२०८१ बैशाख २५

सिर्जना मृत्यु प्रकरण : ५ दिन बितिसक्दा पनि रहस्य खुलेन

झापा । सिर्जना बस्नेत आफू बस्ने घर सामुन्ने अर्धनग्न अवस्थामा मृत फेला परेको पाँच दिन बितिसक्दा पनि उनको मृत्युसँग सम्बन्धित रहस्य पत्ता लाग्न सकेको छैन ।

असार २७ गते बेलुका परिवारसँगै खाना खाएर सुतेकी बिर्तामोड–५, झापाकी सिर्जना बस्नेतको असार २८ गते बिहान आफू बस्ने घर अगाडि अर्धनग्न अवस्थामा शव फेला परेको थियो ।

घटना शंकास्पद र समवेदनशील भएको भन्दै प्रहरीले धरानबाट ‘ट्रयाकर डग’ झिकाएर अनुसन्धान अगाडि बढायो । ‘ट्रयाकर डग’ मृतक बस्ने घरकै तीन तल्लासम्म पुगेर फर्किएको प्रहरी अधिकारी बताउँछन ।


Advertisement


प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट फरेन्सिक टोलीसमेत बोलाएर घटनास्थलमै शवको बाहिरी परीक्षण गरेको थियो ।

घरका सबै ढोकाहरु भित्रैबाट बन्द हुनु र खाना खाएर सुत्न गएकी सिर्जना बिहान घर बाहिर अर्धनग्न अवस्थामा मृत भेटिनुले घटना शंकास्पद बनाएको छ । प्रहरीले सुक्ष्म ढङ्गबाट घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

मृतक बस्नेतले प्रयोग गर्ने मोबाइल फरेन्सिक जाँचका लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख एवं डिएसपी सन्तोष आचार्यले जानकारी दिए । प्रहरीले घटनालाई हत्या र आत्महत्या दुवै कोणबाट अनुसन्धान गरिरहेको उनले बताए ।

प्रहरीले सिर्जनाका आफन्तसँग घटनाको विषयमा बुझ्ने काम भइरहेको जनाएको छ । मोबाइलको फरेन्सिक जाँच र पोष्टमार्टमको रिपोर्ट आइसकेपछि घटनाको बारेमा केही तथ्य पत्ता लाग्ने प्रहरीको भनाइ छ । मृतकका आफन्तले सिर्जना छतको ‘वाल’मा बस्दा खसेको हुनसक्ने बताएका छन् । चारतले घरको छतको कोठामा आफन्त बहिनीसँगै सुत्ने सिर्जना त्यसदिन एक्लै थिइन् भने परिवारका अन्य सदस्य दोस्रो तलामा बस्दै आएका थिए । मृतकको टाउकोको पछाडिको भाग र कम्मरको भागमा चोट देखिएको प्रहरीले जनाएको छ ।

सोही क्षेत्रमा केही समय पहिले एक पुरुषको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको थियो । समय समयमा यस्ता घटना प्रकाशमा आउनु तर घटनासँग जोडिएका रहस्य पत्ता लाग्न नसक्नुले सुरक्षा चुनौती बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap