२०८१ बैशाख ४

राहदानी विभागले सार्वजनिक गर्‍यो इ-पासपोर्ट, घण्टामा एक हजार उत्पादन गर्ने

राहदानी विभागले विद्युतीय राहदानी (इ-पासपोर्ट) सार्वजनिक गरेको छ। शताब्दी पुरूष सत्यमोहन जोशीलाई पहिलो साधारण इ-पासपोर्ट दिइएको हो।

बुधबार विभागमा आयोजित एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री नारायण खड्काले जोशीलाई साधारण पासपोर्ट हस्तान्तरण गरेका हुन्।

जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए। उनले सरकारलाई सफलताको शुभकामना समेत दिए। यो राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरे।

परराष्ट्र मन्त्री नारायण खड्काले जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउनु निकै गौरवको विषय भएको बताए।

आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै उनले विद्युतीय पासपोर्टले निकै सहज हुने जिकिर गरे।

‘पूरै अनलाइनबाट काम हुन्छ। जसले सेवाग्राहीलाई झन्झटिलो हुँदैन। विदेश यात्रामा पनि अन्य देशका नागरिकसरह नेपालीलाई व्यवहार गरिन्छ’, उनले भने।

अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उँचो बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे. केही समस्या भए तुरून्त जानकारी गराउनसमेत मन्त्री खड्काले आग्रह गरे।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले पनि हस्तलिखित पासपोर्टबाट एमआरपी हुँदै विद्युतीय पासपोर्टसम्म पुग्नु आम नेपालीका लागि खुसीको कुरा भएको बताए। संसारमै अब नेपालको राहदानी विश्वासयोग्य हुने उनले उल्लेख गरे।

अब अनलाइनबाटै मिति र समय बुकिङ गरेर लिन सक्ने हुँदा सेवाग्राही लाइन बस्न नपर्ने महानिर्देशक अर्यालले जानकारी दिए।

यसलाई थप सुरक्षित गर्न राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिएको उनले बताए। उनका अनुसार विभागले घण्टामा कम्तीमा एक हजार विद्युतीय राहदानी उत्पादन गर्नेछ।

परराष्ट्र मन्त्रालयका सचिव भरतमणि पौडेलले एघार वर्ष अगाडिको हस्तलिखित पासपोर्ट सम्झिँदै विद्युतीय राहदानीसम्म पुग्नु सुखद भएको बताए।

चुनौती बाबजुद पनि विभाग छोटो समयमा सुरक्षित पासपोर्ट वितरणमा सफल भएको उनले बताए। विभागले सतर्कता अपनाएर काम अगाडि बढाएको समेत उल्लेख गरे।

‘हामीलाई यो तेस्रो पुस्ताको राहदानी बोकेर हिँड्न पनि गर्व महसुस हुन्छ भन्ने लागेको छ,’ उनले भने।

विभागले सात किसिमका इ–पासपोर्ट जारी गर्ने तयारी गरेको छ। हाल कूटनीतिक, विशेष, अस्थायी, सिम्यान्स अभिलेख किताब (सिम्यास रेकर्ड बुक), साधारणअन्तर्गत ३४ र ६६ पृष्ठको गरी ६ किसिमका जारी गर्दै आएकोमा अबदेखि सर्भिस पासपोर्ट थप गरिने विभागका निर्देशक शरदराज आरनले जानकारी दिए। 

यी सात किसिमका राहदानीमध्ये कुन, कस्ता व्यक्तिले पाउँछन् त? 


Advertisement


कूटनीतिक-

सरकारी वा विशेष कामका लागि विदेश भ्रमणमा जाने पदाधिकारीहरूलाई विभागले कूटनीतिक राहदानी जारी गर्छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि तथा राष्ट्रिय सभाका अध्यक्षले यस्तो राहदानी पाउँछन्।

त्यस्तै उपप्रधानमन्त्री, नेपाल सरकारका राज्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीश, संवैधानिक निकायका प्रमुख, न्याय परिषदका सदस्य, महान्यायधिवक्ता, राष्ट्रियसभामा विपक्षी दलका नेता, प्रदेशसभाका सभामुख, मन्त्रीहरू, प्रतिनिधि तथा राष्ट्रियसभा सदस्य, महावाणिज्यदूत, परराष्ट्रमन्त्रालय र मातहतका विभाग तथा कार्यालयमा कार्यरत राजपत्रांकित अधिकृत कर्मचारी लगायतलाई यस्तो राहदानी जारी गरिन्छ। 

नेपाल सरकारका सचिव, नेपाली राजदूत, प्रहरी महानिरीक्षक राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, प्रज्ञाप्रतिष्ठानका उपकुलपति, उपमहानगरपालिका प्रमुख, काठमाडौं महानगरपालिकाका उपप्रमुखका लागि यस्तो राहदानी जारी गरिन्छ।

संवैधानिक निकाय वा सचिवालयको सिफारिससहित कूटनीतिक राहदानी माग गरेमा पूर्वराष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व अध्यक्ष, पूर्व प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, व्यवस्थापिका संसदका पूर्व सभामुख तथा पूर्व परराष्ट्रमन्त्रीका लागि विभागले कूटनीतिक राहदानी जारी गर्छ।

कूटनीतिक राहदानी प्राप्त गर्ने व्यक्तिको कुनै पनि कारण पदबाट अलग भएमा, पदबाट अलग भएर नेपाल फर्किएको एक महिनाभित्र पासपोर्ट विभागमा फिर्ता गर्नुपर्छ। 

