२०८१ बैशाख १४

सर्वोच्चमा भइरहेको गतिविधि दुर्भाग्यपूर्ण- प्रदीप ज्ञवाली

नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको गतिविधि दुर्भाग्यपूर्ण रहेको बताएका छन्। 

बिहीबार ललितपुरको च्यासलस्थित बसेको स्थायी कमिटीको बैठकपछि प्रवक्ता ज्ञवालीले पत्रकारहरूसँग कुराकानी गर्दै सर्वोच्चमा भइरहेको गतिविधि दुर्भाग्यपूर्ण रहेको बताएका हुन्। 


Advertisement


‘न्यायालयमा जे भइरहेको छ त्यो दुर्भाग्यपूर्ण छ,’ उनले भने, ‘राज्यको महत्वपूर्ण अंग र लोकतन्त्रको संरक्षक न्यायालयमा जुन ढंगको प्रदूषण भित्रिएको छ, जुन गुटबन्दी देखिएको छ, जुन चरम अराजकता व्याप्त भएको छ त्यसबाट हामी दुखित छौं।’ 

अहिले न्यायाधीशहरू प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग गर्दै आन्दोलित छन्। आन्दोलनकै कारण तीनदिन देखि इजलास बन्द छ।

न्यायाधीशहरूको गुटबन्दीका कारण सर्वसाधारण सेवाग्राही मर्कामा परिरहेको ज्ञवालीले बताए। 

‘यसले संकटकालमा समेत रोक्न नपाइने बन्दीप्रत्येक्षीकरणका मुद्दाहरू समेत प्रभावित भएका छन्। यो झगडामा संलग्न उहाँहरूले एकचोटि आफैंलाई फर्केर हेर्नुपर्ने हो,’ उनले भने। 

उनले न्यायाधीशहरूको गतिविधि अशोभनीय समेत रहेको बताए। उनका अनुसार न्यायालयको सुधारको लागि तीन वटा कुरा हुनुपर्छ। 

लक्ष्मण रेखा तोडेर राजनीतिक मुद्दामा प्रवेश गर्ने न्यायाधीशहरू जवाफदेही हुनुपर्ने उनको भनाइ थियो। 

‘पहिलोमा जो-जो न्यायाधीशहरूले निश्चित दलहरू, निश्चित नेताहरूको स्वार्थको लागि राजनीतिक फैसला गर्नुभयो, राजनीतिक क्षेत्रमा प्रवेश गर्नुभयो। जुन प्रवेश गर्न मिल्दैन, एउटा लक्ष्मण रेखा कोरिएर राखेको हुन्छ त्यो रेखा नाघेर जानुभयो उहाँहरू सामूहिक जवाफदेही हुनुपर्छ,’ उनले थपे,’ दोस्रो न्यायाधीश हरि कृष्ण कार्कीको संयोजकत्वमा प्रतिवेदन तयार गरेको छ। जहाँ अदालतभित्र कुन हदसम्मका विकृति हुन्छन् भन्ने बाहिर आएको छ। त्यो प्रतिवेदन कार्यान्वयन गर्‍यो भने न्यायालयको सुधार हुन्छ।’

तेस्रोमा सडकबाट प्रधानन्यायाधीश वा न्यायाधीशहरू हटाउने वा नियुक्ति गरिनु नहुने उनले बताए। 

‘सडकबाट फैसला गर्ने। प्रधानन्यायाधीश वा न्यायाधीशहरूलाई नियुक्ति गर्ने पनि संवैधानिक विधि छ, हटाउने पनि विधि छ। त्यो भन्दा बाहिर जानु हुँदैन। विधिभन्दा बाहिरबाट गरिने यो खालका गतिविधिहरू गलत छन् र यो खालका गतिविधिमा नेकपा एमालेको सहभागिता हुने छैनन्।’

Copy link
Powered by Social Snap