२०८० चैत्र १५

माओवादीले शान्ति प्रक्रियामा आएपछिको पार्टीको अवस्था समीक्षा गर्ने

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले प्रथम राष्ट्रिय सम्मेलनमा २०६४ सालमा शान्ति प्रक्रियामा आएपछिको पार्टीको अवस्थाको समीक्षा गर्ने भएको छ । १० वर्ष सशस्त्र संघर्ष गरेको माओवादी २०६३ सालमा शान्ति प्रक्रियामार्फत मूलधारको राजनीतिमा सहभागी भएको थियो । 

संसदीय निर्वाचन हुँदै माओवादी सत्ता राजनीतिमा लागेको थियो । पहिलो राष्ट्रिय सम्मेलनमा यो बीचमा देखिएका उपलब्धि र समस्याको समीक्षा गरेर आगामी योजना तय गरिने माओवादीका प्रवक्ता कृष्णबहादुर महराले बताएका छन् ।


Advertisement


माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी शान्तिपूर्ण राजनीतिमा आएपछिको अवस्थाको समग्र समीक्षा गर्दै आगामी कार्ययोजना समेटेर राजनीतिक प्रतिवेदन लेख्नमा लागेको पनि प्रवक्ता महराले जानकारी दिए । शान्ति प्रक्रियामा आएपछि संसद् (संविधानसभा)मा ठूलो दल बनेको माओवादी अहिले तेस्रो दलमा सीमित छ । यो अवस्थामा पार्टी कसरी पुग्यो भन्नेबारे समीक्षा हुने माओवादीले जनाएको छ ।

‘हामी २०६४ सालमा सबभन्दा ठूलो पार्टी थियौं । २०७० पछि हामी लगभग १० वर्ष जति सानो पार्टी भयौँ । र, सानो पार्टी हुँदा, अरु पार्टीसँग सहकार्य गर्दा र संसदीय अभ्यासमा हामीले भोगेका चिजहरूलाई गम्भीर रुपले समीक्षा गर्छौं,’ राष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी दिन बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा महराले भने, ‘हामी ६४ सालमा सबभन्दा ठुलो पार्टी किन भयौँ ? त्यसपछि हामी किन साना भयौं ? हामीले के गर्नुपर्छ ? भन्ने विषयमा केन्द्रित भएर बहस थाल्ने सोचेका छौं । हामीले क्रान्तिकारी बाटोमा केही अवरोधहरूसँग लड्ने बेलामा केही कमि, कमजोरी गर्‍यौं कि भन्ने समीक्षासहित राष्ट्रिय सम्मेलनमा बहस गर्ने पक्षमा छौं ।’

माओवादीले मार्क्सवाद, लेनिनवाद, माओवादलाई राजनीतिक सिद्धान्त मान्दै आएको छ भने संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता रहेको भन्दै आएको छ । तर यसबाट पार्टी नेतृत्व र नेताहरू विचलित भएको पार्टीभित्र नै आवाज उठ्ने गरेको छ । यसबारे पनि समीक्षा हुने महराले बताए ।

‘कतै सिद्धान्तबाट विचलित त भएनौँ भन्नेमा पनि हामी समीक्षा गर्छौ‌ं । त्यसकारण पार्टी निर्माणमा केन्द्रीकृत अभिव्यक्ति दिने, एकतावद्ध हुने, क्रान्तिको बाँकी कार्यभारलाई सम्पन्न गर्ने तर परम्परागत ढंगले क्रान्ति होइन, नयाँ ढंगले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने, नेपाली जनताको रुपान्तरणको सपनालाई पुरा गर्ने कुरामा केन्द्रीत छौँ । त्यो ढंगको पार्टी कसरी बनाउन सकिन्छ, त्यो विषयमा हामी केन्द्रीत रहेर छलफल, बहस गर्नेछौँ,’ उनले भने ।

माओवादीले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ । महराले राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी दिएका छन् । सम्मेलनमा १ हजार ५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ । राष्ट्रिय सम्मेलनमा ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण’ का लागि बहस हुने माओवादीले जनाएको छ ।

Copy link
Powered by Social Snap