२०७९ जेष्ठ ४
Advertisement

Advertisement

जागिर छाडेर १५ लाखमा सुरू गरिन् कपडा व्यवसाय, विदेश पनि पठाउँदै

झन्डै एक दशकको जागिरे दैनिकी छाडेर ललितपुरकी अर्ती लाखे जोशी यति बेला आफ्नै व्यवसाय गर्दैछिन्।

अर्ती ‘काप क्रिएसन्स’ की सञ्चालक हुन्। काप क्रिएसन्स यस्तो ठाउँ हो जहाँ घरायसी प्रयोजनका कपडा, जस्तै तन्ना, सिरानीको खोल, खास्टो, तौलियालगायत कपडाहरू पाइन्छ। यी सबै नेपालमै बनेका हुन्।

अर्ती कुनै पूर्व-योजना लिएर व्यवसायमा होमिएकी होइनन्। उनी आफ्नो जागिरे जीवनबाट आजित भएर व्यवसायमा लागेकी हुन्।

‘जागिरमा आफूले भने जस्तो हुन्थेन। त्यसैले आफ्नै केही गर्ने सोचेँ,’ काप क्रिएसन्स सञ्चालनको आइडियाबारे उनी भन्छिन्, ‘घरको हरेक कुनामा कपडा हुन्थ्यो। बरू यसैमा केही रचनात्मक काम गरेर व्यवसाय गर्ने सोचेँ।’

घरमा कपडा थुप्रिनुको कारण उनको पुर्ख्यौली पेसा हो। उनका बुवा थैबस्थित हिमा टेक्सटाइल कारखानाका सञ्चालक हुन्। यो कारखाना अर्तीका हजुरबुवाले स्थापना गरेका हुन्। त्यसैले अर्तीले सानैदेखि कपडा व्यवसायसम्बन्धी कामकाज जानेकी थिइन्। पछि हुर्किँदै जाँदा पढाइ र जागिर भन्दै अन्य क्षेत्रमा लागिन्। उनले व्यापार प्रशासनमा स्नातकोत्तर सकेकी छन्। 

नेपालसँगै उनले भारतमा समेत जागिर गरिन्। प्रायः ग्राहक सेवासम्बन्धी क्षेत्रमा थिइन्। तर जागिरले उनलाई लामो समय बाँध्न सकेन। २०७३ सालको अन्तिमदेखि उनी जागिरबाट टाढिइन् र कपडा व्यवसायसँगै नजिकिइन्।

त्यति बेला नेपाल मेडिसिटी अस्पताल निर्माणको काम अन्तिम चरणतिर थियो।

अर्तीले सोचिन्, ‘त्यत्रो अस्पतालका खाटहरूमा चाहिने तन्ना र सिरानी खोल बनाउने जिम्मा कसले लियो होला? बुझेर हेर्छु! अनि काप क्रिएसन्सबाट बनाउने प्रस्ताव राख्छु।’


Advertisement


सोचेजस्तै उनी अस्पतालमा चाहिने कपडा आफूले बनाउने प्रस्तावसँगै प्रशासनमा पुगिन्। अर्तीका अनुसार अस्पतालको भौतिक संरचना निर्माण काममा व्यस्त प्रशासनले यो विषयमा उति चासो देखाउन भ्याएको थिएन। उनीहरूले भारतबाट कपडा मगाउने सोचेका रहेछन्।

‘उहाँहरूको ध्यान कम गएको विषय हुनाले पनि मेरो प्रस्ताव मन पराउनुभयो। तन्ना र सिरानी खोलसँगै डाक्टर, नर्स र बिरामीलाई लगाउने लुगा बनाउने जिम्मा लियौं,’ उनले पहिलो कामबारे भनिन्। यसरी काप क्रिएसन्सले आधिकारिक रूपमा २०७४ वैशाखदेखि काम थाल्यो।

काप क्रिएसन्स सञ्चालनका लागि सुरूमा अर्तीले १५ लाख रूपैयाँ लगानी गरिन्। यसमा केही बचत गरेको र केही परिवारबाट सहयोग लिएको रकम थियो।

