


नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार हुँदै गएको सन्दर्भमा National Energy Company ले नवीकरणीय ऊर्जा क्षेत्रमा आफ्नो औपचारिक यात्रा सुरु गर्ने भएको छ। दशकभित्र १०० मेगावाट ऊर्जा परियोजना विकास वा नेतृत्व गर्ने लक्ष्यसहित कम्पनीले “दशकमा सतक” नारालाई अघि सारेको छ।
नेशनल इनर्जी कम्पनी, A.F.T.I. Investments Limited को सहायक कम्पनी हो। ए.एफ.टि.आई. इनभेस्टमेन्ट्सले ऊर्जा क्षेत्रलाई आफ्नो प्रमुख प्राथमिकतामध्ये एकका रूपमा लिँदै आएको छ, विशेषगरी सौर्य ऊर्जा क्षेत्रलाई आफ्नो “फ्ल्यागशिप सेक्टर” का रूपमा परिभाषित गरेको छ। यही रणनीतिक सोचका आधारमा नेशनल इनर्जी कम्पनीले सुरुमा सौर्य ऊर्जा परियोजनाबाट आफ्नो काम अघि बढाउने योजना बनाएको छ।
नेपालमा सौर्य ऊर्जा परियोजनाहरू तुलनात्मक रूपमा छिटो विकास गर्न सकिने र विभिन्न भौगोलिक क्षेत्रमा यसको सम्भावना राम्रो रहेको कारण कम्पनीले प्रारम्भिक चरणमा सौर्य ऊर्जा उत्पादनलाई केन्द्रमा राखेको हो। भविष्यमा भने कम्पनीले वायु ऊर्जा तथा जलविद्युत् परियोजनाहरूमा समेत समानान्तर रूपमा सम्भावना अध्ययन गर्दै विस्तार गर्ने योजना बनाएको छ।
कम्पनीले हाल सौर्य परियोजनाका लागि विभिन्न सम्भावित स्थानहरूको अध्ययन गरिरहेको छ। प्रारम्भिक चरणमा मकवानपुर, बारा, बर्दिया, सुर्खेत लगायतका जिल्लाहरूलाई सम्भावित परियोजना क्षेत्रका रूपमा अध्ययन भइरहेको छ जसमध्ये बारा र बर्दियामा जग्गा अधिग्रहण गरिरहेको छ ।

कम्पनीको प्राविधिक टोलीले यी स्थानहरू मध्ये उपयुक्त क्षेत्र छनोट गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याइरहेको छ।
यस विषयमा ए.एफ.टि.आई. इन्भेष्टमेन्टस लिमिटेडका प्रबंध निर्देशक श्रद्धेश आचार्य सँग हामीले विस्तृत कुरा गर्यौ। उनको कुरामा आफ्नो व्यवस्थापकिय कौशलका साथै आफ्ना परामर्शदाता, प्राविधिक टोली र लिगल टिम प्रतिको विश्वस्तता झल्किन्थ्यो।
“हामी ए.एफ.टि.आई. इनभेस्टमेन्ट्सले यस नेशनल इनर्जी कम्पनीलाई श्रोत, साधन र सक्षम जनशक्ति युक्त ऊर्जा कम्पनी बनाउन दत्त चित्त भएर लागेका छौ। हाम्रा लागि यो केवल एक लगानी मात्र नभई काँधमा जिम्मेवारी र परियोजना सफल हुँदै जाँदा त्यही जिम्मेवारी उपलब्धिको फुलिमा परिणत हुनेछ।” आचार्यले हामीलाई बताए।
नेपालमा ऊर्जा क्षेत्रको विस्तारसँगै निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण हुँदै गएको छ। दशकभित्र १०० मेगावाट परियोजनाको लक्ष्य आफैंमा महत्वाकांक्षी भए पनि, स्पष्ट दृष्टिकोण, प्राविधिक तयारी र दीर्घकालीन लगानी सोचले यसलाई सम्भव बनाउने विश्वास कम्पनीले लिएको छ।
“दशकमा सतक” को नारासँगै नेशनल इनर्जी कम्पनीले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा नयाँ जोश, नयाँ सोच र नयाँ मानक स्थापित गर्ने लक्ष्य राखेको छ।





