२०८१ बैशाख २३

पूरा भयो मेसीको पहिलो धोको!

अन्तत: लिओनल मेसी र उनको देश अर्जेन्टिना अन्तर्राष्ट्रिय उपाधि उचाल्न सफल भए।

कोपा अमेरिका २०२१ अन्तर्गत आइतबार बिहान भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि पहिलो उपाधि जित्यो। मेसीका लागि अर्जेन्टिनाको जर्सीमा पहिलो मुख्य अन्तर्राष्ट्रिय उपाधि हो।

सन् १९९३ मा कोपाको उपाधि जितेयता अर्जेन्टिना मुख्य प्रतियोगिताको पाँच फाइनल पुगेको थियो। जसमा मेसीले चार फाइनलमा खेलेका थिए। तर ती सबै फाइनलमा उपाधि जित्न अर्जेन्टिना असफल भयो।


Advertisement


१९९३ यता अर्जेन्टिना र मेसी अभागी सावित भइरहे। क्लब फुटबलमा निरन्तर उत्कृष्ट प्रदर्शन गर्ने मेसीले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाबाट राम्रो नखेलेका पनि होइनन्।

तर उनी र उनको देश २८ वर्षसम्म ‍अभागी सावित भए।

अर्जेन्टिनाले सन् १९९३ यता कोपा अमेरिकाको उपाधि जितेयता चार पटक र सन् १९९६ को विश्वकप जिते यता एक पटक फाइनलमा स्थान बनायो। 

सन् २००५ मा १८ वर्षको उमेरमा हंगेरीविरूद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका मेसीले ठूला प्रतियोगितामा लगातार उपाधिविहीन भएपछि सन् २०१६ मा अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिने घोषणा गरेका थिए।

तीन वर्षमा मेसीकै कप्तानीमा तीन ठूला प्रतियोगिताको फाइनलमा पुगेको अर्जेन्टिना सबैमा उपाधिविहीन भयो। त्यसैको चोटमा परेका मेसीले अन्तर्राष्ट्रिय खेलबाट विदा लिने अप्रत्यासित निर्णय गरेका थिए।

सन् २०१४ मा विश्वकप फुटबलको फाइनल पुग्यो तर जर्मनीसँग पराजित हुँदै उपविजेतामै सीमित भयो। विश्वकपमा उपाधिविहीन फर्किए पनि कोपा अमेरिकाको उपाधि जितेर विश्वकपमा लागेको घाउमा मल्हम लगाउने धुनमा रहेको अर्जेन्टिना फेरि २०१५ मा भएको कोपा अमेरिकाको फाइनलमा चुक्यो। आयोजक चिलीले पेनाल्टी सुटआउटमा मेसीको टोलीलाई पराजित गर्‍यो।

लगातार दोस्रो पटक मेसीकै कप्तानीमा कोपा अमेरिकाको फाइनल पुगेको अर्जेन्टिना फेरि २०१६ मा अभागी सावित भयो। अर्जेन्टिना समूह चरण र बाँकी खेलमा सानदार जित हात पार्दै फाइनल पुगेको टोली थियो, तर फाइनलमा फेरि तेस्रो पटक चुक्यो त्यो पनि मेसीकै कप्तानीमा, त्यो पनि चिलीसँगै हार्‍यो। अनि मेसीले तत्काल अन्तर्राष्ट्रिय खेल छाड्ने निर्णय लिएका थिए।

स्पेनिस बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने मेसीका लागि राष्ट्रिय टोलीमा सन् २००५ मा डेब्यु गरे यता सन् २००८ मा ओलम्पिकमा स्वर्ण र २० वर्ष मूनिको विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाको जर्सीमा हासिल गरेको उपलब्धि मान्नु परेको थियो।

