२०८१ बैशाख १५

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपिएफको लगातार दोस्रो जित

धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली एपिएफले लगातार दोस्रो जित हात पारेको छ। 

बुधबार सुदूरपश्चिम प्रदेशलाई ८९ रनको फराकिलो अन्तरले हराउँदै एपिएफले लगातार दोस्रो जित निकालेको हो।


Advertisement


पहिले ब्याटिङ गर्दै एपिएफले दिएको १२९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १४ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो।

सुदूरपश्चिमका लागि रूवी पौदार र कप्तान ऋतु कनौजियाले समान १०-१० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अतिरिक्तबाट सुदूरपश्चिमले ७ रन पाएको थियो। 

सुदूरपश्चिमलाई सस्तैमा समेट्न करूणा भण्डारीले सर्वाधिक ४ विकेट लिइन्।  ४ ओभर बलिङ गरेकी भण्डारीले ७ रन खर्चिएर ४ विकेट हात पारिन्।

यस्तै सोनु खड्का, रेखा रावल, सुमन विष्ट र कप्तान सीता रानामगरले एक-एक विकेट हात पार्दा दुई विकेट रन आउटका रूपमा प्राप्त भयो।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२८ रन बनाएको थियो ।

एएिफका लागि इन्दु वर्माले सर्वाधिक ३३ रनको योगदान दिइन्। राजमती ऐरीले १९ र सरिता मगरले १८ रन जोडे। रोमा थापाले १६ रन बनाउँदा ममता चौधरीले १४ रन जोडिन्।

सुदूरपश्चिमका लागि रितु कनौजियाले सर्वाधिक ३ विकेट लिइन्। कविता जोशी र दिपा जोराले दुई/दुई विकेट हात पारेका थिए। 

यो जितसँगै एपिएफले २ खेलमा ४ अंक जोड्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। पराजित सुदूरपश्चिमको समान खेलबाट २ अंक छ।

Copy link
Powered by Social Snap