२०८२ मंसिर २३

चुनावको विवादले फुट्यो नेकपा 

काठमाडौँ — स्थानीय तह निर्वाचनमा सहभागी हुने कि नहुने भन्ने विवादले चुलिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विभाजित भएको छ । स्थानीय तह निर्वाचन बहिस्कार कि उपयोग भन्नेबारे नेकपाको नेतृत्वमा रहेका नेताहरूबीच विवाद चुलिँदा विभाजन भएको हो । 


Advertisement


वैशाख ३० गते चुनाव आउनु ९ दिन पहिले नेकपा विभाजन भएको हो । नेकपामा असन्तुष्ट पक्षको नेतृत्व गर्दै आएका सचिवालय सदस्यबाट विवादकै बीचमा निष्कासित धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीले बुधबार राष्ट्रिय भेला बोलाएर विभाजनलाई औपचारिकता दिएका हुन् ।

चिवतनको पर्सामा जारी राष्ट्रिय भेलाले नकेपा महासचिवबाट चन्दलाई हटाउने र हालका लागि संयोजकको जिम्मेवारी धर्मेन्द्र बास्तोलालाई दिने निर्णय लिएको छ । त्यस्तै, चन्दको पक्षमा रहँदै आएका नेता खड्गबहादुर विश्वकर्मालाई पार्टी प्रवक्ताबाट हटाउने निर्णय पनि भएको छ ।

चितवनको राष्ट्रिय भेलामा सहभागी नेता गुणराज लोहनीले केन्द्रीय सदस्य ६४ र सल्लाहकार समिति सदस्य ४ गरी ६८ सदस्यीय केन्द्रीय नेतृत्व मध्ये ३८ जना सहभागी भेलाले चन्दलाई महासचिवबाट निष्कासन गरेको हो ।

राष्ट्रिय भेलामा देशभरीबाट तीन सय २५ नेता कार्यकर्ता सहभागी रहेको र तीन दिनसम्म छलफल भएर नयाँ नेतृत्व र नीति तय हुने बताइएको छ ।

नेकपा यो अवस्थासम्म आउनुमा स्थानीय तह निर्वाचन रहेको नेताहरूले बताएका छन् । नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा २०७८ चैत पहिलो साता बसेको थियो । १२ औं पूर्ण केन्द्रीय समिति बैठकमा स्थानीय निर्वाचनमा भाग लिने महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रस्ताव अल्पमतमा परेको थियो । त्यसपछि पार्टीले स्थानीय तह निर्वाचन न बहिष्कार, न उपयोग गर्ने भन्ने मध्यमार्गी निर्णय गरिएको सार्वजनिक भएको थियो । उक्त निर्णयको नेताहरूले दुई तवरले ब्याख्या गर्दै आएका थिए । चुनावको विपक्षमा रहेका नेताहरूले महासचिवको चुनावमा जाने प्रस्ताव बहुमतले फेल भएपछि बहिष्कारको कार्यनीति लिने भन्दै आएका थिए भने चन्द पक्षधर नेताहरू भने उपयोग गर्दै अघि बढ्ने बताउने गरेका थिए । उनीहरूले पार्टी औपचारिक रुपमा निर्वाचनमा नगए पनि स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिन नेता/कार्यकर्तालाई नरोक्ने निर्णय भएको बताउँदै आएका थिए ।

आफ्नो प्रस्ताव असफल भए पनि महासचिव चन्दले भने पार्टीलाई नै निर्वाचनमा लानका लागि काठमाडौंमा पहल थालेका थिए । उनको अनुमतिमा प्रवक्ता विश्वकर्मा निर्वाचन आयोगसम्म पुगेका थिए ।

निर्वाचन कार्यतालिका प्रकाशन भइसकेपछि विश्वकर्मा चैत २४ गते खुसुक्क निर्वाचन आयोग पुगेका थिए । चुनावमा पार्टी नै भाग लिने बाटो मिल्छ कि भन्ने बुझ्न उनी आयोग पुगेका थिए । विश्वकर्माको भेटपछि चन्दले पनि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई चुनावको वातावरण बनाउन आग्रह गरेका थिए ।