अर्तीले मेडिसिटी अस्पतालसँग काम गर्दा प्रत्यक्ष रूपमा ग्राहकमाझ आफ्नो उत्पादन पुर्‍याउन पाइनन्। आफूले बनाएका कपडाको गुणस्तर सर्वसाधारणले समेत मन पराउने उनको विश्वास थियो। त्यसैले बजार विस्तार गर्ने सोचिन्।

अस्पतालका लागि बनाइएका कपडा सादा थिए, बिना बुट्टाका। सर्वसाधारणका लागि भने बुट्टा भरेर बेच्ने सोचिन्। यसका लागि उनले बहिनी अन्जी लाखेसँग कुरा गरिन्। अन्जीले दिदीलाई मद्दत गर्ने भइन्। उनले डिजाइनिङ र विशेषगरि तन्ना र सिरानी खोलका बुट्टा बनाउने जिम्मा लिइन्।

यता अर्ती थप सामग्री निर्माणमा लागिन्। उनले बेबी-बेडिङ सेट (बच्चालाई आवश्यक सिरक, डसना र सिरानीको सेट) र खास्टोको पनि राम्रो सम्भावना देखिन्। त्यहीअनुसार थैबमा भएको बुवाकै टेक्सटाइल कारखानाबाट कपडा बनाउन थालिन्।

यसरी दिदी अर्ती र बहिनी अन्जी मिलेर बनाएका सामग्री इन्स्टाग्राम र फेसबुकमार्फत बिक्रीका लागि पोस्ट गरे। काप क्रिएसन्सले बनाएका कपडा विलासी देखिनुका साथै किफायती छन्। त्यसैले छोटो समयमै राम्रो बजार लियो।

यहाँ तीन सय पचासदेखि १२ हजार रूपैयाँसम्मका सामान पाइन्छन्।

‘नेपाली कपडा पनि यस्तो राम्रो भन्ने थुप्रै ग्राहक हुनुहुन्छ,’ अर्तीले भनिन्, ‘अझै पनि नेपालमा बनेको कपडा वा कुनै सामग्री कम गुणस्तरको हुन्छ भन्ने सोचाइ छ। जुन एकदमै गलत हो। काप क्रिएसन्समार्फत नेपालमा उत्पादित कपडा पनि गुणस्तरीय हुन्छ भन्ने बुझाउँदै छौं।’

अर्तीका अनुसार यी कपडा नेपालका विभिन्न कलाकार र सेलेब्रेटीले पनि प्रयोग गर्छन्।

‘कतिपय आफैं सोध्दै आउनुहुन्छ, कतिपयकहाँ भने हामी आफैं सामग्री लिएर पुगेका छौं। यसले हामीबीच सम्बन्ध बनाउनुका साथै ब्रान्डिङमा पनि मद्दत पुर्‍याएको छ,’ उनले भनिन्। 

‘काप’ नेपाल भाषाको शब्द हो। यसले कपडा भन्ने अर्थ दिन्छ। अर्तीका अनुसार कपडा सम्बन्धी रचनात्मक काम हुनाले व्यवसायको नाम काप क्रिएसन्स राखिएको हो। यो नाम उनलाई श्रीमान निरन्जन जोशीले सुझाव दिएका हुन्। उनीहरूको विवाह भएको पाँच वर्ष भयो। दुई वर्षका छोरा समेत छन्। 

३३ वर्षीया अर्तीले घर र माइती दुवैतिरबाट काममा समर्थन पाएकी छन्। जागिर छाडेर नयाँ पेसामा लाग्ने निर्णयमा सबैले साथ र हौसला दिए। परिवारको साथले मनोबल बढ्ने उनको विश्वास छ।

‘आफूलाई मन लागेको काममा हात हाल्दा परिवार रिसाउँछन् भन्ने हुँदैन। ढिलो-चाँडो सबैले साथ दिनुहुन्छ,’ उनले भनिन्।

काप क्रिएसन्सका सुरूआती दिनमा ‍अर्ती र अन्जी निकै खटे। उनीहरू ग्राहकसँग अनलाइनमार्फत कुरा गर्नेदेखि सामग्रीको प्याकेजिङ र डेलिभरी गर्नसम्म पुगे। यति बेला भने अन्जी आफ्नै अन्य काममा व्यस्त छिन्। काप क्रिएसन्स सम्हाल्ने अर्ती एक्लै हुन्।

