२०८३ कार्तिक १२

संक्रमित स्वास्थ्यकर्मीले नै गर्छन् कोरोनाका बिरामीको उपचार

Credit: OnlineKhabar

१२ भदौ, काठमाडौं । काभ्रेको साँगास्थित स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रमा कोरोना संक्रमित बिरामीको उपचार गर्न कोरोना संक्रमित स्वास्थ्यकर्मी नै खटिएका छन् । लक्षण नदेखिएका ९ जना कोरोना संक्रमित बिरामीको उपचार गर्न अस्पतालमा कार्यरत ९ जना कोरोना संक्रमित स्वास्थ्यकर्मी खटिएका हुन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. राजु ढकालका अनुसार संक्रमित बिरामीलाई उपचार गर्न स्वास्थ्यकर्मीको अभाव हुने देखिएपछि त्यसो गरिएको हो । उनका अनुसार यसरी उपचार गराउन जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रे, स्वास्थ्य मन्त्रालय र बिरामीको समेत स्वीकृति लिइएको छ ।


Advertisement


‘बिरामीमा पनि लक्षण छैन, हामीमा पनि लक्षण छैन । उपचार गर्न मिल्ने कि नमिल्ने भनेर मन्त्रालयसँग सल्लाह माग्दा लक्षणविहीनले सुरक्षा सतर्कता अपनाएर मिल्छ भन्ने आयो’ डा. ढकालले भने, ‘त्यसैले बिरामीको स्वीकृति लिएर उपचार गरेका हौं, सम्पूर्ण सुरक्षा अपनाएका छौं ।’

बिरामीको उपचार गर्दा चिकित्सकहरुले लेभल थ्रीको पीपीई लगाउँछन् भने बिरामीलाई मास्क र फेस सिल्ड अनिवार्य गरिएको छ । एक साताभन्दा बढी होम आइसोलेसनमा बस्दा समेत कुनै लक्षण नदेखिएपछि संक्रमित स्वास्थ्यकर्मीहरु उपचारमा खटिएको भन्दै उनले भने, ‘अस्पतालमा उपचाररत धेरै बिरामी र स्वास्थ्यकर्मी एकसाथ संक्रमित भएपछि यस्तो गर्नु परेको हो ।’

उनका अनुसार अस्पतालमा कार्यरत २० प्रतिशत कर्मचारीलाई संक्रमण देखिएको छ । अस्पतालमा उपरचार ८ जना बिरामी र एक जना कुरुवा, एक जना चिकित्सक, २ जना फिजिओथेरापपिस्ट ५ जना नर्स र एक जना पारामेडिक्स संक्रमित छन् ।

दुई साता अघि एक जना सुरक्षाकर्मीलाई संक्रमण देखापरेपछि कन्ट्याक्ट टेसिङको क्रममा चिकित्सक नर्स, बिरामीसम्म संक्रमण फैलिएको पत्ता लागेको ढकालले बताए । उनका अनुसार एक जनालाई संक्रमण देखिएपछि क्लोज कन्ट्याक्टमा आएका अन्य व्यक्तिको नमुना परीक्षणका लागि पठाइएको थियो । त्यसपछि धैरै बिरामी र चिकित्सकको रिपोर्ट पोजेटिभ आएको थियो ।

‘हामीले थप १२० जनाको स्वाब परीक्षणका लागि पठाएका छौं, तर रिपोर्ट आएको छैन,’ डा.  ढकालले भने, ‘सायद केही संक्रमितहरु थपिन्छन् होला ।’

अस्पतालमा लक्षण भएकाहरुलाई छुट्टै आइसोलेट गरी छुट्टै टिमले उपचार गर्ने र जटिल अवस्थामा पुगेकाहरुलाई जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा आवश्यक अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाएको समेत उनले बताए ।

उपचारमा सक्रिय स्वास्थ्यकर्मीका लागि चाहिने पीपीई, संक्रमितहरुलाई औषधि र खाना तथा निको भएका बिरामीहरुलाई घर पठाउने व्यवस्था सरकारले मिलाइदिए सजिलो हुने ढकालको कथन छ ।

साथै तत्काल आईसीयू र भेन्टिलेटर आवश्यक नपरे पनि भोलिका दिनमा आवश्यक पर्दा सेवा उपलब्ध भएको अस्पतालमा रिफर गर्न सरकारले सहयोग गर्नुपर्ने उनले बताए । ‘तत्कालका लागि त हामीले सबै व्यवस्थापन गरिसकेका छौं, उपचारमा त्यस्तो समस्या छैन’ डा. ढकालले भने, ‘भोलि जटिल अवस्था आएको खण्डमा सरकारले सहयोग गर्नुपर्ने हुन्छ ।’

दुर्घटनामा परी मेरुदण्डको पक्षघातमा परेकाहरु उपचार गर्ने अस्पताल हो स्पाइनल इन्जुरी तथा पुनस्थापना केन्द्र । त्यहाँ उपचाररत अधिकाशं बिमारीको मेरुदण्डमा चोट लागेको र कम्मर भन्दा मुनिका भागमा समस्या भएको छन् । केन्द्रमा विभिन्न अस्तालबाट रिफर भएका ५१ जना त्यस्ता व्यक्ति उपचाररत छन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap