


मोरङ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई सुदृढीकरण गर्न गठबन्धन गरिएको बताएका छन् । मोरङ कांग्रेसले बुधबार विराटनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा कुनै किसिमका शंका पैदा हुने काम कसैलाई नगर्न आग्रह गरेका छन् ।
Advertisement


‘कांग्रेस पार्टी धोका खान्छ तर कसैलाई धोखा दिँदैन है भन्ने विश्वास नतोड्न र कांग्रेसको टाउकोमा धोकेबाजको दाग नलागोस्,’ उनले भने, ‘जननायक बीपी र गिरिजाप्रसाद कोइराला जस्ता देशका दुई सफल प्रधानमन्त्रीको ठाउँ विराटनगरमा गठबन्धनलाई जिताउनु होस्, विकासका सबै कामहरु गर्न तयार छौं ।’
विराटनगरस्थित विराटराजाको दरबार क्षेत्रको संरक्षण र संवद्र्धनका लागि सरकार तयार रहेको प्रधानमन्त्री देउवाले बताए ।
स्थानीय तहको क्षमता विकास भएपछि अधिकारसम्पन्न बनाएर स्थानीय सरकारको प्रत्याभूति गराउने उनले बताए । ‘यो स्थानीय तह होइन स्थानीय सरकारै हो र यसको क्षमता वृद्धि भएपछि पूर्ण अधिकार प्रदान गरिने छ,’ देउवाले भने, ‘स्थानीय सरकार भएपछि सिंहदरबारको अधिकार जनताको घरदैलोमा आउने छ ।’
वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा अहिले भएको गठबन्धन नयाँ नभएको बताए । ‘मुलुकमा २०४६ सालको प्रजातान्त्रिक आन्दोलन र विस्तृत शान्ति सम्झौतादेखि नै गठबन्धन सुरु भएको छ,’ उनले भने, ‘संविधानको रक्षा, गरिबलाई आय र निमुखालाई न्याय दिन अहिलेको गठबन्धन भएको हो ।’ कुनै दुविधामा नरही देश विकासको लक्ष्य पूरा गर्न गठबन्धनलाई सघाउन पौडेलले सबैलाई आग्रह गरे ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुलुकको अनुहार बदल्न र राष्ट्र निर्माणका लागि युवा पुस्तालगायतका सबैलाई चुनावी अभियानमा उत्साहका साथ सहभागी हुन आग्रह गरेका छन् । ‘राष्ट्रियता बाध्यताको जगमा उभिएर स्थानीय तहमा चुनावी तालमेल भएको छ,’ उनले भने, ‘यो चुनावी तालमेल संविधानलाई बलियो बनाउन भएको सबैले बुझ्नु पर्छ ।’
तालमेल गरेर कांग्रेसले ६२४ स्थानीय तहको प्रमुख र अध्यक्षमा उम्मेदवार उठाएर पहिलो पार्टी बन्ने शर्माको भनाइ थियो । ‘यो चुनावमा को–को उम्मेदवार भए, कसले टिकट पाए त्यो विषय छोडेर कांग्रेस बलियो बनाउने बेला हो,’ उनले भने, ‘टिकट वितरणको न्याय फेरि खोजौंला अहिले मुख हेरेर होइन, रुख हेरेर मतदान गरौँ ।’

नेता शेखर कोइरालाले स्थानीय तहको चुनावले सत्ता गठबन्धनलाई अहित नगर्ने तर कही चुक्यौं भने आउँदो प्रदेश र प्रतिनिधिसभाको चुनावमा असर गर्ने बताएका छन् । उनले राजनीतिको राजधानी, बौद्धिक र औद्योगिक नगरीको विरासत विराटनगरमा फर्काउने गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे । ‘विराटनगरमा चक्रपथ निर्माण, बाढी नियन्त्रण, सुकुम्बासी समस्या समाधान, अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नतिलगायतका काम संघीय सरकारले गर्नुपर्ने छ,’ उनले भने, ‘महानगरलाई सुन्दर विराटनगरको विकास गर्न संकल्प लिन्छु ।
अर्का नेता मिनेन्द्र रिजालले अब मुलुकलाई मधेस, वामपन्थी र लोकतान्त्रिक आन्दोलनको आधारमा डोर्याउनु आवश्यक भएको बताए । ‘मधेसवादी दलले सधैं लडाइँ झगडा गरेर नहुने भएकाले आन्दोलनले दिएको एजेन्डाका साथ मिलेर अघि बढ्नुपर्छ,’ उनले भने, ‘एमालेमा जनताको बहुदलीय जनवाद अवरुद्ध भएकोले त्यसमा गति दिनु पर्ने र अहिलेको अवस्थामा पनि सशस्त्र आन्दोलनले केही नहुने भएकाले सबैले मिलेर देश निर्माणमा अघि बढ्नु पर्छ ।’
मुलुकको पहिलो व्यापारिक केन्द्र, राजनीतिक जागरण र स्वतन्त्रताको बीजारोपण गर्ने विराटनगर धक फुकाएर परिवर्तनका लागि अघि बढ्न नसकेको रिजालको भनाइ थियो ।
नेता महेश आचार्यले आउँदो बजेटमा डुबानमुक्त विराटनगरका लागि पूर्वमा रहेको सिंघिया र पश्चिममा रहेको केशलिया खोला व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्न प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराए । स्थानीयवासीलाई करको भारमुक्त गर्न केन्द्रले सहयोग गर्नुपर्ने उनको भनाइ थियो । मुलुकमा आर्थिक अनुशासन, फजुल खर्च र मिलेमतोमा हुने काम नियन्त्रण गर्न सकिए विकास योजनाका लागि बजेट अभाव नहुने आचार्यले बताए ।
विराटनगर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादव उम्मेदवार बनेका छन् । त्यस्तै एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शर्मिला कार्की उम्मेदवार बनेका छन् ।