आयोगले समय दिँदा दल दर्ता नगरी बहिष्कार गर्ने भन्दै गाउँगाउँमा कार्यकर्तालाई प्रशिक्षण दिएका चन्द र विश्वकर्मा पछिल्लो समय दलगत रूपमा नै कसरी चुनावमा सहभागी हुन सकिन्छ भन्ने अनेक उपाय लगाइरहेका थिए । निर्वाचन आयोग र दलका नेताहरूसँग उनीहरूले मतदाता नामावली पुनः संकलन गर्नुपर्ने र दल दर्ताका लागि समय पाउनुपर्ने माग राखेका थिए ।

दल दर्ता गरी निर्वाचनमा भाग लिन पाउँ भनेर बहादुर भवनदेखि बालुवाटारसम्मै चन्द र विश्वकर्माले दौड लगाएको देखेपछि केन्द्रीय समितिमा महासचिवको प्रस्ताव असफल गराउने हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला असन्तुष्ट भएका थिए । उनीहरूलाई अगाडि बढाएर स्थानीय तह निर्वाचन सार्न खोजेको हो कि भन्ने आशंकामा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि सार्वजनिक रूपमै नेकपा महासचिव चन्दको चर्को आलोचना गरेका थिए । काठमाडौंमा मात्रै होइन राजधानी बाहिर भएका चुनावी सभामा समेत ओलीले चन्दलाई चुनाव सार्ने लोकतन्त्र विरोधी षडयन्त्रको मतियार नबन्न चेतावनी दिँदै सूर्य चिह्न लगेर लड्न आह्वान गरेका थिए ।

निर्वाचन सार्न खोजेको हो कि भन्ने आशंका बढिरहेको बेला चन्दले त्यसलाई बढावा दिने गरी गतिविधि गरेपछि आयोग र सरकारले कुनै पनि हालतमा बैशाख ३० भन्दा पर स्थानीय तह निर्वाचन सार्न नसकिने प्रष्ट जवाफ चन्दलाई दिएको थियो ।

सरकार, आयोग र राजनीतिक दलका नेताहरूबाट नेकपालाई दलका रुपमा निर्वाचनमा सहभागी गराउन प्राविधिक रूपमा नसकिने जवाफ पाएपछि चन्द र विश्वकर्मा आफ्ना कार्यकर्ताहरूलाई स्वतन्त्र उम्मेदवार बनाउने गृहकार्यमा लागेका थिए । उनीहरूको त्यो कार्यले चुनावको विपक्षमा रहेका नेताहरूलाई बेचैन बनाएको थियो । बहुमत नेताहरूको असन्तुष्टिका बाबजुद महासचिव चन्दको निर्देशनमा नेकपाका केन्द्रीय सदस्यसमेतका नेताहरूले स्थानीय तहमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराए । विपक्षमा रहेका नेताहरू झनै बिच्किएका थिए । अल्पमतमा रहँदा पनि महासचिवले स्थानीय तह निर्वाचनमा सहभागी हुने नीतिको विरोधको प्रस्फुटन उम्मेदवारी दर्ता (बैशाख ११ र १२) भई फिर्ता लिनका लागि छुट्याइएको समयमा भयो ।

महासचिव चन्दको स्वीकृतिमा स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्यदेखि तल्लो कमिटीका नेताहरूलाई केन्द्रीय कमिटीको निर्णयअनुसार पछि हट्न भन्दै सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले विज्ञप्तिमार्फत निर्देशन दिएका थिए । ‘उम्मेदवारी नदिने भन्ने मान्यताविपरीत कतिपय कमरेडहरूले विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ,’ उनको विज्ञप्तिमा उल्लेख छ ।

त्यसको भोलिपल्ट बैशाख १४ गते बास्तोला र वलीलाई महासचिव चन्दले सचिवालय सदस्यको जिम्मेवारीबाट मुक्त गरे । त्यो उनीहरूलाई गरिएको कारबाही थियो । त्यसरी कारबाही गर्ने क्रममा चन्दले दुवै नेतालाई संगठनमा अराजकता मच्चाएको र आर्थिक हिनामिनाका कुरा उल्लेख गरेका थिए ।

