२०८१ बैशाख ४

सुर्खेतमा आइतबारदेखि विद्यालय खुल्दै

सुर्खेत जिल्लामा आइतबारदेखि विद्यालयहरु सञ्चालन हुने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएका हुन् । त्यसका लागि शुक्रबार  बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

उनले भने, ‘स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गरी विद्यालय खुलाउने निर्णय गरिएको हो ।’ विद्यालय खुलाउने सम्बन्धमा सम्बन्धित स्थानीय तहको शिक्षा शाखाको सहभागितामा कोरोना संक्रमणको अबस्था हेरिने उनले बताए ।


Advertisement


सुर्खेतका नौ मध्ये ६ वटा स्थानीय तह स्मार्ट लकडाउन कार्यविधि अनुसार ‘ग्रीन जोन’ मा परेको र भौतिक रुपमा विद्यालय खुलाउन सकिनेछन् । प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’ मा र भेरीगंगा तथा गुर्भाकोट नगरपालिका यल्लो जोनमा छन् । वीरेन्द्रनगर नगरपालिका ‘रेडजोन’ मा परेपनि जोखिम उठाएर विद्यालय खुलाउन लागिएको हो ।

उनका अनुसार आगामी सातादेखि  सबै सामुदायिक संस्थागत विद्यालयहरु खुल्ने छन् ।

कोरोनाको जोखिम भएका ठाउँमा के गर्ने ? 

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार कोरोना संक्रमणको जोखिम रहेका  वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाको शिक्षा शाखा, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सनको सहभागितामा विद्यालय खुल्ने मापदण्ड निर्धारण गरिनेछ । त्यसका आधारमा रहेर विद्यालय खुलाइने छ । त्यसका लागि अबको दुई÷तीन दिनभित्र मापदण्ड निर्माण गरिने प्रतिवेदन बुझाउने र त्यसका आधारमा विद्यालय खुलाइने छ । 

मापदण्ड निर्धारणका लागि शिक्षा विकास तथा समन्वय इकाई प्रमुखको संयोजकत्वमा एक कार्यदल गठन गरिएको पनि रिजालले जानकारी दिए । जसमा वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाका शिक्षा शाखा प्रमुख, जनस्वास्थ्य सेवा कार्यालय, प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ र शिक्षक अभिभावक संघ सदस्य छन् । यही कार्यदलले मापदण्ड निर्धारण गरी प्रतिवेदन तयार गरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमा पेश गर्नुपर्नेछ । 

विद्यालयहरु खुलाउँदा दुई सिफ्टमा खुलाइने तयारी गरिएको रिजाल बताउँछन् । पञ्चपुरी, लेकबेसी नगरपालिका साथै सिम्ता, चिङ्गाड, बराहताल र चौकुने गाउँपालिकामा कोरोना संक्रमण न्यून भएकोले भौतिक उपस्थितिमा विद्यालय खुलाउन सकिने छ ।  

जनस्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य अधिकृत चेतननिधि वाग्लेले ‘स्मार्ट लकडाउन’ कार्यविधिमा ६५ अंकभार भन्दा माथि कोभिड संक्रमण भएमा ‘रेडजोन’ मा राख्ने र कडा लकडाउन गर्नुपर्ने उल्लेख भएको बताए । वीरेन्द्रनगरको अंकभार ६६ छ । यस्तै भेरीगंगा नगरपालिकाको ४२ र गुर्भाकोटका २१ छ । अंकभारका लागि दिइएका सूचकहरुमा दुई हप्तामा कोभिड नयाँ संक्रमणको बृद्धि दर, मृत्यु दर, बेड क्षमता लगायत रहेका छन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap