२०८१ बैशाख ११

प्रदेश १: भोलि भीम आचार्यको सरकार बिदा गर्ने विपक्षी गठबन्धनको निर्णय

प्रदेश १ को विपक्षी गठबन्धनले सोमबार प्रदेश सभामा मुख्यमन्त्री भीम आचार्यले लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। 

गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय पनि गरेको छ।


Advertisement


नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेताहरूको आइतबार विराटनगरमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो। 

‘भोलि भीम आचार्य नेतृत्वको सरकारलाई एकमतका साथ बिदा गर्ने र राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने हाम्रो गठबन्धनको निर्णय भएको छ,’ माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले भने। 

प्रदेश सभामा सत्तारुढ एमाले प्रष्ट अल्पमतमा छ भने विपक्षी गठबन्धन आरामदायी बहुमतको अवस्थामा छ।

मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान भएको भए आजै आचार्य पदमुक्त हुने थिए। किनकी ९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्नेमा आचार्यले ३९ मत मात्र पाउने अवस्था छ।

प्रदेश सभामा एमालेका ४१ सांसद रहेपनि सभामुख प्रदिपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र गुलेफुन मियाँ फरार छन्।

विपक्षी गठनबन्धन भने ५० मतसहित नयाँ सरकार निर्माणको तयारीमा थियो।

गठबन्धनमा नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन्। राप्रपाका १ सांसद भने कतै खुलेको अवस्था छैन।

Copy link
Powered by Social Snap