२०८१ बैशाख २३

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिइने, मन्त्री छान्ने जिम्मा शीर्ष नेताहरूलाई

बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ।

बुधबार बिहान झन्डै २ घन्टासम्म बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको थियो।

बैठकमा मन्त्रिमण्डल बिस्तार छिट्टै गर्ने विषयमा छलफल भएको छ। 


Advertisement


नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा छलफल भएको बताए।

‘अहिलेसम्म सरकारले गरेका कामकारबाहीको छोटो समीक्षा भयो। मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिनेबारे पनि कुराकानी भएको छ,’ बैठकपछि महामन्त्री खड्काले भने, ‘मन्त्रिमण्डल कहिले बिस्तार गर्ने भन्ने ठोस निर्णय भएको छैन, छिट्टै गर्ने भन्नेछ।’

साथै आजको बैठकमा मन्त्री छान्ने जिम्मा दलका शीर्ष नेतालाई दिने सहमति पनि भएको छ।

गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष छ।

आजको बैठकमा गठबन्धनका नेताहरूले छिटो मन्त्रिमण्डललाई पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएका थिए। मन्त्रीहरू नहुँदा सरकारका कामकारबाही प्रभावकारी हुन नसकेको उनीहरूको भनाइ थियो।

बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत थिए।

गठबन्धन बैठकमा एमाले नेता माधवकुमार नेपाल भने आज अनुस्थित रहे। तर उनले आफ्ना तर्फबाट विजय पौडेललाई बैठकमा पठाएका थिए।

साथै गठबन्धनका दलबाट आज अरू नेताहरू पनि बैठकमा सहभागी रहे। कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए।

यस्तै नेकपा माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ, जसपाबाट अशोक राई, राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल आजको बैठकमा उपस्थित थिए।

महामन्त्री खड्काका अनुसार गठबन्धनबाट सरकारका न्युनतम कार्यक्रम ल्याउनेबारे पनि आज कुराकानी भएको छ।

न्युनतम साझा कार्यक्रम छिटो टुंगो लगाउनुपर्ने आवाज बैठकमा उठेको थियो। त्यसबारे छिटो कार्यक्रम तयार पार्न महामन्त्री खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिइएको छ।

साथै गठबन्धनको बैठकमा कोरोनाविरूद्ध थप खोप ल्याउनेबारे पनि कुराकानी भएको थियो। सरकारले कोरोनाविरूद्ध खोप पर्याप्त मात्रामा ल्याएर जनतालाई छिटो लगाउने व्यवस्थापन मिलाउनुपर्ने सुझाव आएको थियो। 

यस्तै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकोबारे पनि कुरा उठेको थियो। गठबन्धनका दलहरूमा छलफल गरेर मात्रै मन्त्री तथा राज्यमन्त्री र राजनीतिक नियुक्ति हुनुपर्ने सुझाव बैठकमा आएका छन्।

प्रधानमन्त्री देउवाले सांसदसमेत रहेका शिक्षा, कृषिलगायत क्षेत्रमा लगानी गरेका श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेकोमा यसअघि पार्टीभित्रैबाट पनि आलोचना भएको थियो।

‘आज ठोस निर्णयभन्दा पनि सैद्धान्तिक विषयमा धेरै कुराकानी भएको छ,’ महामन्त्री खड्काले भने। प्रधानमन्त्री देउवाले साउन ३ मा विश्वासको मत पाए पनि अहिलेसम्म चार मन्त्री र एक राज्यमन्त्री मात्रै नियुक्त गरेका छन्।

Copy link
Powered by Social Snap