२०८१ बैशाख १४

न्याय प्रणालीलाई दस्तक दिन फेरि काठमाडौं आइन् रूबी खान

दोस्रोपटक काठमाडौं आएर धर्ना दिइरहेका रूबी खान र अन्य अधिकारकर्मीहरू। तस्बिर: रूबी खानको फेसबुकबाट

बाँकेकी नकुन्नी धोबीको मृत्यु र निर्मला कुर्मीको बेपत्ता प्रकरणलाई लिएर १४ जना अधिकारकर्मीहरू फेरि काठमाडौं आएका छन्।

पछिल्लोपटक दोषीको छानबिन र कारबाही हुने सर्तमा घर फर्किएका उनीहरू फेरि न्याय माग्दै काठमाडौं आएका हुन्।

यसअघि उनीहरूले ११ दिन नेपालगन्जमै धर्ना दिएका थिए। बाह्रौं दिनमा गत बिहीबार काठमाडौं आएर माइतीघर मण्डलमा धर्ना दिइरहेका उनीहरूको प्रमुख माग छ– मुख्य अभियुक्त तथा पूर्वसांसद बादशाह कुर्मीलाई पक्राउ गरी सजाय गरियोस्।

प्रहरीले गत कात्तिक २२ गते जिल्ला अदालत बाँकेबाट जारी भएको पुर्जीका आधारमा उक्त घटनामा मुछिएका सात जनालाई पक्राउ गरेको थियो।


Advertisement


पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, वीरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह थिए। बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण छाडेको थियो। मुख्य दोषी बादशाह कुर्मी पक्राउ परेका थिएनन्। आइतबार अन्य दोषीलाई पनि हाजिरी जमानीमा छाडेपछि आन्दोलनले अब चर्को रूप लिने यो अभियानको नेतृत्व गरिरहेकी रूबी खानले बताइन्।

रूबीले मोफसलबाट काठमाडौं आएर पछिल्लोपटक १२ दिन अनसन बसी देशको न्याय प्रणालीलाई दस्तक दिएकी थिइन्। यसपटक पनि आन्दोलन नेतृत्व गरेर काठमाडौं आएकी उनले आइतबारको घटनाबारे बताउँदै भनिन्, ‘मुद्दा अदालतसम्म नपुर्‍याई सरकारको मुख्य तहमा रहेका मान्छेको दबाबमा सबै जनालाई छाडिएको छ। पहिले त मुख्य अभियुक्तलाई लुकाउने प्रयास गरियो, अहिले अन्य अभियुक्त पनि छुटाइँदा यसले हाम्रो न्याय प्रणालीको अवस्था चित्रण गरेको छ।’

उनले अगाडि भनिन्, ‘हाम्रोजस्तो समाजका एकल महिलालाई यसले अझै चुनौती थपिदिएको छ। झनै डरको अवस्था सिर्जना गरिदिएको छ।’

उनीहरूले यसपटक माइतीघर धर्ना क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको फोटोमुनि ‘न्यायका लागि कलम चलाउनुस् सरकार’ लेखेको पर्चा बोकेका छन्। मुख्य अभियुक्तलाई संरक्षण गर्ने र न्यायको विपक्षमा मात्र कलम चलाइरहेको सरकारलाई ध्यानाकर्षण गराउनु आफूहरूको उद्देश्य भएको रूबीले बताइन्।

रूबीका अनुसार निर्मला कुर्मीको घटनामा बादशाह कुर्मीको ठूलो हात छ। उनले निर्मलाको जग्गामा एकाधिकार जमाउने र भाडामा दिने काम पनि गर्दै आएका छन्।

‘निर्मलाको जग्गामा पहिलेदेखि नै बादशाहले आँखा लगाएका थिए। त्यही भएर जालझेल गरेर अपहरण गरी उनलाई बन्धक बनाएका थिए। पछि उनको हत्या भएको छ,’ उनले भनिन्।

बाँकेमा घरेलु हिंसाबाट मारिएका नकुन्नी र निर्मलाको न्यायका लागि उनका छिमेकी तथा स्थानीयहरु अघिल्लोपटक नेपालगन्जबाट २० दिन हिँडेर माइतीघरमा धर्ना दिन आएका थिए। यी दुवै घटनामा छानबिन हुने सरकारको प्रतिबद्धतापछि उनीहरू नेपालगन्ज फर्किएका थिए। सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको थियो।