विशेष-

नेपाल सरकार, प्रदेश सरकार वा कुनै सरकारी निकायबाट मनोनयन भई सरकारी काममा विशेष भ्रमणमा जाने पदाधिकारीहरूलाई विभागले विशेष राहदानी जारी गर्छ। 

यस्तो राहदानी नगरपालिका प्रमुख, प्रदेश लोकसेवा आयोगका सदस्य, न्यायसेवा आयोगका सदस्य, प्रदेश योजना आयोगका सदस्य लगायतका लागि जारी गरिन्छ। 

त्यस्तै काठमाडौं महानगरपालिका बाहेकका महानगरपालिकाका उपप्रमुख, जिल्ला समन्वय समितिका उपप्रमुख, नगरपालिकाका उपप्रमुख, नेपाल सरकारका सचिव एंव राजपत्रांकित प्रथम श्रेणी वा सो सरहका अधिकृत, जिल्ला न्यायाधीसका लागि जारी गरिन्छ।

कूटनीतिक राहदानी पाउने पदाधिकारी बाहेकका निजामती सेवा, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, तथा स्थानीय तहका अधिकृतस्तरका कर्मचारी गाउँपालिकाका उपाध्यक्ष लगायतका लागि विशेष राहदानी जारी गरिन्छ। 

राष्ट्र बैंकका डेपुटी गर्भनर, प्रचलित कानुन बमोजिम गठित आयोग, समिति तथा बोर्डका पदाधिकारीहरूका लागि पनि विशेष राहदानी जारी गरिन्छ। सरकारबाट मनोनयन भइ छात्रवृत्तिमा अध्ययन गर्न वा भ्रमण तथा तालिममा सहभागी हुन जाने सरकारी कर्मचारीले समेत यस्तो राहदानी पाउँछन्।

विशेष राहदानी राहदानी प्राप्त गर्ने व्यक्तिको कुनै पनि कारण पदबाट अलग भएमा, पदबाट अलग भएर नेपाल फर्किएको एक महिनाभित्र राहदानी विभागमा फिर्ता गर्नुपर्छ। 

सर्भिस-

अहिले नयाँ थप्न लागिएको यो पासपोर्ट विदेशस्थित नियोगमा खट्न जाने राजदूत, स्थायी प्रतिनिधि, महावाणिज्यदूत, वा राजपत्रांकित तहका कर्मचारीका साथ जाने निजी सहयोगी र श्रेणाीबिहीन कर्मचारीले पाउँछन्। 

आफ्नो कार्यकाल सकिएपछि त्यस्ता निजी सहयोगी र श्रेणीबिहीन कर्मचारीले यो राहदानी विभागमा फिर्ता गर्नुपर्छ।

अस्थायी-

विदेशमा रहेकाको राहदानी बहाल अवधि सकिएमा, हराएमा वा झुत्रो भएर प्रयोग गर्न नसकिने अवस्थामा कूटनीतिक नियोगमार्फत यस्तो अस्थायी राहदानी जारी गरिन्छ। यसका लागि आवश्यक काजगतसहित सम्बन्धित नियोगमा निवेदन दिनुपर्छ। नियोगले नौ महिना बहाल रहने गरी अस्थायी राहदानी जारी गर्छ। यो नयाँ राहदानी जारी भएपछि रद्द गरिन्छ। अवस्था हेरेर यस्तो पासपोर्ट जारी गरिने विभागका निर्देशक शरदराज आरन बताउँछन्।

सिम्यान्स अभिलेख किताब (सिम्यास पासपोर्ट)-

पानीजहाजमा काम गर्न जाने नेपालीलाई विभागले यस्तो किसिमको राहदानी जारी गर्छ। साधारण राहदानीवाहकले पानीजहाजमा काम गर्न जाने प्रयोजनका लागि विभाग वा नियोगमा सिम्यान्स अभिलेख पासपोर्टका लागि आवेदन दिन सक्छन्। आवेदन आएमा तोकिएको शर्तको अधीनमा रही विभागले सिम्यान्स अभिलेख किताब जारी गर्छ। यसको बहाल अवधि निजको सेवाअवधि तथा उमेरलाई विचार गरी बढीमा दस वर्षको हुन्छ। 

साधारण (३४ र ६६ पृष्ठ)-

विभागले नेपाली नागरिकलाई साधारण राहदानी जारी गर्छ। यो जारी भएको एक वर्षभित्र सम्बन्धित व्यक्तिले लगिसक्नुपर्छ नभएए विभागले रद्द गर्नेछ। पटक–पटक विदेशिनुपर्नेका लागि ६६ पृष्ठको र छोटो अवधिका लागि चाहिनेका लागि ३४ पृष्ठको साधारण राहदानी जारी गरिने निर्देशक आरनले जानकारी दिए। 

कुन पासपोर्ट कुन रङका?

विभागले हाल कूटनीतिक राहदानी रातो रङमा, विशेषलाई आकाशे नीलो, साधारणलाई हरियो रङमा जारी गर्दै आएको छ। 

अब भने कूटनीतिक राहदानी सिम्रिक रातो, विशेष राहदानी आकाशे नीलो, सर्भिस राहदानी सुन्तले, साधारण राहदानी चकलेटी खैरो र यात्रा अनुमति पत्र कालो, सिम्यान्स अभिलेख किताब स्लेट खैरो, अस्थायी राहदानी चकलेटी खैरो हुने राहदानी नियमावली २०७७ मा उल्लेख छ। 

‘कुन पासपोर्टमा कस्तो रङ भनेर हामी मंसिर १ गते परीक्षणका क्रममा विस्तृत जानकारी गराउँछौं,’ निर्देशक आरनले भने।

Copy link
Powered by Social Snap