अनलाइनबाट सुरू भएको काप क्रिएसन्सले दुई वर्षदेखि कुपन्डोलमा पसल पनि चलाइरहेको छ। अर्तीका अनुसार प्रायः ग्राहकले आफैंले हेरेर-छामेर कपडा किन्न रूचाउँछन्। यसले उनीहरूको व्यापारमा सकारात्मक प्रभाव पारेको छ।

पसलमा उनीबाहेक थप तीन जना कर्मचारी छन्। छोरा सानै भएकाले अर्ती पहिले जति पसलमा समय दिन पाउँदिनन्। व्यवसाय भने राम्ररी सम्हालिरहेकी छन्।

अर्तीका अनुसार काप क्रिएसन्सका उत्पादन अमेरिका, हङकङ, अस्ट्रेलियालगायत देशमा पनि पुगिसकेको छ। त्यस्तै दैनिक दर्जन ग्राहक आए पनि विशेष पर्व तथा चाडवाडमा सामानको माग तीन गुणा बढ्छ।

सुरूमा नेपालमै उत्पादित सामग्री मात्रै बिक्री गर्ने अर्तीले अहिले केही भारतीय सामान पनि राखेकी छन्। आफैं उत्पादन गरेकाले माग पुर्‍याउन नसकेपछि आयात गर्नुपरेको उनी बताउँछिन्।

तन्ना, सिरानी खोल, बेबी-बेडिङ सेट, खास्टोबाहेक ब्ल्यांकेट, चकटी, कुसन खोल, पर्दा, टेबलमा राख्ने कपडा, म्याट, वासिङ मेसिनको खोल, बाथ-रोब, तौलिया, ह्विन्ड-चाइम्स (भित्तामा झुन्ड्याउने सजावट सामग्री), कफ्तान (म्याक्सी जस्तो खुकुलो लुगा) यहाँ पाइन्छ। अर्तीका अनुसार प्रायः महिला छन्। लक्षित ग्राहक भने हरेक उमेर, वर्गका व्यक्ति हुन् जो सामानको गुणस्तरमा विश्वास राख्छन्।

कोरोना महामारी र लकडाउनले केही समय सुस्ताए पनि काप क्रिएसन्स फेरि उक्सिँदै छ। अर्ती अहिले वेबसाइट बनाउन लागि परेकी छन्।

‘वेबसाइट भएपछि स्वदेशी तथा विदेशी बजारसम विस्तार गर्न सहज हुन्छ भन्ने छ,’ उनी दीर्घकालीन योजनाबारे भन्छिन्, ‘काप क्रिएसन्समार्फत नेपालमा उत्पादित कपडा विदेशमा चिनाउने योजना छ। यसलाई नेपाली ब्रान्डका रूपमा विस्तार गर्नुछ।’

भविष्यमा बाहिरी जिल्लामा पसल खोल्ने योजना पनि छ।

नतिजाभन्दा कामको गति र वर्तमान प्रक्रियामा विश्वास राख्ने अर्ती मानिसमा जोस भए जुनकुनै काममा सफलता पाइने बताउँछिन्। उनले जागिर छाडेर नयाँ व्यवसाय गर्दा ‘भोलि के होला?’ भन्ने कहिल्यै सोचिनन्। जोसका साथ प्रक्रियामा विश्वास राखिन्। बजारमा काप क्रिएसन्सलाई विस्तार गर्ने उनको जोस रत्ति कम भएको छैन।

‘मैले व्यापारका लागि नभएर आफ्ना लागि व्यवसाय थालेँ। हालसम्म ग्राहकको प्रतिक्रिया सकारात्मक छ। त्यसमै सन्तुष्टि मिल्छ,’ अर्तीले भनि्न् ‘आफूलाई जे गर्न मन छ त्यसमै केन्द्रित भए सफलता र सन्तुष्टि दुवै पाइन्छ।’

Copy link
Powered by Social Snap