२०८० चैत्र १६

क्विन्टन डिककले माफी माग्दै भने- कसैको अपमान गर्ने मेरो उद्देश्य थिएन

युएईमा जारी सातौं संस्करणको टि-ट्वान्टी विश्वकप क्रिकेटमा ‘ब्ल्याक लाइभ म्याटर’ अन्तर्गत घुँडा टेक्न अस्वीकार गरेका दक्षिण अफ्रिकी विकेटकिपर ब्याट्सम्यान क्विन्टन डीककले माफी मागेका छन्। 

‘ब्ल्याक लाइभ म्याटर’मा सहभागी नभएकै कारण वेस्टइन्डिज विरूद्धको खेल नखेलेका डिककले बिहिबार एक विज्ञप्ति जारि गरि समर्थक र टिमसँग माफी माग्दै प्रतियोगिताको बाँकी खेलमा घुँडा टेकेर अभियानमा साथ दिने बताएका छन्।

आफूले घुँडा टेक्दा अरूका लागि शिक्षा दिन सहयोग हुन्छ र मानिसहरूको जीवन सुधार हुने भए आफू खुसीसाथ यस्तो काम गर्न तयार रहेको उनले बताएका छन्।

‘यदि मैले घुँडा टेक्दा अरूलाई शिक्षा दिन सहयोग हुन्छ र मानिसहरुको जीवन सुधार हुन्छ भने म खुसी साथ यो काम गर्न तयार छु,’ डीककले  भनेका छन्।


Advertisement


दक्षिण अफ्रिकी क्रिकेट बोर्डसँग छलफल पछि डीककले यो अभियानको उद्धेश्यबारे थाहा भएको भन्दै उनले देशको लागि खेल्नुभन्दा आफ्नो कुनै अर्को ठूलो नरहेको स्पष्ट पारे। ‘मैले दक्षिण अफ्रिकी बोर्डसँगको छलफलपछि उहाँहरुको उद्देश्यबारे बुझेँ र मलाई मेरो देशको लागि पुनः खेल्नुभन्दा अरू कुरा महत्वपूर्ण छैन,’ उनले विज्ञप्तिमा भनेका छन्,‘म मेरो टिममेट र फ्यानसँग माफी माग्दै यसको सुरुवात गर्न चाहन्छु।’

आफूलाई नश्लवाद विरुद्ध उभिनुको महत्व थाहा भएको भन्दै उनले एउटा खेलाडीको रुपमा वहन गर्नुपर्ने जिम्मेवारीसमेत बोध भएको बताएका छन्।

आफूमा कुनै पनि किसिमले वेस्टइन्डिज र विशेष रुपमा वेस्टइन्डिज बिरुद्ध नखेलेर कसैको अपमान गर्ने उद्देश्य नभएको भन्दै उनले आफूले गरेका सबै चोट, भ्रम र क्रोधको लागि माफि माग्न चाहेको बताएका छन्।

‘धेरैलाई थाहा न हुनसक्छ कि, म मिश्रित जातिको परिवारबाट आएको हुँ। मेरो सौतेनी बहिनी स्वेत छिन् भने मेरो सौतेनी आमा अस्वेत हुनुहुन्छ। मेरो लागि मेरो जन्मपछि अश्वेत जीवनले महत्व राख्छ। अन्तर्राष्ट्रिय आन्दोलन भएर मात्रै हैन। सबै मानिसको अधिकार र समानता कुनै पनि व्यक्तिको तुलनामा अधिक महत्वपूर्ण हुन्छ। मलाई निर्देशन दिंदा मलाई लागेको थियो कि मेरो अधिकारमा कसैले हस्तक्षेप गरेको छ,’ उनले विज्ञप्तिमा भनेका छन्।

उनले प्रतियोगिता सुरु हुनु अघिनै यस्तो विषयमा सल्लाह भएको भए राम्रो हुने बताए।

‘विश्वकपमा नाटक जस्तो भयो जुन राम्रो हैन। म मेरो टिममेट, विशेषगरि मेरो कप्तान तेम्बालाई धन्यवाद दिन चाहन्छु। मानिसलाई थाहा नहोला तर उनी गजबको नेतृत्वकर्ता हुन्। यदि उनी र टिम तथा दक्षिण अफ्रीका मसँग छ भने मलाई मेरो देशको लागि पुनः खेल्नु भन्दा बढी केही कुरा हैन,’ डीककले भनेका छन्।

वेस्टइन्डिजसँग खेलको ठीक अगाडि दक्षिण अफ्रिका क्रिकेट बोर्डले विज्ञप्ति जारी गर्दै सबै खेलाडीलाई ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानमा सहभागी हुन निर्देशन दिए पनि डिककले त्यसलाई नमानेपछि उनले वेष्टइन्डिजविरूद्धको खेल गुमाएका थिए।

‘नश्लवादविरूद्ध एकजुट हुनु अनिवार्य छ। अझ दक्षिण अफ्रिकाको इतिहास हेर्ने हो भने। विश्वका अन्य टिमहरुले यो मुद्दामा साथ दिएका छन् र बोर्डले यो महसुस गरेको छ कि सबै दक्षिण अफ्रिकी खेलाडीले यस्तो गर्ने समय आएको छ,’ विज्ञप्तिमा भनिएको थियो छ।

अभियानमा सहभागी खेलाडीले कसैले घुँडा टेकेर, कसैले मुठ्ठी उठाएर या छातिमा हात राखेर समर्थन गर्ने गर्छन्। दक्षिण अफ्रिकाको पछिल्लो खेलमा अस्ट्रेलियाविरूद्ध कप्तान बभुमाले घुँडा टेक्दै गर्दा डिकक उभिएका मात्र थिए। अर्थात् ब्ल्याक लाइभ्स म्याटर अभियानमा डिककको सहभागिता थिएन। 

यसैबीच दक्षिण अफ्रिकी बोर्डले जारि गरेको विज्ञप्तिमा मानिसहरूको अभिव्यक्ति स्वतन्त्रताको बिभिन्न पाटो रहे पनि नश्लवादको बिरुद्ध उभिने कुरामा त्यो कुरा लागू नहुने बताइएको छ। ‘घुँडा टेक्नु खेलाडीले नश्लवादविरूद्ध इशारा गर्नु हो र यसले सबै यसको विरूद्ध छन् भने सन्देश दिन्छ। नश्लवाद रोक्नको लागि हामि एकजुट हुनु पर्छ। हाम्रो कमजोरी बढाउन यो कुरामा हेरफेर हुनु हुँदैन,’ विज्ञप्तिमा भनिएको थियो।

दक्षिण अफ्रिकाको लागि ५८ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका २८ वर्षीय डिककले ३४.६ को औशत र १३५.६६ को स्ट्राइक रेटमा १,७६५ रन बनाएका छन्। 

उनी टि-२० अन्तर्राष्ट्रियमा जेपी डुमिनी (१,९३४ ) पछि दक्षिण अफ्रिकाको दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन्।

दक्षिण अफ्रीकाले प्रतियोगितामा आगामी खेल अक्टोबर ३० तारिखमा श्रीलंकासँग खेल्ने तालिका रहेको छ। पहिलो खेलमा उसले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो। खेलमा डीककको स्थानमा रेजा हेन्ड्रिक्सले मौका पाएका थिए भने हेनरिच क्लासेनले किपिङ सम्हालेका थिए।

Copy link
Powered by Social Snap