरूयोजना पास हुनासाथ डिपिआरको काम अघि बढाउने र त्यसको लागि प्रदेश सरकारले ३ करोड रुपैयाँ छुट्याइसकेको छ।

प्रदेश सरकारले लालमटियामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अन्यत्र स्थानान्तरण गरी शिक्षालय रहेको स्थानमा स्थायी राजधानीको संरचना निर्माण गर्ने निर्णय गरिसकेको छ।

सोही अनुसार शिक्षालयलाई हाल रहेको स्थानबाट गढवाको गोवरडिहास्थित सरस्वती माध्यमिक विद्यालयको जग्गामा लैजाने निर्णय समेत यसअघि नै गरिसकेको थियो।

Copy link
Powered by Social Snap