२०८१ बैशाख १४

निर्णायक खेलमा पराजित हुँदा नेपाल टी-२० विश्वकपको विश्व छनोटमा पुग्न असफल

निर्णायक खेलमा युएईसँग पराजित हुँदा नेपाल आइसिसी टी-२० विश्वकपको विश्व छनोट प्रतियोगितामा पुग्न असफल भएको छ।

टी-२० विश्वकपअन्तर्गत एसिया छनोटको आफ्नो अन्तिम खेलमा नेपाल आइतबार घरेलु टिम युएईसँग ४८ रनले पराजित भएको हो।

युएईलाई हराएको अवस्थामा मात्र नेपाल पहिलो पटक विश्व छनोटमा पुग्ने थियो। जुन नेपाली महिला क्रिकेटको लागि ऐतिहासिक उपलब्धि हुन्थ्यो।


Advertisement


नेपाललाई पराजित गरेसँगै युएई भने एसिया छनोटबाट विश्व छनोटमा पुगेको छ। एसिया छनोटबाट एक टिम मात्र विश्वकपमा छनोट हुने प्रावधानअनुसार युएईले खेलेका पाँच खेलमा नै जित निकाल्यो। 

हङकङ र युएईसँग पराजित नेपालले भुटान,  कुवेत र मलेसियालाई हरायो।

आइतबार दुबईमा भएको खेलमा घरेलु टिम युएईले दिएको १२८ रनको लक्ष्य पछ्याएको नेपाल २ बल खेल्न बाँकी छदा ७९ रनमै अलआउट भयो।

नेपालकी ओपनिङ ब्याटर सीता रानामगर ८ बल खेलेर १३ रन जोड्दै आउट भइन्। त्यसपछि ब्याटिङका आएकी कविता कुँवरले ४ रन मात्र जोड्न सकिन्। कप्तान रुबिना क्षेत्री २ रनमा आउट भइन्। 

ओपनर इन्दू बर्माले १५ रनको योगदान दिइन्। एलबिडब्लूको धरापमा पर्नुअघि बर्माले २० बलमा १ चौका हिर्काइन्।

सरिता मगर र काजल श्रेष्ठ ८-८ रनमा आउट भए। तल्लक्रमका ब्याटर पनि सस्तैमा आउट भए। 

बलिङमा युएईकी समिराले ४ विकेट लिइन्। उनले उनले चार ओभरमा ५ रन मात्र दिइन्। खुसी शर्मा र चामनी सेनेभिरत्नाले २-२ विकेट लिए।

त्यसअघि टस हार पहिले ब्याटिङ गरेको युएईले ५ विकेटको क्षतिमा १२७ रन जोड्यो। युएईका लागि चामनी सेनेभिरत्नाले ५२ रन जोडिन्। उनले ३६ बलमा ७ चौका हिर्काएकी थिइन्।

तीर्था सतिशले ४७ रन जोडिन्। उनले ४६ बलमा ३ चौका हिर्काइन्। यस्तै काभिशाले २२ रन बनाइन्।

बलिङमा नेपालकी कविता कुँवरले २ विकेट लिइन्। सबनम राई, सीता रानामगर र संगिता राईले १-१ विकेट लिए। 

Copy link
Powered by Social Snap