२०८१ बैशाख १५

भारतमा छेकियो मोदीको बाटो, कार्यक्रममा नगई फर्किए बीचबाटै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार एउटा कार्यक्रममा जाने बाटो नपाएपछि फर्किएका छन्।

समाचार पत्र द हिन्दुका अनुसार मोदी बुधबार पन्जाब राज्यमा गएका थिए। केही महिनापछि विधान सभा चुनाव हुन लागेको पन्जाबको राष्ट्रिय शहिद मेमोरियल जान लाग्दा उनलाई अवरोध भएको हो।


Advertisement


मोदी बुधबार बिहान बाथिन्डा विमानस्थलमा पुगेका थिए। त्यहाँबाट उनी हेलिकप्टरमा राष्ट्रिय शहिद मेमोरियल जाने कार्यक्रम थियो। मौसम खराब भएपछि हेलिकप्टर उड्न सकेन। मौसम खुल्ने आशमा मोदी २० मिनेट जति कुरे। तैपनि मौसममा सुधार नभएपछि उनले झन्डै दुई घन्टाको सडक मार्गबाट जाने निर्णय गरे।

गन्तब्यमा पुग्न झन्डै ३० किलोमिटर बाँकी रहँदा भने मोदीको सवारी अघि बढ्न सकेन। मोदी भ्रमणको विरोध गरिरहेका किसानहरूले आन्दोलन गरेर सडक बन्द गरेका थिए।

मोदीको सवारी १५-२० मिनेट त्यहाँ रोकियो तर बाटो खुल्ने अवस्था नभएपछि उनी कार्यक्रम रद्द गरेर फर्किए।

पन्जाबका किसानले मोदी सरकारले ल्याएका कृषिसम्बन्धी तीन वटा कानुनको चर्को विरोध र आन्दोलन गरेका थिए।

उनीहरूले नै आज मोदीको बाटो रोकेका हुन्।

भारतको केन्द्रीय सरकारले भने मोदीको सुरक्षामा पन्जाब प्रदेश सरकारले हेलचक्र्याइँ गरेको भन्दै घटनाको विस्तृत विवरण मागेको छ।

मोदीले सडकबाट यात्रा गर्न लागेकोबारे प्रोटोकलअनुसार सबै जानकारी दिँदा पनि बाटोको अवरोध हटाउन नसकेको भन्दै केन्द्रीय गृह मन्त्रालयले प्रदेश सरकारसँग असन्तुष्टि पोखेको हो।

पन्जाब कंग्रेस आई नेतृत्वको सरकार छ। मोदी पूर्वनिर्धारित कार्यक्रममा जान नसकेर फर्किएपछि अहिले यो विषयले भारत चर्चा पाएको छ। 

सत्तारूढ भारतीय जनता पार्टीका नेताहरूले प्रदेश सरकार चलाइरहेको कंग्रेस आईको आलोचना गरेका छन्। 

Copy link
Powered by Social Snap