नकुन्नी दाइजोका नाममा घरेलु हिंसामा परेकी थिइन्। निर्मलाको घटना भने करिब १४ वर्ष पुरानो हो। उनले आफ्ना श्रीमान र दुई छोरा गुमाएकी थिइन्। त्यही बेला बादशाहको आँखा उनको सम्पत्तिमा गढेको र उनले नै निर्मलाको अपहरण गरी सम्पत्ति हडपेको रूबी बताउँछिन्। बादशाह २०६४ को संविधानसभामा कांग्रेसबाट सभासद थिए।

उनका अनुसार बादशाह र निर्मला बाँके, परस्पुर गाउँका बासिन्दा हुन्। यो नेपालगन्ज नगरपालिकासँग जोडिएको छ। निर्मलाका पति महालुको २०६२ सालमा मृत्यु भएको थियो। त्यसपछि २०६६ मा उनका दुई जना छोरा दस दिनकै अन्तरमा बितेका थिए। छोराहरूको मृत्यु रहस्यमय ढंगले भएको कुर्मीका छिमेकीहरूले बताउँदै आएका छन्।

रूबीले हिंसामा परेका महिलाका पक्षमा वकालत गर्न २०६५ सालमा स्थापना गरेको महिला अधिकार मञ्चले निर्मलाको मुद्दा उठाएर विरोध प्रदर्शन गर्‍यो।

‘यहाँ महिलाको शरीर बन्धक बनाइएको छ। उसको हत्या गरिएको छ। वंशनाश गरिएको छ। तर पनि राज्यको अंग प्रहरीबाट ज्यादती भइरहेको छ। प्रहरीले नै अभियुक्तलाई संरक्षण दिएको छ। यस्तो अवस्थामा पीडा खेपिरहेका महिला न्याय माग्न कहाँ जाने? हिंसामा परेका महिलाको पीडा सुन्ने र उनीहरूलाई न्याय दिने निकाय कहाँ छ? हाम्रो समस्या सुनुवाइ गर्ने कसले हो?’ रूबीले प्रश्न गरिन्।

उनीहरू यो मुद्दा लिएर जिल्ला प्रहरी कार्यालय गएका थिए। तर त्यहाँका प्रहरी अभियुक्तको पक्षमा लागे। त्यसपछि बाध्य भएर न्याय माग्न काठमाडौं आउनुपरेको रूबी बताउँछिन्।

‘त्यति बेला बादशाहलाई १२ घन्टा प्रहरी कार्यालयमा राखिएको भन्ने झूटा कागज तयार पारेर सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको थियो। तर खासमा उनलाई समातिएकै थिएन,’ उनले भनिन्, ‘अहिलेसम्म उनी राजनीतिक पहुँचकै आधारमा खुलेआम घुमिरहेका छन्।’

रूबीका अनुसार उनीहरू अघिल्लोपटक काठमाडौंमा आन्दोलनरत रहँदा पनि बादशाह आफ्नो बचाउका लागि गृह मन्त्रालय धाएका धायै थिए। गृहका सहसचिव रेग्मी संयोजकत्वको समितिले यही कात्तिक १५ गते आफ्नो प्रतिवेदन बुझाउन जाँदा पनि उनी पहिले नै त्यहाँ पुगेका थिए।

पूर्वसांसद बादशाहलाई कारबाही नहुनु र अन्य अभियुक्तलाई पनि छाडिनुले राजनीतिक शक्ति भएका मान्छेलाई कसैले छुन सक्दैन भन्ने सन्देश पनि जाने र यसले समाजमा दण्डहिनता अझ स्थापित हुने रूबी बताउँछिन्।

‘हामीले यति धेरै संघर्ष गर्दा र आवाज उठाउँदा त नकुन्नी र निर्मलाले न्याय पाउँदैनन्, मुख्य अभियुक्तलाई नै सरकारले राजनीतिक संरक्षण दिएर राख्छ भने सामान्य अवस्थामा न्यायको आश कसरी गर्न सकिएला? दण्डहिनताको यो अवस्था बदल्न पनि उनलाई कारबाही हुनैपर्छ भन्ने हाम्रो माग हो,’ उनले भनिन्।

आइतबार सबै अभियुक्त रिहा भएपछि चिन्ताको अवस्थामा पुगेका यी अधिकारकर्मीहरुले सोमबार पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन्।

‘दिनभर मात्र नभई राति पनि माइतीघरमै बसेर धर्ना दिने हो कि भन्ने विषयमा हामी छलफल गर्दैछौं,’ उनले भनिन्।

Copy link
Powered by Social Snap