२०७९ जेष्ठ ३
Advertisement

Advertisement

२३ वर्षीया सृष्टिले सिंगापुरमा सिकेको सीपलाई नेपाल आएर बनाइन् व्यवसाय

सृष्टि शेरचन

इम्ब्रोइडरी अर्थात् सादा कपडामा सियो र धागोको सहयोगमा हातैले बुट्टा भर्ने कला। 

यो कला संसारका जुनैकुनामा चर्चित छ। यसको सुरूआत कहाँ र कसरी सुरू भयो भन्नेबारे स्पष्ट जानकारी भने छैन। इतिहासमा इम्ब्रोइडरी तेह्रौं शताब्दीतिर चीनमा भेटिएको रेकर्ड छ। 

त्यो बेलादेखि अभ्यास गरिएको इम्ब्रोइडेरी अझै पनि हस्तकला क्षेत्रमा विशेष मानिन्छ। विश्व बजारमा यो काम र कलालाई कदर गरिन्छ र यसका लागि मानिसहरू पैसा खर्चिन पनि तयार हुन्छन्।


Advertisement


यो कलालाई आगामी पुस्तासम्म अगाडि बढाउन विदेशमा कतिपय विद्यालयले इम्ब्रोइडरीलाई पाठ्यक्रममै राखेका छन्। यही इम्ब्रोइडरीलाई नेपालमा नयाँ पुस्ताकी सृष्टि शेरचनले ‘हातको कला’ बाट चिनाइरहेकी छिन्। 

२३ वर्षीया सृष्टिलाई पनि यसको मोह भने विदेश हुँदै पलाएको हो। परिवारसँग सिंगापुर पुगेकी उनी त्यहीँ बसेर पढ्थिन्। उनको विद्यालयले केटाकेटीदेखि नै इम्ब्रोइडरी सिकाउँथ्यो। साना कपडामा आफ्नो नाम वा फूल, पुतली बुट्टा भर्न उनी निकै रमाउँथिन्। विद्यालयमा सिकेको सीप घरमा आएर उतार्थिन्।

‘मलाई सानैदेखि कलाप्रति रूचि र आकर्षण थियो,’ सृष्टिले भनिन्, ‘पछि गएर आफ्नै आर्ट स्पेस खोल्ने सपना थियो, जुन अहिले हातको कलाबाट पूरा गर्दैछु।’

सृष्टिको जन्म बुटवलमा भएको हो। उनका बुबा गकुल शेरचन सिंगापुर प्रहरीमा जागिरे थिए। सिंगापुरको कला संस्कृतिमा हुर्किएकी सृष्टि विदाका बेला मात्र नेपाल आउँथिन्। बुबाको जागिर सकिएपछि सृष्टिहरू परिवारै सन् २०१९ मा नेपाल फर्किए। फर्किएको केही समयमै लकडाउन भयो। 

यहाँ धेरै समय नबिताएकी र घुलमिल हुन नपाएकी सृष्टि लकडाउनमा आत्तिएकी थिइन्। त्यसैले सुरूका दिनमा उनी आफ्नो कोठामै थुनिएर बस्थिन्। यस्तो समयमा उनलाई साथ दिने इम्ब्रोइडरी भयो। 

‘इम्ब्रोइडरी गर्दा मलाई मेरा सिंगापुरका साथीहरूको याद आउँथ्यो। यसले मेरा स्कुले दिनका समय पुनः जीवित हुन्थ्यो र म त्यहीँ सम्झनामा रमाउँथेँ,’ उनी भन्छिन्, ‘म नेपालमा फिट हुन्नँ जस्तो लाग्थ्यो। तर जब मैले मेरो इम्ब्रोइडरीको काम हजुरआमालाई देखाएँ, उहाँ आफूले पहिलेपहिले सिरानीमा यस्तै बुट्टा बनाउने गरेको कुरा सुनाउनुभयो। अनि बल्ल आफूपनि यहीँको संस्कृतिको हुँ भन्ने महसुस भयो।’

उनले इम्ब्रोइडरी गर्ने रहरलाई व्यवसायका रूपमा लैजाने कहिल्यै सोचेकी थिइनन्। हातको कला व्यवसायको आइडिया सुरूमा उनका बुबाको सीपबाट फुरेको उनले बताइन्। 

सृष्टिका अनुसार लकडाउनमा उनी समाचार निकै पढ्थिन्। यही क्रममा कोरियन समाचारवक्ताले लगाएको नौलो डिजाइनको मास्क उनको आँखामा पर्‍यो। त्यो मास्क नेपाली बजारमा पाइनेभन्दा फरक थियो। इन्टरनेटमा खोजी गर्दा त्यसलाई थ्रिडी मास्क भनिने रहेछ।

‘थ्रिडी मास्क हाम्रो नाक र चिउँडोमा ठिक्क फिट हुन्छ। हेर्दा पनि आकर्षक,’ उनले भनिन्, ‘मैले बुबालाई देखाउँदा उहाँले यस्तो मास्क आफैं बनाउन सक्छु भन्नुभयो। अनि उहाँले कपडाको झोला काटेर इन्टरनेटमा देखिएजस्तै थ्रिडी मास्क बनाउनुभयो।’ 

बुबाको कलाबाट सृष्टि प्रभावित भइन्। झोलाबाट बनेको उक्त थ्रिडी मास्कको फोटो खिचेर उनले सामाजिक सञ्जालमा पोस्ट गरिन्। धेरैले मनपराए र नयाँ मास्कको अर्डरसमेत दिए। 

लकडाउनको खाली समय सदुपयोग गर्न गकुलले पनि छोरीसँगै मिलेर थ्रिडी मास्क बनाउन थाले। बुबाको कामलाई राम्रो ढंगबाट अगाडि बढाउन सृष्टिले इन्स्टाग्राममा ‘हातको कला’ नाम दिएर पेज बनाइन्। आफ्नो बुबाको हातको सीपलाई झल्काएर सो नाम राखेको उनी बताउँछिन्। 

पछि मास्कको अर्डर धेरै नै आउन थाल्यो। उनीहरू बाबु-छोरीले मात्र बनाउन भ्याएनन्।

‘अर्डर धेरै आउन थालेपछि बाहिर कारखानामै बनाउन पर्‍यो,’ उनले भनिन्, ‘मैले त्यो बेला दस हजार जति खर्च गरेँ।’

यसरी सुरू भएको मास्कले राम्रै व्यापार गरिरहेको थियो। उता सृष्टिले इम्ब्रोइडरी पनि गर्दै थिइन्। आफ्नो कला साथीहरूलाई देखाउँथिन्। साथीहरूले बेच्न सल्लाह दिन्थे। तर उनलाई आफ्नो काम अरूले मन पराऊलान् र भन्ने शंका थियो।

‘मैले सधैं आफ्नो सीपलाई प्रश्न गरिरहेँ। काम राम्रो छ भनेर कहिल्यै निर्धक्क भएर बस्न सकिनँ,’ सृष्टि भन्छिन्, ‘यो डर हटाउन भए पनि एक वर्षअघि आफूले बनाएको इम्ब्रोइडरी हातको कला पेजमा पोस्ट गरेँ। एक जना चिनेको दिदी मनपराएर किन्नुभयो। यसले मलाई निरन्तरता दिन हौसला दियो।’

विस्तारै थ्रिडी मास्कसँगै उनको इम्ब्रोइडरी किन्ने ग्राहक बढ्न थाले।

विशेषगरी उनी ग्राहकको रोजाइअनुसार ‘कस्टमाइज’ काम गर्छिन्। कसैलाई आफ्नो फोटोको इम्ब्रोइडरी बनाउन मन भए अर्डर गर्न सक्ने उनले बताइन्। 

सृष्टिका इम्ब्रोइडरी डिजाइन हेरेर पन्ध्र सयदेखि तीन हजार पाँच सय रूपैयाँसम्म पर्छन्। उनी अहिले हरेक दुई महिनामा फरक डिजाइनको थ्रिडी मास्क उत्पादन गरिरहन्छिन्। मास्क दुई सय पचास रूपैयाँमा किन्न पाइन्छ।

इम्ब्रोइडरी किन्ने उनका ग्राहक भने धेरैजसो विदेशी नै छन्। त्यस्तै काजाकिस्तान, बेलायत, अमेरिका, नेदरल्यान्डका नागरिक नेपाल घुम्न आएका बेला अर्डर गरेर लैजाने गरेको उनले बताइन्। 

‘विदेशमा बस्ने नेपालीले उतैबाट यहाँ आफ्ना परिवारका लागि उपहार दिनसमेत अर्डर गर्छन्,’ सृष्टिले भनिन्।

एउटा इम्ब्रोइडरी पूरा बनाउन सृष्टिलाई एक हप्ता लाग्छ। साना विवरणमा ध्यान दिनुपर्ने भएकाले उनी समय लगाएरै काम गर्छिन्। हाल उनी काठमाडौंकै एक विद्यालयमा शिक्षक छिन्। 

‘यो काम गर्दा ढाड निकै दुख्छ। अनि समय पनि उत्तिकै लाग्छ,’ उनले भनिन, ‘एउटा इम्ब्रोइडेरी भ्याउन एक हप्ता लाग्छ। त्यसैले महिनामा तीन-चार वटा मात्रै अर्डर लिन्छु। जागिरबाट बचेको समयमा मात्र हो बनाउने।’

इम्ब्रोइडरी मात्रबाट सृष्टिले महिनामा दस हजार जति कमाउँछिन्। मनले रोजेको काम भएकाले यसले दिने कमाइभन्दा खुसीमा सन्तुष्ट भएको उनले बताइन्।

हातको कला सञ्चालन गरेको एक वर्ष भयो। यसबीच उनले दुईपटक इम्ब्रोइडरीको वर्कसप गरिसकिन्।

‘नेपालमा इम्ब्रोइडरी नहुने होइन तर यसले पाउनुपर्ने चर्चा पाइरहेको छैन,’ सृष्टिले भनिन्, ‘इन्स्टाग्राममा केही बहिनीहरू मलाई इम्ब्रोइडरी कसरी बनाउने भनेर प्रश्न गर्छन्। उनीहरूको उत्सुकता देखेर खुसी लाग्छ।’ 

भविष्यमा सृष्टिलाई हातको कलामार्फत् इम्ब्रोइडरीलाई फैलाउनु छ, नेपालभर चिनाउनु छ। साथै नेपाली महिलाका लुकेका सिर्जना बाहिर ल्याउने सपना छ। अझ मुख्य योजना सिलाइबुनाइ जानेका गृहिणीलाई आफ्नो ब्रान्डमा संलग्न गराएर रोजगार दिने हो।

‘सुरूमा नेपाल आउँदा मलाई यहाँ बस्न मन थिएन। तर अब मेरो मनमस्तिष्क यहीँ जोडिएको छ,’ उनी भन्छिन्, ‘मैले सिंगापुरमा इम्ब्रोइडरीबारे जति सिकेँ, यहाँका महिला यो काममा धेरै सिपालु छन्। उनीहरूलाई एउटा प्लेटफर्म चाहिएको छ। त्यो ठाउँ दिने मेरो योजना हो।’   

Copy link
Powered by Social Snap