२०८१ बैशाख १३

टोकियो ओलम्पिकमा गौरिकाको प्रतिस्पर्धा आज

टोकियो ओलम्पिकअन्तर्गत नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन्।

उनले महिला सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्न लागेकी हुन्। यो स्पर्धामा गौरिका पहिलो हिटमा परेकी छिन्।

यो हिटमा गौरिकासँगै नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी चार खेलाडी छन्। खेल आज दिउँसो ३:४५ बजे हुनेछ।

यो स्पर्धामा सात वटा हिट हुनेछन्। सात हिटमा गरी कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। सेमिफाइनलमा पुग्न शीर्ष १६ स्थानको टाइमिङ निकाल्नु पर्नेछ।


Advertisement


सय मिटर फ्रिस्टायलमा गौरिकाको नाममा नेपालको राष्ट्रिय कीर्तिमान छ। उनले १३औं सागमा ५८.१३ सेकेन्डमा निर्धारित दूरी पार गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। टोकियो ओलम्पिकमा उनले यो टाइमिङ सुधार गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कामय गर्ने लक्ष्य लिएकी छिन्। 

जारी ओलम्पिकको शीर्ष १६ भित्र पर्न गौरिकाले कम्तिमा ५४ सेकेन्डको टाइमिङ निकाल्नु पर्ने हुन्छ। यो स्पर्धामा सहभागी अधिकांश खेलाडीले ५३ र ५४ सेकेन्ड निर्धारित दूरी पार गर्ने गरेका छन्। यो स्पर्धाको विश्व कीर्तिमान ५१.७१ सेकेन्ड रहेको छ।

टोकियो ओलम्पिकमा यसअघि अर्का पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले मंगलबार राष्ट्रिय कीर्तिमान बनाएका थिए। सय मिटर फिस्टायलको पहिलो हिट्समा प्रतिस्पर्धा गरेका उनले निर्धारित दूरी ५३.४१ सेकेन्डमा पौडिदै राष्ट्रिय कीर्तिमान बनाएका थिए। तर उनी दोस्रो चरणमा भने पुग्न सकेनन्। 

यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा पर्सी शुक्रबार प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ।

यसअघि जुडो खेलाडी सोनिया भट्ट पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग पराजित भएकी थिइन्। 

गत शनिबार महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच अन्तिम ३२ मा प्रतिस्पर्धा भएको थियो। जसमा इरिनाले इप्पोनको आधारमा सोनियालाई पहिलो राउन्डमै पराजित गरेकी थिइन्।

शनिबार नै नेपालकी अर्की खेलाडी कल्पना परियारले सुटिङको महिला १० मिटर एयर छनोट चरणमा प्रतिस्पर्धा गरेकी थिइन्। 
उनले राष्ट्रिय कीर्तिमान बनाए पनि अन्तिम चरणमा छनोट हुन सकिनन्। 

कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। यसअघि १३ औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।

Copy link
Powered by Social Snap