२०८१ बैशाख १३

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले पार्टीको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

बिहीबार काठमाडौंमा ‘उम्मेदवार घोषणा कार्यक्रम’ को आयोजना गर्दै नेता लिङ्देनले राप्रपाका नेता धवल शमशेर राणाको प्रस्तावलाई स्वीकार गर्दै आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।


Advertisement


राप्रपाको महाधिवेशन आगामी मंसिर १५ गतेदेखि १७ गतेसम्म हुने तय भएको छ। ‘साथीहरुले सल्लाह गरेर, खासगरी यो अभियानको औपचारिक रुपले प्रारम्भ गर्नुअघि नेता धवल शमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ, म यसलाई सहर्ष स्वीकार गर्दै आउने १५, १६ र १७ गते जुन महाधिवेशन हुँदैछ। त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेतृत्व परिवर्तन हुनुपर्छ। र नयाँ नेतृत्वबाटै राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि जानुपर्छ भन्ने आम हाम्रा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरुको समेत भावनालाई स्वीकार गर्दै आफू उम्मेदवार बन्न तयार रहेको घोषणा गर्दछु,’ उम्मेदवारी घोषणा गर्दै नेता लिङ्देनले भने।

पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै नेता लिङ्देनले राप्रपा खिइनु र दुब्लाउनुमा अहिलेको अवस्थाभन्दा ठाउँ नरहेको भन्दै राप्रपाको ३१ वर्षको इतिहास असफलताको इतिहास भएको बताए। पार्टी एकीकरण भए पनि अध्यक्षत्रयले पार्टीलाई नयाँ दिशा र ऊर्जा दिन नसकेकोले वर्तमान नेतृत्वबाट पार्टी अगाडि बढ्न नसक्ने बताए।

आगामी महाधिवेशन पार्टीका नेता कार्यकर्ताको अग्निपरीक्षा भएको उल्लेख गर्दै उनले पार्टीमा रहेको परम्परागत गुटको अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताए। पार्टी नेता तथा कार्यकर्तालाई यो नेता र त्यो नेताको मान्छे भन्ने दाग नलगाई राप्रपाको स्वाभिमानी कार्यकर्ता बनाउन चाहेको उनको भनाई छ। राप्रपाले कांग्रेस र कम्युनिष्ट पार्टीले गर्न नसकेको काम गर्ने उनले दाबी गरे। 

‘महाधिवेशन प्रतिनिधि साथीलाई आव्हान गर्न चाहन्छु, राप्रपाका तमाम नेता, कार्यकर्ता साथीका लागि अग्नि परीक्षा हो। हामी कुनै नेताको खल्तीको रूमाल हो कि, साच्ची नै राष्ट्रिय प्रजातन्त्र पार्टीको बाटोबाट राजसंस्था, हिन्दू राष्ट्रको पुर्नस्थापना चाहान्छौं। यो हाम्रो अग्निपरीक्षा हो। हामी ३१ वर्षदेखि राप्रपामा रहेको गुटको अन्त्य गर्न चाहान्छौं,’ उनले भने, ‘आफ्नो शीर माथि, आफ्नो थाप्लोमाथि यो पशुपति शमशेरको मान्छे, यो कमल थापाको मान्छे, यो डा. लोहनीको मान्छे भन्ने दाग मेटाउन चाहान्छौं कि, त्यहीँ भारी बोकेर हिँड्न चाहान्छौं यो हाम्रो मौका हो। हामी हाम्रो थाप्लोबाट त्यो दाग मेटाएर हामी राप्रपाको कार्यकर्ता बनाउन चाहान्छौँ।’

उनले नेतृत्व परिवर्तनको मुद्दाले पार्टीमा रहेको परम्परागत गुटको पनि अन्त्य हुने दाबी गरे। नेपालको राजनीतिमा राप्रपाले नयाँ सन्देश पनि दिने भन्दै उनले कांग्रेस कम्युनिष्टमा हुन नसकेको काम राप्रपाले गरेर देखाउने बताए।

नेपाली राजनीतिमा पुस्तान्तरणको कुरा सबै पार्टी भित्र उठिरहेको भए पनि अब त्यसको नेतृत्व राप्रपाले सुरू गर्ने उनले बताए।