नेतृत्वले संयमता अपनाउँदा अपनाउँदै सचिवालय सदस्य बास्तोलाले पार्टीको लेटरप्याडमै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएकोप्रति चन्द आक्रोशित बनेका थिए । उनले विज्ञप्तिमा लेखेका छन्, ‘तत्कालको जटिल परिस्थितिमा पार्टी एकतामा बाधा नपरोस् भनेर नेतृत्वले संयमता अपनायो तर नेतृत्वको संयमता एवं उदारतालाई कमजोरीका रूपमा पक्डेर आज सचिवालय सदस्य कञ्चन (बास्तोला)ले कुनै सम्पर्क नै नगरी सचिवालयको सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनुपर्ने नभए कारबाही गर्ने जस्ता हदै गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य निकालेपछि स्थिति एकदमै गम्भीर बन्न पुग्यो ।’

स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने वली र बास्तोलाको बहाना मात्रै भएको भित्री कुरा आर्थिक (चन्दा) रहेको चन्दको विज्ञप्तिमा उल्लेख थियो । केन्द्रीय समितिको बैठकले पनि काठमाडौंको पाँचतारे होटलबाट उठाएको चन्दा फिर्ता गर्न निर्देशन दिइएको थियो ।

नेकपाको शीर्ष नेतृत्वमा स्थानीय तह निर्वाचनलाई नै लिएर वारपारको लडाइँ भइरहेका बेला चन्दको आदेशमा केन्द्रीय सदस्यहरू भेषराज भूषाल, चुडामडी वलीलगायतले स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दर्ता गराए । भूषालले कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका छन् । वली भने रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षका उम्मेदवार छन् ।

त्यस्तै, चन्दको पार्टीबाट सल्यानका विभिन्न स्थानीय तहका पदमा २५ जनाले उम्मेदवारी दिएका छन् । रोल्पामा उक्त पार्टीका ६ नेताले स्थानीय तहको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । नेकपाबाट गंगादेवमा वली, थबाङमा दर्जित रोकामगर, सुनिलस्मृतिमा कमल थापा, परिवर्तनमा लालबहादुर डाँगी, लुंग्रीमा भुपेन्द्र खड्का, सुनछहरीमा पुष्टमन घर्तीमगरले उम्मेदवारी दिएका हुन् ।

कपिलवस्तुको केन्द्रीय कमिटी बैठकबाट एमसीसी पारित गर्ने दलहरूसँग कुनै किसिमको सहकार्य नगर्ने, एमसीसी विरोधी दल र व्यक्तिलाई चुनावमा सघाउने निर्णय गराएको नेकपाले रोल्पाको थवाङ गाउँपालिकामा कांग्रेस र एमालेसँग नै गठबन्धन गर्‍यो । थवाङमा माओवादी केन्द्रविरुद्ध नेकपाले कांग्रेस र एमालेको साथ मागेको थियो । पाल्पामा भने चन्दको पार्टीबाट उम्मेदवारी दर्ता गराएकाहरूले एमालेलाई समर्थन गर्दै फिर्ता लिएका छन् ।

यसरी एकातिर एमसीसीको विरोध गर्ने निर्णय गराउने अर्कोतिर एमसीसीलाई पारित गर्नेहरूसँग चुनावमा गठबन्धन गर्दा पार्टीको अहिलेको अवस्था आएको लोहनीको भनाइ छ ।

राष्ट्रिय भेलाका लागि चितवन पुग्नुको कारणबारे उनले थपे, ‘केन्द्रीय समितिको निर्णय विपरीत पार्टी चुनावमा गयो, केन्द्रीय सदस्यहरूलाई उठाएको र एमसीसी पक्षधरहरू कांग्रेस र एमालेसँग चुनावी गठबन्धन गरेको विरुद्ध हामीले कदम उठायौं ।’

Copy link
Powered by Social Snap