२०८१ बैशाख १८

चिनियाँ टेनिस स्टार पेङको किन भइरहेको छ विश्वभर चर्चा?

चिनियाँ टेनिस स्टार पेङ सुआई पछिल्लो समय अन्तर्राष्ट्रिय मिडिया तथा खेलकुदबृत्तमा चर्चामा छिन्। उनले लगाएको आरोपले खेल जगतमा हलचल ल्याइदिएको छ भने चीनको राजनीतिको विषयमा पनि प्रश्न उठाइएका छन्। 

सुआई चीनकी महिला टेनिस खेलाडी हुन् जो महिला डबल्सको वरीयतामा शीर्ष स्थानमा पुग्न सफल भएकी थिइन्।

महिला टेनिस संघ (डब्लूटिए) को फेब्रुअरी २०१४ को डबल्स वरीयतामा उनी नम्बर एकमा थिइन्। त्यसअघि उनले विम्बल्डन टेनिसमा महिला डबल्स स्पर्धामा ताइवानी पार्टनर से सू-वेसँग मिलेर स्वर्ण जितेकी थिइन्। 


Advertisement


३५ वर्षीय सुआईले डबल्समा स्पर्धामा २३ भन्दा बढी उपाधि जितेकी थिइन्। उनी सन् २०११ मा सिंग्लसतर्फ १४औं वरीयतासम्म पुगेकी थिइन्। यो चिनियाँ टेनिस खेलाडीको उच्च वरीयता हो। 

उनले पछिल्लो पटक २०२० मा कतारमा डब्लूटिएको प्रतियोगिता खेलेकी थिइन्। 

अहिले सुआई चर्चामा आउनुको कारण उनले चीनका एक वरिष्ठ नेतामाथि सोसल मिडियामार्पत यौन उत्पीडनको आरोप लगाएकाले हो।

नोभेम्बरको पहिलो साता चीनको सामाजिक सञ्जाल वेबोको आफ्नो खातामार्फत उनले आफूमाथि यौन उत्पीडन भएको पोस्ट गरेकी थिइन्। तर उक्त पोस्ट केही मिनेटमै गायब भएको थियो।

चीनका पूर्वउपप्रधानमन्त्री झाङ गाओलीले यौन सम्बन्ध राख्न दबाब दिएको भन्दै उनले सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। सामाजिक सञ्जालमार्फत चीनका वरिष्ठ राजनीतिक नेतामाथि यस्तो प्रकारको आरोप लगाइएको यो पहिलो पटक हो।

‘उपप्रधानमन्त्री झाङ गाओली आफ्नो पहुँचका कारण डराउँदैन् भन्ने थाहा छ। तर म तपाईको बारेमा सत्य बोल्छु, यस्तो बोल्नु ठूलो पहाडमा ढुङ्गा ठोक्नु वा आगोमा ठोक्किनु जस्तै हो। मसँग कुनै प्रमाण छैन र ल्याउन पनि असम्भव छ। कुनै अडियो वा भिडियो रेकर्डहरू पनि छैन। मात्र मसँग खराब अनुभवहरू छन्, ती वास्तविक छन्,’ उनले लेखेकी थिइन्। 

उनले झाङले पहिलो पटक आफू घरमा टेनिस खेलिरहेको बेलमा उत्पीडन गरेको समेत आरोप लगाएकी थिइन्। 

७५ वर्षीय झाङ सन् २०१३ देखि २०१८ को बीचमा चीनको उपप्रधानमन्त्री थिए। त्यतिबेला उनी राष्ट्रपति सी चिनफिङको निकट थिए।  

झाङमाथि आरोप लगाएपछि सुआई सार्वजनिक कार्यक्रममा देखिन छाडेकी थिइन्। 

सुआई सार्वजनिक स्थानमा देखिन छाडेपछि शीर्ष वरीयताका टेनिस खेलाडीसहित अन्य खेलका चर्चित खेलाडीले उनको स्थिति सार्वजनिक गर्न माग गरेका थिए। त्यसपछि विश्वभरबाट उनको सुरक्षाप्रति चिन्त व्यक्त गरिएको थियो।

विश्वभर सुआईको विषयमा चर्चा हुन थालेपछि चीनको सरकार नियन्त्रित मिडियाले उनको फोटो सार्वजनिक गरेको थियो। ग्लोबल टाइम्सले उनी स्थानीय टेनिस प्रतियोगितामा भाग लिइरहेको फोटो सार्वजनिक गरेको थियो।

आइतबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष टमस बाखले सुआईसँग भिडियो कल गरेको पनि सार्वजनिक गरिएको थियो।

ओलम्पिक कमिटीले जारी गरेको विज्ञप्तिमा सुआईले आफू सुरक्षित गरेको बताएको उल्लेख गरिएको थियो। कमिटीका अनुसार सुआईले आफू बेइजिङको आफ्नो घरमा सुरक्षति रहेको बताएकी थिइन्।

तर डब्लूटिएले सुआई सुरक्षित छिन् भएको भन्ने ‘पर्याप्त’ प्रमाण नभएको बताइरहेका छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष र सुआईबीचको भिडियो कलले उनको सुरक्षा स्थितिलाई सम्बोधन गर्न नसकेको डब्लूटिएको दाबी छ।

Copy link
Powered by Social Snap