सन् १९८६ को विश्वकपको सेमिफाइनलमा इंल्याण्डविरुद्धको खेलमा डियगो म्याराडोनाले हातले गोल गर्दै अर्जेन्टिनालाई फाइनल पुर्‍याएका थिए। त्यतिबेला फाइनलमा जर्मनीलाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप फुटबलको उपाधि जित्यो। सायद इंग्ल्याण्डलाई हातले हानेको गोलको श्राप लाग्यो, अर्जेन्टिनाले त्यसपछि विश्वकप जितेको छैन।

सन् १९८६ को विश्वकपमा इंल्याण्डविरूद्धको खेलमा म्याराडोनाले हातले गोल गरेपछि उनले त्यो गोललाई आफैंले ‘ह्यान्ड अफ गड’ अर्थात् भगवानको हातको संज्ञा दिएका थिए।

विश्वकप जितेपछि फेरि फुटबलमा अर्जेन्टिनाको नयाँ युग सुरूभएको भनियो। तर मेसीको युगसम्म आउँदा अर्जेन्टिना उपाधिविहीन हुँदा समर्थकमा निराशाको बादल मडारिएको थियो। फाइनलमा पुगेर पनि सधै उपाधिविहीन हुने अभागी टोली सावित भयो र टोलीमा रहेका स्टार खेलाडी अभागी नै ठहरिए।

मेसी अर्जेन्टिनी राष्ट्रिय टिममा उदाएसँगै उनकै महत्वपूर्ण योगदानमा अर्जेन्टिना चार पटक फाइनल पुग्यो तर चारपटक हार्यो अर्थात उपाधिविहीन भयो।

मेसीले क्लबमा खेलेजस्तै खेल मुलुकका लागि खेल्दैनन् भन्नु एउटा महान खेलाडी माथि अन्याय हुन्छ। तर यो पनि सत्य हो, मेसीले जसरी आफ्नो क्लबलाई जित दिलाउने गरेका छन्, आफ्नो देशको सन्दर्भमा त्यतिकै अभागी ठहरिरहे।

मेसी स्वंयले क्लबमा राखेको कीर्तिमानी जस्तै अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाका लागि पनि राखेका छन्। मेसी अर्जेन्टिनाका लागि टप स्कोरर हुन् उनले खेलेका १५१ खेलमा ७६ अन्तर्राष्ट्रिय गोल गरेका छन्।

मेसीले सन् २०१६ मा संन्यास घोषणा गरेपछि उनलाई फुटबलमा फर्काउन समर्थकले अभियान नै थालेका थिए। ‘डन्ट गो, लियो’ भनेर थालिएको अभियान क्षणभरै संसारभर फैलिएको थियो।

पछि ब्युनोस आयर्स मेयरले मेसीको मूर्ती बनाएर मेसीलाई संन्यास फिर्ता लिन आग्रह गरेका थिए। मेसीलाई संन्यास फिर्ता लिनका लागि अर्जेन्टिनाको राजधानीमा एकैपटक ५० हजार दर्शक उपस्थिति भएका थिए। त्यसको एक सातापछि मेसीले संन्यास फिर्ता गरेका थिए।

१२ अगस्ट २०१६ मा संन्यास फिर्ता लिएका मेसीको काँधमा अर्जेन्टिनालाई सन् २०१८ को विश्वकप छनोट गराउने जिम्मा आएको थियो। विश्वकप छनोट जारी रहदा मेसी २०१७ मा चार खेलको अन्तर्राष्ट्रिय प्रतिबन्धमा परे। त्यसपछि अर्जेन्टिनाको विश्वकप छनोट यात्रा संकटमा पर्‍यो।

अर्जेन्टिना १९७० पछि विश्वकप मा छनोट नहुने अवस्था आउँदा मेसीमाथि सारा अर्जेन्टिनाका समर्थकको भरोसा थियो। तर महत्वपूर्ण खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई ३-१ ले हरायो। खेलमा पछि परेको स्थिति उल्टाउने क्रममा मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा पुर्‍याएका थिए।

सन् २०१८ को विश्वकपमा अर्जेन्टिनाको राम्रो सुरुवात हुन सकेन। पहिलो खेलमा अर्जेन्टिनालाई आइसल्यान्डले १-१ गोलको बराबरीमा रोकेको थियो। खेलमा मेसीले पेनाल्टीमा गोल चुकाउँदा अर्जेन्टिनाले जितबाट बिमुख बनेको थियो। दोस्रो खेलमा अर्जेन्टिनालाई क्रोएसियाले ३-० ले हरायो। अन्तिम खेलमा नाइजेरियालाई २-१ हराएर अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गरेको थियो। तर अन्तिम १६ मा फ्रान्ससँग पराजित हुँदा अर्जेन्टिना विश्वकपबाट बाहिरियो।

अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार अफल भइरहेका मेसीका लागि कोपा अमेरिका २०१९ अर्को अवसर ठानिएको थियो। तर कोपामा पनि मेसी फेरि चल्न सकेनन्। समूहको पहिलो खेलमा पराजित भएको अर्जेन्टिनाले दोस्रो खेलमा पाराग्वेसँग बराबरी खेलेको थियो।

क्वार्टरफाइनलमा भेनेजुएलालाई २-० ले पराजित गरेर सेमिफाइनलमा स्थान पक्का गरेपछि अर्जेन्टिनाको भाग्य फर्कने धेरै विश्वास गरेका थिए। भाग्य फर्काउन अर्जेन्टिनाले सेमिफाइनलमा चिरिपरिचित प्रतिद्वन्द्वी ब्राजिललाई हराउनु पर्ने थियो। तर मेसी र उनको टिम अर्जेन्टिना फेरि एक पटक अभागी ठहरियो। ब्राजिलसँग २-० ले पराजित हुँदै सेमिफाइनलबाट घर फर्कन बाध्य भयो।

दुई वर्षपछि भने अर्जेन्टिना र मेसीको दिन आयो। कोपा अमेरिका २०२१ को उपाधि भिडन्तमा ब्राजिललाई १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले २८ वर्षपछि तथा मेसीले पहिलो पटक उपाधि उचाल्न सफल भए।

कोपा अमेरिका २०२१ का अर्जेन्टिना अपराजित रहँदै उपाधि जित्न सफल भयो। समूह चरणमा चार मध्ये तीन खेलमा जित हात पारेको अर्जेन्टिनाले एक खेल बराबरी खेल्यो।

क्वार्टरफाइनलमा इक्वेइडरमाथि ३-० गोलको जित निकालेको अर्जेन्टिनाले कोलम्बियाविरूद्ध सेमिफाइनलमा कठिन जित हात पारेको थियो। सेमिफाइनलमा निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ३-२ को जित निकाल्यो। पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलकिपर एमी मार्टिनेजले कोलम्बियाका तीन पेनाल्टी विफल पारेपछि अर्जेन्टिना अर्को उपाधि नजिक पुगेको थियो।

मुख्य प्रतियोगिताको पाँच वटा फाइनलमा असफल भइसकेको अर्जेन्टिनाका लागि कोपा २०२१ एउटा अवसर बनेर आएको थियो। जसमा सफल हुँदै अर्जेन्टिनाले आफ्ना समर्थकलाई खुसी दिन सफल भयो।

३४ वर्षीय मेसीका लागि कोपा २०२१ उपाधि जित्ने अन्तिम अवसर ठानिएको थियो। जुन अवसरमा मेसी र उनको टिम अर्जेन्टिना सफल भए। योसँगै मेसी सर्वकालीन महान् खेलाडीको सूचीमा निर्विकल्प अग्रस्थानमा रहन सफल भए।

मेसीले अब सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिता खेल्ने सम्भावना छ। उक्त विश्वकपको उपाधि उचाल्ने अवसर पाए भने सायद फुटबलमा मेसीको कुनै धोको बाँकी रहने छैन!

Copy link
Powered by Social Snap