२०८१ बैशाख १३

हाइ अल्टिच्युडमा राष्ट्रिय रिङ रेस्लिङ : चट्टान बने च्याम्पियन

पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेवी वेटतर्फको उपाधि चट्टानले जितेका छन्।

दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन्।

आरडब्लूको हेवी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्ट प्राप्त गरे। बेल्ट सहित उनले १ लाख ५० हजार रुपैयाँ हात पारे।


Advertisement


प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङको आयोजना गरेका हुन्। खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले रेस्लिङको आयोजना गरिएको हो। 

प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते। उनले उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे। ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने। उपाधि सहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे।  

लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने। साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे। ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने। उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे‍। 

खेलकुद मन्त्री महेश्वर गहतराजले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका थिए। उनले खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताएका थिए।

प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले यस प्रकारका प्रतियोगिता आयोजना गर्न स्थानीय तह आफै सक्रिय बन्नुपर्ने बताए। उनले केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यबाट मात्र खेलकुद पर्यटनको विकास गर्न सकिने धारणा राखे।

नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले रेस्लिङ खेलप्रति दोलाखाबासीले देखाएको सद्भावका लागि धन्यवाद दिईन्।उनले प्रतियोगिता आयोजनाका लागि प्रदेश सरकार र स्थानीय सरकारले प्रदान गरेको सहयोगको प्रशंसा गरिन्।

Copy link
Powered by Social Snap