२०८१ बैशाख ८

कोइरालाविरुद्ध देउवा, सिंह, निधि र गुरुङ एकढिक्का

अब कांग्रेस सभापतिका लागि देउवा र अर्का प्रत्यासी शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणमा अर्का प्रत्याशी कल्याण गुरुङले पनि देउवालाई नै समर्थन गरेका छन् । कोइरालाविरुद्ध देउवा, सिंह, निधि र गुरुङ एकढिक्का भएका हुन् ।


Advertisement


पहिलो चरणको निर्वाचनमा देउवा र कोइरालाले सबैभन्दा धेरै भोट पाएका थिए । पहिलो चरणमा ४ हजार ७४३ महाधिवेशन प्रतिनधिमध्ये ४ हजार ६७९ मत खसेको थियो । त्यसमध्ये ७६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । खसेको मतमध्ये देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएका थिए । देउवा र कोइरालाबीचको मतान्तर ५५६ रहेको छ ।

दोस्रो चरणमा सिंह, निधि र गुरुङले पनि देउवालाई नै समर्थन गरेपछि कोइरालामाथि दबाब परेको छ । पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत पाएका छन् ।

आफूविरुद्ध बाँकी सबै उम्मेदवार एकताबद्ध भएपछि कोइरालाले आफूनिकट नेताहरूलाई बोलाएर रणनीतिक छलफल थालेका छन् । मंगलबार बिहान सिंह र निधिसँग आफूलाई समर्थन गर्न आग्रह गरेका कोइरालाले त्यसलगत्तै अबको चुनावी रणनीतिबारे निकटका नेताहरूसँग छलफल गरेका छन् । कोइरालाले उच्च मनोबलका साथ चुनावमा जाने तयारी गरेको एक नेताले बताए । ‘हामीले उठाएको एजेन्डा परिवर्तनका लागि हो, त्यहीकारण हामीविरुद्ध सबै जना एक भएका छन्, यसको मतलब हामी कमजोर छैनौँ, बरु झन् बलियो भएका छौँ,’ आफूनिकटहरूसँग कोइरालाले भनेको उदृत गर्दै एक नेताले भने, ‘हामी उच्च मनोबलका साथ चुनावमै जान्छौँ ।’ ती नेताले कोइरालाले पुनः प्रतिस्पर्धा गर्ने तयारी गरिरहेको जानकारी दिए ।

केन्द्रीय निर्वाचन समितिले मंगलबार दिउँसो ३:३० बजेदेखि देखि ७:३० सम्म मतदान हुने कार्यक्रम तोकेको छ । अब देउवा र कोइरालाबीच सहमति नभएको अवस्थामा समितिले निर्वाचन कार्यक्रम अघि बढाउनेछ ।

कांग्रेसले यो महाधिवेधशनमा सभापतिसहित १३४ पदमा निर्वाचन गरेको छ । सभापतिबाहेकका पदका लागि मतदान भइसकेको छ, सभापतिको परिणाम आइसकेपछि बाँकी पदको मतगणना गर्ने तयारी रहेको छ । मतपेटिकाहरू गएराति नै ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा पुर्‍याएर शिलबन्दी गरी राखिएका छन् । सभापति बाहेकका पदको गणना पनि केन्द्रीय कार्यालयमै हुनेछ ।

Copy link
Powered by Social Snap