उनले नेतृत्व लिने मात्रै होइन नेतृत्व हस्तान्तरण पनि सजिलै गर्ने व्यवस्था अघि सारेको उल्लेख गरे। ‘हामीले राष्ट्रिय प्रजातन्त्र पार्टीमा मात्रै नयाँ नेतृत्व स्थापना गर्ने कुरा गरिराखेका छैनौं। नेपालको राजनीतिमा अब पुस्तान्तरणको, नेतृत्व हस्तान्तरणको अभियानको समेत राप्रपाले नेतृत्व गर्नेछ। राप्रपाले एउटा इतिहासको निर्माण गर्दैछ। हामीले अहिले नेतृत्व परिवर्तनको कुरा मात्रै होईन, आगामी दिनमा समेत नेतृत्व हस्तान्तरणको सहज व्यवस्थाका कुराहरु पनि अगाडि सारेका छौं’, उनले भने।

नेता लिङ्देनले आफ्नो उम्मेदवारी कुनै नेताको विरुद्धमा नभएको स्पष्ट पारे। उनले आफूलाई गौरवका साथ स्वीकार गर्न पार्टीका अध्यक्षत्रयलाई आग्रह गरे। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर अध्यक्षत्रयलाई अभिभावकीय भूमिकामा बस्न उनले अपिल गरे।

उनले राप्रपाको भविष्य सुरक्षाको लागि आफूले पार्टी अध्यक्षमा उम्मेदवारी दिएको बताए। ‘हाम्रा अध्यक्षत्रयलाई आग्रह गर्न चाहान्छु। राजेन्द्र लिङ्देनको उम्मेदवारी तपाईँहरूको विरूद्धमा होइन, मेरो उम्मेद्वारी राप्रपालाई जिवित राख्नका लागि हो, उनले भने, ‘तपाईँहरूको विरासतलाई जोगाएर लान हामीले आँट गरेका छौं। तपाईँहरुले गौरवका साथ हामीलाई स्वीकार्नुहोस्। र अभिभावकीय भूमिकामा बसिदिनुहोस्।’

राप्रपाका शुभेच्छुक र कार्यकर्तालाई अप्ठ्यारोमा नपार्न आग्रह गर्दै उनले आफ्नो उम्मेद्वारीले कसैले नोक्सान नगर्ने जिकिर गरे। ‘न यो विद्रोह हो, न यो तपाईँहरूको विरुद्धको उम्मेदवारी हो। यो राप्रपाको भविष्यको सुरक्षाको पक्षमा हो । यसले कसैलाई नोक्सानी गर्दैन,’ उनले भने।

पार्टी अध्यक्षमा नेता लिङ्देनलाई प्रस्ताव गर्दै राप्रपाका नेता धवल शमशेर राणाले पार्टीलाई उठाउने जिम्मेवारी लिनुपर्ने भएकाले नेतृत्व परिवर्तन गर्नु आवश्यक रहेको बताए।

राप्रपाको नेतृत्व परिवर्तन गरेमात्रै पार्टीको भविष्य हुने उनले बताए। ‘हामी के निष्कर्षमा पुग्यौं भने हामीले नयाँ चेहेरा दिनुपर्छ। नेतृत्व परिवर्तन गर्नुपर्छ। चाहेर नचाहेर नेपाली जनताले हाम्रा नेतृत्वलाई नपत्याउने भए, अब नेतृत्व परिवर्तन गरेर अगाडि बढ्ने हिम्मत गर्नुपर्छ’, उनले भने, ‘पार्टीको राम्रो भविष्य छ, कार्यकर्ताको राम्रो भविष्य छ। र जनताको पनि राम्रो भविष्य यो पार्टीसित छ । हामीले नयाँ सुरुवात गर्ने प्रयास गरेका छौं। पार्टीको लागि, कार्यकर्ताको लागि मात्र होइन, देशैको लागि नयाँ सुरुवातको थालनी भइरहेको छ।’

नेता राणाले हजारौँको संख्यामा राजतन्त्र र हिन्दूराष्ट्रको पक्षमा जनलहर आएकाले राजनीतिक रुपमै राजतन्त्र र हिन्दूराष्ट्रको मूल्य मान्यतालाई स्थापित गराउनुपर्ने बताए। 

उनले पार्टी भित्र र बाहिर सबैले नेता लिङ्देनलाई मान्ने गरेकाले आफूहरूले अध्यक्ष पदका लागि अगाडि सारेको बताए।

Copy link
Powered by Social Snap